Comments Add Comment

किशोरी रेस्लरको सपना : सागमा स्वर्ण पदक

१९ जेठ, विराटनगर । इटहरीकी श्रीजासु गिरीकोको परिचय टोल छिमेकमा सीमित थियो । कबड्डीकी राष्ट्रिय खेलाडी भए पनि देशको प्रतिनिधित्व गरेर खेल्न जान पाइनन् । देशभित्र कबड्डी खेलको अवस्था त्यति राम्रो नभएकाले उनको प्रतिभा फस्टाउन पाइनन् ।

सातौं राष्ट्रिय खेलकुदमा कबड्डीको प्रतिस्पर्धामा पूर्वाञ्चलबाट उनको प्रस्तुति दमदार थियो । तर आठौं राष्ट्रिय खेलकुदसम्म आइपुग्दा उनले कबड्डी छाडेर कुस्ती रोजिन् । अन्तत उनी कस्तीबाटै स्वर्ण जित्न सफल भइन् । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७६ केजी तौल समूहमा उनले स्वर्ण जितेकी हुन् ।

प्रतियोगिताअघि ४५ दिन अभ्यास गर्न पाएकी उनले स्वर्ण पदकमात्र ल्याइनन् प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । ४५ दिनमध्ये पनि उनले धेरै समय चौरमा नै अभ्यास गर्नुपर्‍यो, म्याटमा गर्न पाइनन् । ‘मोरङमा १२ वर्षदेखि रेस्लिङ (कुस्ती) खेलाइदो रहेछ । तर मैले पहिलो पटक गोल्ड मेडल ल्याएँ’ श्रीजासु खुशी व्यक्त गर्छिन् ।

अब उनी पाँचौ दक्षिण एसियाली खेलकुद (साग) बाट देशका लागि स्वर्ण पदक जित्ने र एसियाली खेलकुदमा सहभागी हुने इच्छा छ । उनी भन्छिन् ‘देशका लागि मेडल ल्याएर देखाउने मन छ ।’

तर त्यसका लागि पर्याप्त तयारी गर्न नपाएकोमा उनी निराश छिन् । सागमा पदक जित्न आठौं राष्ट्रिय खेलकुदमा भन्दा कडा अभ्यास गर्नुपर्छ । तर प्रशिक्षणको निराश अवस्था उनले आठौं खेलकुदअघि भोगिसकेकी छन् ।

आफ्नो प्रशिक्षण केन्द्र नहुँदा प्रशिक्षकले शहीद रंगशालाको घाँसे मैदानमा प्रतिस्पर्धा गराए । ‘हाम्रो गेम म्याटमा खेल्ने हो’ उनी भन्छिन् ‘प्राक्टिस गर्दा अर्कैको म्याटमा गर्नुपर्ने कहिले चाबी लगाएर हिनिदिन्थे । अनि खुला चौरमा प्राक्टिस भयो ।’ अब यस्तो नहोस् भन्ने उनको चाहना छ ।

मामाको प्रेरणा

विराटनगरको मेरिल्याण्ड कलेजमा स्नातक अध्ययनरत १९ वर्षकी श्रीजासुलाई घरबाट कुनै पनि खेलका लागि अनुमति थिएन । अझ कुस्ती प्रतियोगितालाई आमा बुबाले स्वीकार गरेका थिएनन् । अभिभावकलाई थाहा नदिई अभ्यास गरिन् ।

आठौं राष्ट्रिय खेलकुदमा छनोट भएपछि मात्रै उनले घरमा सुनाइन् । ‘ममी खुसी हुनु भएन । तर मामाले हौसला दिनुभयो, खेल्नुपर्छ भाञ्जी भन्नुभयो’ उनले भनिन् ।

आमा खुसी नभएकाले उनलाई आठौं खेलकुदमा जाने मन थिएन । तर बिडम्बना मंसिर २५ गते उनका मामा हेमचन्द्र र हजुबुबा धनप्रसादको झापामा भएको सवारी दुर्घटनामा मृत्यु भयो । त्यसपछि आमाले मामाको इच्छा थियो, खेल्नु भनेपछि श्रीजासु नेपालगञ्ज जान पाइन् । पदक जितेर समेत ल्याइन् । ‘मलाई मामाले नै इन्करेज गर्नुभयो खेल्नपर्छ भनेर’ उनले भनिन ‘तर मैले गोल्ड जित्दा मामालाई देखाउन पाइन् ।’

निरन्तर प्रशिक्षण गर्न नपाउँदा श्रीजासु अन्योलमा छिन् । ‘अस्ती गेम अघि प्राक्टिस भएको थियो । अहिले फ्री छु’ उनी भन्छिन् ‘निरन्तर प्राक्टिस भइरहे दक्षिण एसियाली खेलकुद सागको तयारी गर्न सजिलो हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment