Comments Add Comment

इंग्लिस टिमको ११ वर्षपछिको फाइनल

सेमिफाइनलको त्यो नाटकीय जित

काठमाडौं । स्पेनको मडि्रडमा शनिबार राति पौने १ बजे च्याम्पियन्स लिग फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयाम भिड्दै छन् ।

२००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिग फाइनल खेलेपछि यसपटक नै दुई इंग्लिस टिम फाइनलमा भेटिएका हुन् । जसमा टोटनहृयाम पहिलोपटक फाइनलमा पुगेको हो भने पाँच पटकको विजेता लिभरपुलको नवौँ फाइनल यात्रा हो ।

भर्खरै सकिएको सिजन प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा र टोटनहृयाम चौथो स्थानमा रहेका थिए । फाइनल अघि टोटनहृयामको तुलनामा लिभरपुलको फर्मेसन र सुरुवाति ११ खेलाडी केही अनुमान गर्न सकिने खालको देखिन्छ ।

लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले यो सिजन केही नौलो परिवर्तनहरु गरिरहेका छन् । सामान्यतः ४-३-३ को फर्मेसनमा बढेका क्लोपले ४-२-३-१ मा जम्प गर्ने शैली पनि अपनाए । अझ कहिलेकाहीँ त ४-३-३ को फर्मेसनमा रहेको टोलीलाई उनले एक्कासी ४-१-४-१ मा समेत खेलाए । त्यसमा सेन्टर मिडफिल्डरको उनको प्रयोग गजव बनेको देखिन्छ ।

यो सबैमा पनि टोटनहृयाम प्रशिक्षक मोउरिसियो पोचेटिनोले आश्चर्यचकित पारिदिने क्षमता राख्छन् । गएको सिजनमा पनि पोचेटिनोको फर्मेसन छिटो छिटो परिवर्तन भइरहेको थियो । जसमा ३-४-२-१ र ४-४-२ धेरै प्रयोग भए । अझ उनको ४-२-२-२ को शैली पनि निकै चल्यो । तर यो सबैको फाइदा वेफाइदा के के छन् त ? मडि्रडमा शनिबार राति उनीहरु कुन शैली अपनाउलान् ?

टोटनहृयाम कि लिभरपुल ?

घाइते रहेका टोटनहृयाम स्ट्राइकर हृयारी केन मैदान फर्किने बताइसकेका छन् । त्यसैले सन हिउङ मिन या सेमिफाइनलका स्टार लुकास मोउरामध्ये एक सुरुवातमा बेञ्चमा हुने छन् । पोचेटिनोले स्ट्राइकमा तीनै जनालाई समावेश गर्ने सोच्न सक्लान् त ? त्यसो भएमा उनले मिडफिल्डलाई फरक ढंगमा प्रयोग गर्नुपर्ने हुन्छ ।

दुई खेलाडी स्ट्राइकमा राख्दा मिडफिल्डमा अलि, सिसोको, इरिकसन र डायरसँगै डिफेन्सबाट टि्रपियरलाई पनि पोसेसनमा अगाडि बढाउने शैली पोचेटिनोलाई आवश्यक पर्न जान्छ । त्यसमा उनले ‘स्वीपिङ मुभ्स’ प्रयोग गर्न सक्छन् । किनभने लिभरपुलको सेन्टर ब्याकलाई हेर्दा बक्समा फालिने क्रस बलबाट केही फाइदा हुने देखिँदैन ।

एन्पिmल्डमा खेलिएको लिभरपुलविरुद्धको पि्रमियर लिग खेलमा ३-५-२ को फर्मेसनमा खेल सुरु गरेको टोटनहृयामले लिभरपुलले एलेक्जेण्डर आर्नोल्ड र एन्डी रोबर्टसनलाई लगातार अगाडि बढाएपछि तुरुन्तै ४-४-२ को फर्मेसन अपनाएको थियो । जसमा मोउरालाई मिडफिल्डमा ल्याएर बल होल्ड गर्न ४-५-१ मा समेत खेलिएको थियो । यसमा पनि मोहम्मद सलाह र सडियो मानेको तिब्रतालाई भने टोटनहृयामले विचार गर्नै पर्छ ।

टोटनहृयामविरुद्ध राम्रो लयमा रहेका फर्मिनोलाई खेलाउन लिभरपुल योजनारत देखिन्छ । यसले गर्दा लिभरपुलको भरपर्दो ४-३-३ कै फर्मेसन देखिने सम्भावना बढी छ । जसमा माने देब्रेतर्फबाट र सलाह दाहिनेतर्फबाट अट्याकमा बढ्ने छन् । टोटनहृयामका लागि वान भर्सेस वानमा बस्नुपर्ने बाध्यता यिनै दुईले सिर्जना गर्नेछन् ।

लिभरपुलका लागि एउटा समस्या मिडफिल्डमा ओभरलोड होला कि भन्ने पनि देखिन्छ । त्यसलाई व्यवस्थापन गरेर दुवै विङबाट डिफेन्डरलाई बढाउने शैलीमा क्लोप पोख्त भए पनि फाइनलमा धेरै आक्रामक हुनु सकारात्मक मात्रै नबनिदिन सक्छ । टोटनहृयामका इरिकसन र अलिजस्ता दबावमा खेल्न सक्ने खेलाडी रहेकाले पनि लिभरपुल विशेष चनाखो बन्नै पर्छ ।

सेमिफाइनलको त्यो नाटकीय जित

फाइनलमा पुगेका दुवै टिमको सेमिफाइनल हेर्ने हो भने वर्षौंमा एकपटक देखिने दृश्यहरु देखिएका थिए । लिभरपुलले बार्सिलोनासँगको पहिलो लेगमा ३-० को हार दोस्रो लेगमा ४-० ले उल्टाएको थियो ।

टोटनहृयामले पहिलो लेगमा आयाक्ससँग भोगेको १-० को हार र दोस्रो लेगको पहिलो हाफसम्म ३-० ले पछि परेको अवस्था उल्टाउँदै दोस्रो हाफमा तीन गोल गरेर फाइनल पक्का गरेको थियो । जसमा ९६ औँ मिनेटको अन्तिम गोल त फुटबल समर्थक कहिल्यै भुल्न सक्दैनन् ।

लिभरपुलको पहिलो लेगमा ३-० हो हार अनि दोस्रो लेगमा जाँदा दुई भरपर्दा स्ट्राइकर मोहम्मद सलाह र रोबर्टो फर्मिनो नहुनुले धेरैले बार्सिलोनालाई हराउन असम्भव देखिरहेका थिए ।

क्लोप भन्छन्, बार्सिलोनामा हामीले जस्तो खेल खेल्यौँ त्यो अपेक्षाअनुसार नै थियो । तर नतिजा अपेक्षाअनुसार थिएन । हामीले खेल हार्‍यौँ ठिकै छ, तर ३-० ले हार्नुपर्ने खेल होइन त्यो ।’

लिभरपुलको जस्तै दोस्रो लेगमा पुग्दा टोटनहृयामको अवस्था पनि विश्वास गर्न सकिने बनेको थिएन । पहिलो हाफको दुई गोलपछि त कसैले टोटनहृयाम अघि बढ्छ भन्ने विश्वास गर्न सकिरहेका थिएनन् ।

पोचेटिनो भन्छन्, ‘हामीलाई सक्छौँ भन्ने विश्वास थियो । फुटबलमा आवश्यक भनेको नै तरिका हो । लिभरपुल र बार्सिलोनाको खेलपछि पनि असम्भव कुरा हुँदैन भन्ने हामीले बुझेका थियौँ । दोस्रो हाफमा टिम पुनर्जिवित भयो र हामी फाइनल पुग्यौँ ।’

र अन्त्यमा,

सेमिफाइनलको जितले दुवै टिममा आत्मविश्वास बढेको छ । फाइनलमा परिचित प्रतिस्पर्धी रहेकाले पनि कसो गर्ने भनेर सोच्ने समय दुवै टिमले राम्ररी पाएका छन् ।

दुवै प्रशिक्षक खेलको अवस्थाअनुसार फर्मेसन परिवर्तन गर्न पनि माहिर देखिन्छन् । यसमा लिभरपुललाई लगातार आक्रमणमा बढ्न नदिन पोचेटिनोको सोच र मिडफिल्डमा सन्तुलन मिलाएर अट्याकमा बढ्न क्लोपको सोच विशेष हुनुपर्ने छ ।

सम्भावित सुरुवाति ११

टोटनहृयाम – लोरिस, टि्रपियर, एल्डरवेरल्ड, भेरटनगेन, रोस, विङ्क्स, सिसोको, इरिकसन, अलि, सन, केन ।

लिभरपुल – एलिसन, आर्नोल्ड, म्याटिप, भ्यान जिक, रोबर्टसन, फाबियानो, हेनडरसन, विन्जनाल्डम, सलाह, फर्मिनो, माने ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment