Comments Add Comment

अर्थ मन्त्रालयका प्रवक्ताको मुख्य जिम्मेवारी– सूचना लुकाउने !

२० जेठ, काठमाडौं । सामान्यतया सरकारी अधिकारीहरु आफ्नो निकायको ‘प्रवक्ता’ बन्न लालायित हुन्छन् । सञ्चार माध्यममा निरन्तर आफ्नो नाम आइरहने, सार्वजनिक सम्बन्ध राम्रो हुने र धेरै विषयवस्तुमा अपडेट हुन सकिने भएकाले मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा प्रवक्ता पदको आकर्षण छ ।

तर, यो कुरा अर्थ मन्त्रालयमा भने लागू हुँदैन । यस मन्त्रालयमा त प्रवक्ता पद एक प्रकारको सजायका रुपमा लिइन्छ । सहसचिव, उपसचिव र अधिकृतहरुलाई यतिसम्म भनिएको छ कि यदि कसैले मन्त्रालयको सूचना चुहायो भने उ प्रवक्ता बन्नुपर्नेछ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले केही समय अगाडी सचिवद्वय, सहसचिव, उपसचिव, अधिकृतसहित मन्त्रालयका कर्मचारीलाई भेला गराएर चेतावनी नै दिएका थिए । स्रोतले उनलाई उद्वृत गर्दै भन्यो, ‘मन्त्रालयका सूचना प्रवक्ताको माध्यमभन्दा बाहिर अरुले दिन पाउने छैन, जसले दिन्छ, उसैलाई प्रवक्ता बनाइदिन्छु ।’

१ वर्षमा ६ प्रवक्ता परिवर्तन

१४ फागुन २०७४ मा अर्थमन्त्री बनेका डा. खतिवडाले अहिलेसम्म ६ जना प्रवक्ता परिवर्तन गरिसकेका छन् । अर्थमन्त्री खतिवडाले कार्यभार सम्हाल्दा सहसचिव अर्जुन पोखरेल प्रवक्ता थिए । त्यसपछि अर्का सहसचिव झक्क आचार्यलाई यो जिम्मेवारी दिइयो । छोटो समयमै उनलाई चन्द्रकला पौडेलले प्रतिस्थापन गरिन् । उनी पनि लामो समय टिकिनन् । त्यसपछि किशोरजंग कार्कीलाई प्रवक्ता बनाइयो ।

छोटो समयमै उनलाई पनि त्यहाँबाट सरुवा गरियो र अन्तरिम प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहाललाई दिइयो । अहिले भने यो पद अर्का सहसचिव उत्तरकुमार खत्रीलाई दिइएको छ । एकातर्फ प्रवक्ताभन्दा बाहिरबाट सूचना प्रवाह रोकेका अर्थमन्त्री अर्कोतर्फ प्रवक्तालाई पनि विषयवस्तुसँग भिज्ने समय नपाउँदै सरुवा गर्छन् ।

सूचना माग्दा कर्मचारी तर्सिन्छन्

अहिले अर्थ मन्त्रालयका उच्च तहका कर्मचारी आफ्नै कारणले सूचना चुहावट होला र प्रवक्ता बन्नुपर्ला भनेर आतंकित छन् । अर्थमन्त्रीको चेतावनीसँगै उनीहरु सामान्य विषय पनि प्रवक्तालाई देखाएर पन्छिन्छन् । मन्त्रालयका एक उपसचिवले आइतबार अनलाइनखबरसँग भने, ‘म सैद्धान्तिक विषयवस्तुमा पनि तपाईलाई केही जानकारी दिन सक्दिनँ, किनकी हामीलाई चेतावनी दिइएको छ, प्रवक्ताभन्दा बाहिर कसैले केही बोल्न मिल्दैन ।’

तर, प्रवक्तासम्म नियमित सूचना पुर्‍याउने संयन्त्र मन्त्रालयमा छैन । त्यसकारण प्रवक्ताले कतिपय विषयमा आपूm ‘अपडेट’ नभएको भन्दै उम्कने छूट पाउँछन् । मन्त्रालयका एक सहसचिव भन्छन्, ‘अर्थमा प्रवक्ता बन्नु भनेको दूनियाँको गाली खान जानु बराबर हो, किनकी प्रवक्तासँग केही जानकारी नै हुँदैन, उल्टो बोल्न चाहेनन् भन्दै तथानाम सुन्नुपर्छ ।’ उनका अनुसार सूचना प्रवाहको विषयलाई लिएर कर्मचारीमा यसअघि यस्तो आतंक थिएन ।

अर्थमन्त्रीको नियमित पत्रकार भेटघाट बन्द

अर्थमन्त्रीले केही समय हरेक महिना आर्थिक पत्रकारसँग आफैले पनि नियमित भेटघाट गर्न थाले । तर, त्यो क्रम पनि दुई महिनाभन्दा बढी टिकेन । त्यसपछि भने अर्थमन्त्री आफंै पनि सञ्चारकर्मीसँग टाढिन थाले । उनी प्रवक्ताबाट मात्र सूचना प्रवाह हुने व्यवस्था मिलाएको दावी गर्छन् ।

मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रालयमा निर्देशक पद झुण्ड्याएर बसेका डा. रामशरण खरेलले सूचना संयन्त्रलाई नियन्त्रण गर्न भूमिका खेलेका छन् ।’

उनी पत्रपत्रिका र अनलाइनमा आफैं आर्टिकल छपाउँछन् भने आफै टेलिभिजनसम्म पुगेर बजेट र अर्थतन्त्रको विश्लेषण गर्छन् । तर, मन्त्रालयमा उनको भूमिका के हो, अझै स्पष्ट छैन । नेपाल राष्ट्र बैंकबाट काजमा तानिएका उनी नाताले अर्थमन्त्रीका छोरी ज्वाँई हुन् । त्यसो त आगामी आवको बजेट बनाउने कोर टीममा पनि उनी संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment