
१९ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् ।
विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ ।
विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ ।’
उनले अरु कम्युनिस्ट घटकहरुलाई पनि एकतामा आउन आहृवान गरे ।
राईको पार्टी प्रवेशले आफू र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई बिहान रिसाएर हिँडेको छोराछोरी साँझ घर फर्किँदा जस्तै खुसी मिलेको प्रचण्डले सुनाए । उनले भने, ‘असाध्यै खुसी, रिसाएर घर छोडेर गए पनि के खायो होला के गर्यो होला भनेर दिनभर चिन्ता हुन्छ ।’
प्रदेश १ मा राईको भूमिका महत्वपूर्ण रहने भन्दै उनले पार्टीले उचित जिम्मेवारी दिने आश्वासन दिए ।
को हुन् पदम राई ?
भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।
एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए ।
गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भए ।
राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए ।
जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए ।
उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।
प्रतिक्रिया 4