Comments Add Comment

नेकपाको संगठन विभागमा बामदेव भर्सेस बादल !

पोलिटब्यूरोमा सहज, जिल्ला इञ्चार्जमा लफडा

१८ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी एकता प्रक्रिया फलामे ढोका फोरेर अगाडि बढ्यो भनिरहँदा फेरि निर्णायक रस्साकस्सी सुरु भएको छ ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लगाएको नेकपा यतिबेला केन्द्रीय विभागहरु गठनको तयारीमा छ, जसमा शीर्ष नेताहरु नै जोडिएका छन् । संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार-प्रसार विभाग र आर्थिक विभागमा को हो भन्नेमा गाँठो अडि्एको छ ।

विभागहरुको गठनमा सहमतिको सम्भावना नभएपछि भोलि बोलाइएको सचिवालय बैठक सोमबारलाई सरेको छ ।

पोलिटब्यूरो गठनमा ठूलो विवाद नभए पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न पनि सजिलो देखिएको छैन । पार्टीका ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लागे पनि जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज तोक्न बाँकी छ ।

बादल भर्सेस बामदेव

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपामा अहिले नयाँ समीकरण बनेको छ । ९ सदस्यीय सचिवालयमा एकातिर प्रधानमन्त्री एवं पार्टी केपी शर्मा ओली, विष्णु पौडेल र रामबहादुर थापा बादल छन् भने अर्कोतिर प्रचण्ड र माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ छन् ।

प्रचण्डलाई छाडेर आफूतिर आएका कारण ओलीले बादललाई संगठन विभागमा प्रस्ताव गरेका छन् । त्यसको काउन्टरमा अर्को पक्षबाट बामदेव गौतमको नाम आएको छ ।

यो पनि पढ्नुहोस नेकपामा नयाँ ट्वीस्ट ! बादलले छाडे प्रचण्डको साथ

सचिवालयभन्दा तलका पार्टी नेताहरु पनि जिम्मेवारीका हिसावले बामदेव उपयुक्त पात्र भएको तर्क गर्छन् । ‘संगठन परिचालनको हिसावले त बामदेव, केपी ओली र माधव नेपालभन्दा पनि अगाडि छन्’ एक नेता भन्छन् ।
चुनाव हारेका कारण वामदेव अहिले सरकारी जिम्मेवारीमा पनि छैनन् । बादल भने गृहमन्त्री छन् ।

पूर्वएमाले मात्रै नभएर पूर्वमाओवादीकै कतिपय नेताहरु पनि वामदेवकै पक्षमा छन् । तत्कालीन माओवादीका नेताहरुका अनुसार वादल बामदेव जति सक्रिय हुन सक्ने नेता होइनन् ।

अब ‘डिफ्याक्टो महासचिव’को रौनक रहेन

पूर्वएमालेका नेताहरु भने पार्टीमा अहिले संगठन विभागको महत्व पहिलाजस्तो नभएको बताउँछन् । विगतमा मदन भण्डारी महासचिव हुँदा जीवराज आश्रित संगठन विभाग प्रमुख थिए । त्यसबेला संगठन विभाग प्रमुखलाई ‘डिफ्याक्टो महासचिव’ समेत भनिथ्यो ।

माधवकुमार नेपाल महासचिव भएका बेला अमृत बोहोरा संगठन विभाग प्रमुख भए । त्यसपछि ईश्वर पोखरेल र विष्णु पौडेल यो जिम्मेवारी निभाइसकेका छन् ।

एमाले महासचिव प्रणाली छाडेर बहुपदीय संरचनामा गएपछि संगठन विभागको महत्व घटेको एक नेताले सुनाए । अहिले एमाले र माओवादीको तर, अहिले एकता प्रक्रियालाई पूर्णता दिँदै महाधिवेशन गर्नुपर्ने भएकाले दुबै समूहले संगठन विभागलाई महत्वपूर्ण दिएका छन् ।

अन्य विभागमा कोको ?

संगठन विभागमा जस्तै स्कुल विभाग र प्रचार विभागमा पनि कसलाई ल्याउने भन्ने नेकपाभित्र रस्साकस्सी चलिरहेको छ । स्कुल विभागका लागि ओली समूहबाट ईश्वर पोखरेल सम्भावित उम्मेदवार मानिएको छ भने अर्को पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अघि सार्ने सम्भावना छ ।

प्रचार विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै योगेश भट्टराई लगायतका नेताहरुको चर्चा छ । पम्फा भुसाल पनि प्रचार विभागको दाबेदार रहेको स्रोत बताउँछ ।

उता अन्तराष्ट्रिय विभागको प्रमुख माधव कुमार नेपाललाई बनाउन ओली पक्षसमेत सहमत रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

अर्का नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिनुपर्ने माधव नेपाल पक्षको माग रहेको स्रोतको भनाइ छ । ओली पक्षबाट विभागमा व्यवस्थापन गर्नुपर्ने अर्का नेता महासचिव विष्णु पौडेल पनि छन् ।

पोलिटब्यूरो सहज, जिल्ला इञ्चार्जमा लफडा

विभागहरु गठनसँगै नेकपामा पोलिटब्यूरो गठन र जिल्ला इञ्चार्ज तथा सह-इञ्चार्ज तोक्नुपर्नेछ ।

नेताहरुका अनुसार पोलिटब्यूरोमा एमाले र माओवादीको भागवण्डा मिलिसकेको छ । तत्कालीन एमालेको पोलिटब्यूरो सदस्य सबै पर्नेछन् भने २२ जना नयाँ आउनेछन् । यसअघि पोलिटब्यूरो सदस्य भइसकेका नेताहरुलाई ल्याउने भनिएका कारण यसमा धेरै ठूलो सदस्य नरहेको नेताहरु स्वीकार गर्छन् ।

माओवादीको भागमा ६७ जना परेको छ । त्यहाँ पनि नेताहरुले मिलेर नाम टुंगो लगाउनेछन् । तर, जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज चयनमा भने अध्यक्ष र सचिव चयनमा जस्तै लफडा पर्ने देखिएको छ ।

बादलको नेतृत्वमा बनेको कार्यदल असफल भए पनि पाँच सदस्य कार्यदलले जिल्लाको एकीकरणसम्बन्धी छुट्टै प्रतिवेदन बुझाएका थिए । त्यसमा दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा पोलिटब्यूरो र अरुमा भए पोलिटब्यूरो र नभए केन्द्रीय सदस्यलाई इञ्चार्ज बनाउनुपर्ने भनिएको थियो । प्रचण्ड-माधव नेपाल समूह त्यही अडानमा छ ।

तर, माधव-प्रचण्ड समूहका नेताहरुको गुनासो के छ भने केपी ओली समूहले जिल्ला इञ्चार्जहरुको चयनमा मापदण्ड लागू गर्नु नपरोस् भन्ने चाहिरहेको छ । यसले गर्दा सोमबारको सचिवालय बैठकमा यसबारे रस्साकस्सी पर्न सक्ने नेकपाका नेताहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

यो पनि पढ्नुहोस वामदेव र प्रचण्ड एउटै लाइनमा, नेकपाको सचिवालय बैठक सर्‍यो यो पनि पढ्नुहोस १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment