+
+
Shares

कांग्रेसले पत्ता लगायो बजेट पुस्तिकामा त्रुटि, अर्थमन्त्रीले दिए धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते १३:३९

१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दा बजेट पुस्तिकामा त्रुटि भएको भेटिएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले उक्त त्रुटिबारे जानकारी गराउँदै अर्थमन्त्रीको जवाफ माग गरेका थिए ।

‘सरकारले बजेटको अनुसूची १ मा आर्थिक वर्ष ७५÷७६ को संशोधित अनुमान पेश गरेको छ । त्यसमा त्रुटि छ । त्यो त्रुटिको गम्भीर प्रभाव रहन्छ । अर्थमन्त्रीले जवाफ नदिइकन बजेटका बारेमा छलफल गर्नु उचित हुन्न’ उनले भने ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा चालु खर्च ७ सय ८३ अर्ब, पूँजीगत खर्च २ सय ७३ अर्ब र वित्तीय व्यवस्था १ सय ५३ अर्ब रुपैयाँ हुने संशोधित अनुमान गरेको छ । यस अनुसार चालु आर्थिक वर्षमा १२ खर्ब ८ अर्बको स्रोत साधन चाहिने अर्थमन्त्रीले बताएका छन् ।

कांग्रेस नेता रिजालका अनुसार स्रोत साधन जोहो क्रममा सरकारले राजस्वबाट ८ सय ६० अर्ब राजस्व जम्मा हुन्छ भनेको छ । यो राजस्वमध्ये १ सय २ अर्ब प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने हुन्छ । त्यसो गर्दा संघीय सरकारले खर्च गर्न पाउने राजस्व रकम ७ सय ५८ अर्ब रुपैयाँ हुन्छ ।

तर बजेट पुस्तिकामा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा जोडेर संघीय सर्वसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरेको छ भन्दै रिजालले त्यो गलत भएको बताए ।

आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारले पाउने कुल राजस्वमा विदेशी अनुदान जोड्दा
८ सय ४ अर्ब सरकारको स्रोत साधन रहन्छ । जसबाट न्युन हुने ४ सय ४ अर्बमध्ये सरकारले विदेशी २ सय १० अर्ब र आन्तरिक ऋण १ सय ७२ रुपैयाँ उठाउने बताएको छ । तर अर्थमन्त्रीले बिगारेको हिसाबअनुसार चालु आर्थिक वर्षको बजेटमा २२ अर्ब रकम न्युन हुन जान्छ ।

कांग्रेस सांसद रिजालले सरकारले संसदलाई झुक्याएर आन्तरिक ऋण धेरै उठाउन खोजेको आरोप लगाए । संसदले दिएको म्याण्डेटभन्दा बाहिर गएर आन्तरिक ऋण उठाउन नपाइने भन्दै उनले अर्थमन्त्रीको जवाफ माग गरे ।

अर्थमन्त्रीले दिए धन्यवाद

जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले उठाउने कुल राजस्वबाट प्रदेश र स्थानीय तहले पाउने राजस्व घटाउनुपर्नेमा त्रुटिवश जोडिएको बताए ।

‘केही प्राविधिक त्रुटिका कारण प्रदेश र स्थानीय तहमा जाने राजस्व पनि संघीय सञ्चित कोषमा जाने रकममा जोडिएकाले अन्यथा भएकाको हो, त्यसलाई मिलाइसकेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘त्यसले अरु अंकमा फरक पार्दैन एउटा अंक मिलाउनासाथ अरु अंक सबै मिल्छ ।’ उनले आन्तरिक ऋण १ सय ७२ अर्बभन्दा बढी नउठाउने पनि बताए ।

मन्त्री खतिवडाले बजेट सार्वजनिक गरेपछि अर्थ मन्त्रालयले छोटो समयमा २२ वटा पुस्तिका निकाल्नुपर्ने भएकाले केही त्रुटि भएको बताए । ‘कहिलेकाहीँ भवितव्य पर्दोरहेछ, मेसिनले जोड्नुपर्नेमा हातले जोड्दा घटाउँदा त्रुटि भएको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?