Comments Add Comment

पर्यटन क्षेत्रको बदनाम : फेक रेस्क्यूपछि अब मृत्युको व्यापार !

२१ जेठ, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक विषयहरुलाई प्रमुख समाचारको रुपमा स्थान दिइएको छ । सगरमाथामा मृत्युको व्यापारदेखि डाक्टरहरुको लाइसेन्स नवीकरण गर्न एक सय अंक ल्याउनै पर्नेसम्मका समाचारहरु आजका पत्रिकाहरुमा पढ्न पाइन्छ ।

नागरिक दैनिकले ‘सगरमाथामा मृत्युको व्यापार’ शीर्षकमा मुख्य समाचार छापेको छ । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख रुपैयाँ) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् ।

प्रधानसम्पादक गुणराज लुइँटेलकै बाइलाइन समाचारमा नागरिक दैनिक लेख्छ, ‘पदयात्रा क्षेत्रमा फेक रेस्क्युले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको छ ।’

‘एउटै कम्पनीले लगेका सात जना आरोहीको मृत्यु र तिनको उद्धारमा माग गरिएको ठूलो रकमले पनि यो व्यवसाय अब सगरमाथामा मृत्युको व्यापारको रुपमा चित्रित हुने अवस्था आएको छ ।’

नागरिक दैनिकमा विकास बजेटबाट सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद प्रक्रिया सुरु गरिएको समाचार पनि छ ।

कान्तिपुर दैनिकमा नेकपामा ध्रुवीकरण बढेको मुख्य समाचार छ । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको र खासगरी पूर्व एमालेमा खैलाबैला मच्चिएको समाचारमा उल्लेख छ । यसै सन्दर्भमा कान्तिपुरले उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता ईश्वर पोखरेलको अन्तर्वार्ता छापेको छ, जसमा पोखरलले जो पार्टी अध्यक्ष, उही प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

कान्तिपुरमा नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको र चन्द समूहभित्रैका नेताहरुले पनि वार्तामा जोड दिइरहेको समाचार छ । साथै सांसदको हातमा विकास बजेटको ५ प्रतिशत रकम रहेको समाचारलाई पनि महत्वका साथ छापिएको छ । २०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालमा यस्तो रकम ०.२४ प्रतिशत मात्र थियो । तर अहिलेसम्मको अवस्था हेर्दा सांसदहरुकै हातमा अधिकांश विकास बजेट पुग्ने गरी यो रकमलाई विस्तार गरिएको छ । ‘अर्थात्, अहिलेको विकास बजेट ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँको झण्डै ५ प्रतिशत सांसदको हातमा पुगिसकेको छ,’ समाचारमा लेखिएको छ ।

नयाँ पत्रिका दैनिक भने संसदमा बजेटमाथि छलफल चलिरहँदा सांसदहरुको न्युन उपस्थिति भएको विषयमा केन्द्रित छ । बैठक कक्षका अधिकांश रित्ता कुर्सीको तस्वीरसहित प्रकाशित ब्यानर समाचारको हेडलाइन राखिएको छ- ‘बजेटमा छलफल : न सत्तापक्ष, न प्रतिपक्ष दल’ । बजेटजस्तो गम्भीर विषयमाथि छलफल भइरहँदा पनि बैठकमा न सत्तापक्षका सांसद छन्, न प्रतिपक्षका छन् । अधिकांश अनुपस्थित छन् ।

नयाँ पत्रिका दैनिकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पोलिटब्युरोअघि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको गृहकार्य गरिरहेको समाचार पनि छापेको छ ।

अन्नपूर्ण पोष्टले सोलुखुम्बुको महाकुलुङ-३ छेस्काम गाउँको प्रहरी चौकी विप्लव समूहका कार्यकर्ताहरुले रातभर नियन्त्रणमा लिएको भनेर फैलिएको हल्लाको सत्यतथ्य खुट्याउने प्रयास गरेको छ । ‘देशै हल्लाउने एउटा शंका’ शीर्षकको समाचारमा चौकी कब्जाको आधार नभेटिएको निष्कर्ष छ ।

साथै सरकारी अड्डामा निगरानीको श्रृंखला चलाइरहेको अन्नपूर्णले आजको अंकमा भक्तपुर नगरपालिकाको समाचार छापेको छ । सेवाग्राहीलाई दुःख दिने, समयमै काम नहुने, कार्यक्षेत्र फोहर हुने, कार्यालयमा कर्मचारी नभेटिने जस्ता अन्य सरकारी कार्यालयका ‘विशेषता’ भक्तपुर नगरपालिकामा नभएको समाचारमा उल्लेख छ । त्यसैले अन्नपूर्णले समाचारको हेडलाइन नै ‘अड्डा होस् त यस्तो’ राखेको छ ।

राजधानी दैनिकले सरकारको सबैजसो निकायमा दातृ राष्ट्रको अर्बौं लगानीको परियोजना सञ्चालनमा रहेको मुख्य समाचार छापेको छ । ‘दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसकारी संस्था (आईएनजीओ)ले आगामी वर्ष बजेट बाहिरबाट विभिन्न परियोजनामा ४५ अर्ब रुपैयाँ खर्चिने छन्,’ समाचारमा लेखिएको छ ।

गोरखापत्र दैनिकले सिन्डिकेट अन्त्य हुन लागेको, चिकित्सकले लाइसेन्स नवीकरण गर्न पाँच वर्षभित्र एक सय अंक ल्याउनैपर्ने भएको, धरहरा निर्माण तीव्र गतिमा भइरहेको लगायतका समाचार पहिलो पृष्ठमा समेटेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment