Comments Add Comment

राजपरिवारको कत्लेआम भएको दिन

०५८ साल जेठ १९ गते पत्रिकाको काम सकेर घर आइपुग्दा रातिको १२ बजिसकेको थियो । मध्यरातमा खाना खाइवरि सुतेको एक घण्टा पनि भएको थिएन । मस्त निन्द्रामा भए पनि एकोहोरो बजेको टेलिफोनको घण्टीले निद्रा खल्बल्याइदियो ।

जिल्ला विकास समितिका सभापति विष्णु घिमिरेको फोन रहेछ । कामबाहेक उहाँले कहिल्यै फोन गर्नुहुन्नथ्यो, आज मध्यरातमा ! मैले आवाज चिन्ने वित्तिकै प्रश्न गरे -‘के भयो सभापतिज्यू ?’ ।

उहाँले आत्तिएको स्वरमा मलाई नै प्रतिप्रश्न गर्नुभयो । ‘दरबारमा के भएको हो ? समाचार लेख्नु भयो ?’

मलाई दरबारको बारेमा केही थाहा थिएन । एक स्वरमा उत्तर दिएँ ‘अहँ थाहा छैन ।’ मैले प्रश्नमाथि प्रश्न थपेँ ‘बरु भन्नुस् तपाईलाई के थाहा छ ?’

उहाँले नारायणहिटी दरबारमा गोली चलेको र राजा-रानी मरेको हल्ला सुनेको बताउनुभयो । उहाँले पत्रकार भएको हिसाबले थप जानकारी होला भनेर मलाई सोध्नु भएको रहेछ ।

मोफसलमा काम गर्ने पत्रकारको दरबारमा पहुँच पुग्ने कुरै हुन्थेन । नत हाम्रो त्यहाँ कुनै सम्पर्क सुत्र थियो । तैपनि मैले उहाँलाई म बुझेर खबर गर्छु भने । त्यो समाचार लेख्न सके राम्रै हुन्थ्यो भन्ने लाग्यो । त्यसैले सम्पर्क सुत्र खोज्न लागेँ । चितवनबाट केही समयअघि सरुवा भएर काठमाण्डौं गएका एसपी सागर थपलियालाई फोन गरें । कार्यक्षेत्रका हिसाबले राजदरबार उनकै क्षेत्रमा पर्दो रहेछ ।

जनक अर्याल

मैले सोझै ‘राजदरबार भित्र के भएको हो ?’ प्रश्न गर्दा उनी अक्मकाए । उनले दरबारभित्र दुर्घटना भएको हुनसक्ने तर घटनाबारे आफूलाई जानकारी नभएको भनेर पन्छिए । चितवनको चिनजानको नाताले मैले प्रश्न कस्दै गएँ । उनले थाहा छैन भन्दाभन्दै पनि दरबारमा ठूलो विनाश भएको आशंका देखाए र यो घटनाबारे सेनाले मात्र भन्न सक्ने बताए । मैले अनुरोध गरेपछि उनले घाइतेहरुलाई सैनिक अस्पताल छाउनी लगिएको र त्यही बुझ्न सुझाव दिए ।

एसपी सागर थपलियाकै सुझाव र उनले उपलब्ध गराएको टेलिफोन नम्बरमा फोन गरें । अस्पतालका कर्मचारीले फोन उठाउने वित्तिकै मैले सोधे – ‘महाराजलाई कस्तो छ ?’

कर्मचारीले सोधे – ‘हजुर को बोलिस्या ?’

मैले परिचय दिएँ – ‘म जनक अर्याल’

उनी झुक्किएछन् क्यारे – ‘जय नेपाल साप !’

मैले पनि जय नेपाल फर्काएँ ।

उनले एकै श्वासमा भने ‘महाराज महारानी दुवैको अवस्था नाजुक छ ।’

मैले थप प्रश्न गरें – ‘अरुको अवस्था के कस्तो छ नि ?’

उनले भने -‘यहाँ त बेहाल छ हजुर, म सबैलाई चिन्दिनँ ।’

दरबारको सानो कुरा पनि समाचार बन्दथ्यो, अब मलाई धेरै जानकारी भैसकेको थियो । पत्रिकाको कम्प्युटर अपरेटरलाई फोन गरेर तत्काल अफिस आउन भनें । म छापाखानाकै बाटो अफिस गएँ । धमाधम पत्रिका छाप्दै रहेछ, मैले अपरेटरलाई पत्रिका छाप्न बन्द गर म अर्कै म्याटर लिएर आउँछु भनेर अफिस फर्किएँ ।

समाचार लेखिसक्दा पनि कम्प्युटर अपरेटर आएनन् । फष्ट न्यूजमात्र फेरे पुग्ने भएकाले आफैले भए पनि पत्रिका निकाल्ने प्रयास गरें । ‘दरबारमा गोली चल्यो, ठूलै हताहतको आशंका’ शीर्षक राखेर पत्रिका निकालेँ । पत्रिकाको म्याटर लिएर छापाखाना पुग्दा छापाखानावाला साहु आइपुगेका रहेछन् । उनले पत्रिका रोकिएको बारे सोधखोज गरे । मैले स्पष्टीकरण दिएँ । उनले पत्रिका छाप्न मानेनन् । द्वन्द्वकालमा दरबारको कुरा छाप्दिनँ भनेर अड्डी लिए ।

उनले हामीसँग पत्रिकाको मात्र वर्षमा चार-पाँच लाख रुपैयाँ लिन्थे । शायद बिजनेश अन्त जाने डरले हुनसक्छ उनले छापाखानाको नाम हटाएर छापिदिने सहमति जनाए । विहान सात बजे बल्ल पत्रिका छाप्न शुरु भयो । आज रेडियो नेपालले समाचार दिएन, एफएम रेडियो, टेलिभिजन सबैले शोकधुनमात्र बजाउँथे । सधैँ विहान छ बजेसम्म घरघरमा पुग्ने पत्रपत्रिकाहरु त्यो दिन बाँडिएन ।

विहान आठ बजे बल्ल पारदर्शी दैनिक पत्रिका निस्कियो । केही वितरकहरु छापाखानामै पत्रिका लिन पुगेका थिए । हामीले लिएर गएको पत्रिका अफिस नपुर्‍याउँदै बाटैमा सकियो । कतिपय पुस्तक पसलेहरु र अन्य पत्रिकाका वितरकले पनि पत्रिका लिएर गए । पारदर्शीलाई भर्खर दैनिक बनाएका थियौं । प्रचारप्रसारकै लागि भए पनि पत्रिका वितरण जरुरी थियो । पत्रिका हारालुछ भयो । काठमाण्डौंबाट निस्केका अधिकाँश पत्रिका र जिल्लाका अन्य पत्रिकाहरुले दरबार हत्याकाण्डको समाचार लेखेका थिएनन् ।

ग्राहकको घर पुर्‍याउन पत्रिका लिएर हिँडेका वितरकहरु पत्रिका सकिएर विचबाटै फर्किए । पत्रिकाको माग बढेपछि थप पत्रिका छाप्न लगायौं । नारायणगढको शहीदचोक र पुलचोकमा कराएर पत्रिका बेच्ने हकरहरुलाई पत्रिका दिएर साध्ये थिएन । अरु दिन दुई हजार पत्रिका निस्कने पारदर्शी दैनिक त्यसदिन सात हजार छापिसकिएको थियो ।

दिउसो दुई बजेसम्म पत्रिकाको बिक्री उस्तै थियो । पुस्तक पसले र हकरहरु पत्रिका लिन अफिसमै आउँथे । कतिपय ग्राहकसमेत पत्रिका लिन पत्रिकाको कार्यालयमा आएका थिए । चितवनमा पहिलो पटक यतिधेरै पत्रिका बिकेको थियो । समाचार अत्यन्त दुःखद् थियो । नेपाली जनताले मनमा राखेको एउटा राजपरिवारको कत्लेयाम भएको थियो । तर, एउटा पत्रकारको हिसावले मलाई आफ्नो मेहेनत सफल भएकोमा खुसी थिएँ । मोफसलमा बसेर पनि मैले राजधानीका धेरै पत्रकारहरुले थाहा नपाएको समाचार ब्रेक गरेको थिएँ ।

त्यसदिन के भएको थियो दरबारमा ?

आजकै ठीक १८ वर्षअघि २०५८ साल माघ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी दरबारभित्र त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको पारिवारिक जमघटमा गोली चलेर तत्कालीन राजा विरेन्द्र शाहको वंशनाश भएको थियो ।

उच्च सुरक्षामा रहेको राजदरबारभित्र कसरी त्यत्रो हत्याकाण्ड सफल भयो ? अहिले पनि रहस्यकै गर्भमा छ । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती शाहको हत्या भएको थियो । सोही घटनामा वीरेन्द्रका भाइ राजकुमार धीरेन्द्र, बहिनीहरू राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, र ज्वाइँ कुमार खड्गलगायत मारिएका थिए ।

दरबार हत्याकाण्डपछि गठित उच्चस्तरीय छानबिन समितिले त्यो घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । समितिको प्रतिवेदनमा युवराज दिपेन्द्रले परिवारका सबै सदस्यहरुलाई गोली हानेर अन्तिममा आफैलाई गोली हानेको छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

राजा वीरेन्द्रको निधन भएपछि अस्पतालको कोमामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । युवराज दिपेन्द्रको मृत्युपछि राजा वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । ज्ञानेन्द्र राजा भएपछि सत्ताहातमा लिएर तानाशाह बन्ने प्रयास पनि गरे । २०६२/६३ को जनआन्दोलनपछि पुनस्थापित व्यवस्थापिका-संसदले नेपालमा राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्‍यो ।

मुलुकमा राजतन्त्र हटेर गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको नमिठो संझना अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि नेपाली जनतालाई झस्काउने गर्छ । अनेक आशंका र अनुमान गरिएको दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

(लेखक अर्याल पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment