Comments Add Comment

चैनपुरवासीमा चैन छैन, बाहुलीगाड बहुलाउने डर

२१ जेठ, डडेल्धुरा । अहिले गर्मियाम चलिरहेको छ । बझाङ चैनपुरवासीलाई भने वर्षायामको पिरलो छ । ‘बहुलाहा खोला’को रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो कसैलाई थाहा छैन । बाढी आएर सदरमुकामै सखाप पार्ने हो कि भन्ने डरले स्थानीयवासी त्रसित छन् ।

चैनपुरलाई सुदूरका पहाडी जिल्लाहरुमा सबैभन्दा मिलेको सुन्दर सदरमुकाम मानिन्छ । पूर्वीतिरबाट सेती नदी बगेको छ । पश्चिमीबाट बाहुलीगाड बग्छ । बीचमा मुटु आकारमा फैलिएको छ चैनपुर ।

वर्षामा यी दुई नदीमा बाढी आउँदा स्थानीयमा होसहवास नै उड्छ । सदरमुकाम चैनपुर कतिबेला सखाप हुने हो भन्ने चिन्ताले उनीहरुको मनमा चैन छैन ।

जयपृथ्वी नगरपालि-१० का स्थानीय नरेशबाबु चित्रकार भन्छन, ‘आउने वर्षायामले हामीलाई अहिलेबाट नै तर्साइरहेको छ, सेती नदी र बाहुली खोलाले यहाँका बासिन्दा र डेरा गरेर बसिरहेकालाई डर छ । साउनको उर्लदो भेलमा राति नसुतेरै नदीको किनारमा गएर हेर्ने गर्छौ ।’

ज्यान जोगाउनका लागि यसअघिका वर्षहरुमा पनि आफूहरुले राति नदी किनारमा डिउटी गर्ने गरेको उनले बताए । ‘स्थानीय सरकारले सानासाना बजेट त हालेको छ तर त्यसले खासै बचाउ गर्ला भनेर हामीलाई विश्वास छैन,’ उनले भने ।

जोखिममा दलित बस्ती

बझाङको जयपृथ्वी नगरपालिका-१० मा पर्ने चैनपुरमा ४ हजार ६२ घरधुरी बसोबास रहेको छ । ०७३ को असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिकाका वडाहरु जोड्ने झोलुङ्गे पुल बगाएको थियो ।

पुल नजिकै रहेका ५ वटा घर पसल पनि बगाएपछि त्यहाँ आसपासका केही घरहरुमा मानिसले बसोबास गर्न छोडिसकेका छन् ।

हरेक वर्ष यहाँ बाढीले २/३ जनाको ज्यान लिने गरेको छ । नदीको छेउमै रहेको दलित बस्ती बाढीको उच्च जोखिममा छ । ‘धेरेको बसोबास उठिगो, खोला किनारमा रहेको बगर देखाउँदै स्थानीय परदेशी कामीले भने, ‘यो जमीन हाम्रै थियो, गइसक्यो अब कसोगरी बस्ने होला ?’

अब डराउनु पर्दैन-मेयर खड्का

जयपृथ्वी नगरपालिकाले सदरमुकाम बचाउन प्रयास भइरहेको बताएको छ । दुवै खोलामा आरसीसी तटबन्धन निमार्ण भइरहेको र यसरी निरन्तर संरचना बनाइँदा अबको दुई/तीन वर्षमा सदरमुकाम बाढीको जोखिमबाट मुक्त हुने नगरपालिकाकोे भनाइ छ ।

नगर प्रमुख वीरेन्द्र खड्का भन्छन्, ‘प्रदेश सरकार र स्थानीय सरकार दुवैले खोलाको दुईटैतर्फ वालहरु निमार्ण गरीरहेको छ, अब हिजोको जस्तो जोखिम छैन ।’

निमार्णको कार्य सम्पन्न नभए पनि छिट्टै सम्पन्न हुने उनले बताए । ‘तर अप्रत्यासित रुपमा कतिबेला के हुन्छ त्यो त भन्न सकिन्न । दुबै नदी किनारमा ग्याबीन वाल र मेसीनरी वाल लगाइएका छन्, त्यसैले हिजो देखेजस्तो जोखिम छैन ।

बाढी सम्बन्धी सचेतनामूलक कार्यक्रमसमेच संचालन गरिएको मेयर खड्काले बताए । नगरपालिकाको पछिल्लो तथ्याङअनुसार चैनपुरमा २५ हजार ९६० जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment