Comments Add Comment

यस्तो छ संसारकै जोखिमयुक्त र आकर्षक मानिने लुक्ला विमानस्थल   

१८ जेठ, लुक्ला, (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैमा पर्यटकीय आकर्षणको केन्द्र हो । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण लुक्लाको स्थानीय जीवनशैली, रहनसहन र संस्कृतिसँगै त्यहाँको भौतिक पूर्वाधारले थप सुसज्जित तुल्याएको छ ।

लुक्ला भन्नासाथ आम मानिसमा त्यहाँको तेञ्जिङ् हिलारी (लुक्ला विमानस्थल) को स्मरण आउँछ । हुन पनि विश्वकै जोखिमयुक्त तर असाध्यै सुन्दर विमानस्थल लुक्ला विमानस्थल पर्यटकको आकर्षक गन्तव्य पनि हो । आकाशतिर मडारिएको कालो बादलको बाक्लो कुहिरो, हरिया मनमोहक डाँडाकाँडा, तलतिर दूधकोशीको सुशेली महाभारतको छातीमा अडिएको अलिकति समथर भित्तो । त्यसैमा सजिएको छ, लुक्ला विमानस्थल । विमानस्थलको जति आकर्षण छ, त्यति नै स्थानीय बस्ती बजारको सुन्दरता झल्काउँछ ।

चिटिक्कको बजार

विमानस्थलको छेवैमा पङ्तिबद्धजस्तै रहेको चिटिक्क सफा सुन्दर बजार । पासाङ ल्हामु गाउँपालिका वडा नं २ मा पर्ने लुक्ला विशिष्ठ पर्यटकीय क्षेत्र पर्छ । सगरमाथाको काखमा रहेको नाम्चे बजार लुक्लाबाट पदयात्रा गरेर जाँदाको मज्जा शब्दचित्रमा बयान गर्न सकिन्न । लुक्लाबाट एकदेखि दुई दिनको हिँडाइपछि नाम्चो बजार पुगिन्छ । नाम्चेबाट सगरमाथासहितका हिमालको दृश्यावलोकन गर्न पाइन्छ ।

राजधानी काठमाडौँबाट तारा एयरको विमानबाट करीब ३५ मिनेटको दूरीमा लुक्ला पुगेको ३२ जना पत्रकारको हुल विमानबाट ओर्लेदेखि नै मोबाइल र क्यामेरामा व्यस्त भए । मौसमले साथ लिएकाले पनि उनीहरु सकेसम्म सुन्दर तस्बीर कैद गर्नमा लागे । स्वदेशी तथा विदेशी पत्रकारको ठूलो समूह एकै पटक सायद पहिलो पटक हुनुपर्छ लुक्ला पुगेको । बिबिसिका सिर्जना श्रेष्ठ र एपी न्यूजका उपेन्द्रमान सिंह कस्सिएर क्यामेराको लेन्स तेर्साउँदै भने, “अमेजिङ लुक्ला सुन्दरताको बयान गर्ने शब्दै महङ्गो छ ।”

विमानस्थलको तस्बीर कैद गरेर बजार परिक्रमा गर्दैगर्दा सिन्ह्वाका पत्रकार सुनिल शर्मा स्थानीय चिटिक्क बजारको तस्बीर खिच्न व्यस्त देखिए । उनले भने, “यो त मेरो दोस्रो लुक्ला भ्रमण हो । जति पटक आए पनि सधै नयाँ जस्तो लाग्छ ।” सगरमाथा सफाइ अभियानअन्तर्गत नाम्चे बजारमा आयोजित कार्यक्रममा सहभागी हुन केही दिनअघि पुगेका पत्रकार तथा व्यवसायीको टोली मात्र हैन लुक्ला बजारमा भेटिएका विदेशी पर्यटकलाई तस्बीर खिच्न भ्याइनभ्याइ थियो ।

पत्रकारको भीडमा नेपाली सेनाका सेनानी रवीन अधिकारीले मुसुक्क मुस्कुराउँदै भने, “पत्रकार बन्धुहरुलाई धेरै खुराक मिल्यो होला, यति सुन्दर ठाउँमा आएर यहाँका दृश्य कैद गर्दा ।” साँच्चिकै मौसमले साथ दिएकाले नै होला लुक्ला विमानस्थल र बजार चिटिक्क देखिन्थ्यो । सातादेखि १५ दिनसम्म मौसम बिग्रने लुक्लाको यही जेठ १२ गतेको मौसम असाध्यै अनुकूल थियो । न झरी न बादल नत हावाहुरी नै । लुक्ला जुनसुकै समयमा मौसम खराब हुने भएकै कारण हवाई उडानमा संवेदनशील मानिन्छ ।

छुट्टै माहोल

सामान्यतया मौसमका कारण लुक्ला विमानस्थल साढे १२ बजे नै बन्द हुने गरे पनि त्यस दिन (जेठ १२ गते आइतबार) साढे २ बजेसम्म उडान भएको थियो । साँझ ७ बजेसम्म पनि लुक्ला विमानस्थल तथा बजारमा मौसम सफा रहेको थियो । बजारको माथितिरबाट हेर्दा ठाउँ ठाउँमा हेलिकोप्टर अडिएका ।

छिन छिनमा हेलिकप्टरको ओहोर दोहोरले छुट्टै माहोल थपिदिन्छ । लुक्लाबाट नाम्चे, सगरमाथा आधारशिविर तथा लुक्लादेखि रामेछाप र फाप्लु उल्लेख्य सङ्ख्यामा हेलिकप्टर दौडिरहन्छन् । मौसमले साथ नदिए करीब १० मिनेट दूरीका फाप्लु र २० मिनेटको उडानपछि पुगिने रामेछाप विमानस्थलमा विमान डाइभर्ड गरिन्छ ।

यकिन विवरण नभएपनि लुक्ला भएर वार्षिक ५० हजार स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको बताइन्छ । जम्मा लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर रहेको लुक्ला विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमा पर्छ । फराकिलो धावनमार्थ दुवैतर्फ अग्लो पहरोका बीचमा भएकाले यो विमानस्थलमा उडान भर्न निकै दख्खल भएका पाइलट चाहिन्छन् ।

स्थानीय होटल व्यवसायी राप्की छिरिङ शेर्पाका अनुसार लुक्लामा साना ठूला गरेर १०० भन्दा बढी पर्यटकीय होटल छन् । दुई हजार ५०० सम्म पर्टक धान्न सक्छन् । लुक्लाका ठूला र महङ्गा होटल दुई वटा एभरेष्ट समिट होटल र यति माउन्टेन होम छन् । लुक्लामा सिजनमा दैनिक रुपमा जहाजबाट ५८ र हेलिकप्टरबाट १७५ उडान हुने गरेको विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले जानकारी दिए ।

लुक्ला विमानस्थलको आकर्षणसँग क्षमता विस्तारको काम पनि अघि बढाइएको उनले बताए । सिम्रिक एयरका व्यवस्थापक दावा तामाङका अनुसार विमानस्थलबाट एयर डाइनेष्टिक, अल्टिच्युट एयर, मनाङ एयर, समिट एयर, श्रीएयर, हेलि एभरेष्ट, माउन्टेन र प्रभु कम्पनीका हेलीकोप्टर तथा सिता, तारा र समिट एयरका विमानले लुक्लामा उडान भर्दै आएका छन् ।

हेलिप्याड बन्दै  

हाल सञ्चालनमा रहेको हेलिप्याड सानो भएको र हेलिकप्टरको सङ्ख्या बढिरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लुक्लामा नयाँ हेलिप्याड निर्माण गरिरहेको छ । करीब ३२ करोड लागतमा झण्डै १२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको हेलिप्याडमा साना हेलिकप्टरहरु छ देखि आठ र ठूला हेलिकप्टर तीन वटा राख्न सकिनेछ । कान्छाराम कन्स्ट्रक्सनले १८ महीनाभित्रमा निर्माण सक्ने गर्ने गरी ठेक्का लिएको छ ।

भाडामा पार्किङ गरिँदै   

लुक्लामा हेलिप्याड अभावकै कारण अहिले भाडामा पार्किङ र अवतरण हुने गरेको छ । गत वैशाख १ गते समिट एयरको जहाजले पार्किङमा रहेका दुई ओटा हेलिकप्टरमा ठक्कर दिएर दुर्घटना भएपछि हालको हेलिप्याड पूर्ण रुपमा बन्द छ । त्यहाँ रहेको हेलिकप्टर र जहाज निकाल्न ढिलाइ भएका कारण हेलिकप्टर कम्पनीहरुले नजिकको जग्गा भाडामा लिएर पार्किङ र ल्यान्डिङ गर्दै आएका छन् । पुरानो हेलिप्याडमा चार वटा हेलिकप्टर अवतरण र पार्किङ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment