Comments Add Comment

बागदरबार मर्मतमा काठमाडौं महानगरकै अवरोध

२१ जेठ, काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको बागदरबारको छाना काठमाडौं महानगरपालिकाले मर्मत गर्न नदिएको तथ्य फेला परेको छ ।

ऐतिहासिक बागदरबारको छाना मर्मतमा महानगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले अवरोध पु¥याएपछि मर्मत गर्ने जिम्मेवारी पाएको राज कन्ट्रक्सनले पुरातत्व विभागलाई पत्राचार गरेको छ ।

विभागले गत वैशाख १६ गते राज कन्ट्रक्सनलाई छाना मर्मतको गर्न निर्देशन दिएको थियो । कन्ट्रक्सनले महानगरका अधिकारीहरूको नामै उल्लेख गरेर पत्राचार गरेको हो ।

विभागलाई पठाइएको पत्रअनुसार महानगरले मर्मतमा खटिएका कर्मचारीमाथि अभद्र व्यवहार समेत गरेको थियो । पत्रमा भनिएको छ, ‘…यस विभागबाट त्यस महानगरपालिकाको प्रशासन शाखामा कार्यादेशमार्फत जानकारी गराइएको सो अनुरुप कार्य गर्दै जाँदा आधी काम सम्पन्न गरी छानामा त्रिपाल लगाउने क्रममा त्यस महानगरपालिकाको कर्मचारी श्री कृष्णराज विष्ट, नाता प्रमाणीकरण तथा पञ्जीकरण प्रमुख गणेशप्रसाद थपलिया, प्रशासन प्रमुख हरि कुँवर, शहरी व्यवस्था विभाग प्रमुख राज पाण्डे, डिएसपी, ज्ञानेन्द्रबहादुर कार्की, महानगरपालिकाका प्रवक्ताले सो कार्य रोक्का गरी कार्य सम्पन्न गर्न नदिएको र कार्य सम्पन्न गर्न जाँदा कामदारलाई अभद्र व्यवहार गरेकोले हाललाई कार्य अवरोध भएको व्यवहोरा जानकारी गराउँछु ।’

अदालतको आदेश

सर्वोच्च अदालतले २०७५ चैत ५ गते भूकम्पले क्षति पुगेको बागदरबारलाई आवश्यकता अनुसार हावापानीबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशको आदेशमा भनिएको छ, ‘…उक्त संरचनालाई थप हानी हुन नदिने कार्य र उपाय तत्कालै अवलम्बन गर्न गराउन नेपाल सरकार अर्थ मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाको नाममा निर्देशनात्मक आदेश समेत जारी गरिएको छ ।’

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित तीन जनाले उत्प्रेषण परमादेश माग गरेर दर्ता गरिएको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । निवेदक मध्येका एक सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ महानगरपालिकाले बागदरबार भत्काउने उद्देश्यले छाना मर्मत र त्रिपाल लगाउन नदिएको बताउँछन् ।

संरक्षणको जिम्मेवारी लिनुपर्ने महानगरपालिकाले अदालतको आदेश पालना नगरेको र पुरातत्व विभागले छाना मर्मत कार्य अगाडि बढाउँदा अवरोध गरेको श्रेष्ठको दाबी छ ।

अवरोध गरेका छैनौं : महानगरपालिका

काठमाडौं महानगरपालिकाले भने बागदबारको छाना मर्मतमा कुनै अवरोध नगरेको जनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल छानाको मर्मत कार्य जारी रहेको बताउँछन् ।

अदालतले रेट्रो फिटिङको आदेश दिएको र त्यसै अनुसार काम भइरहेको डंगोलको भनाइ छ । प्रवक्ता डंगोलले अनलाइनखबरसँग भने, ‘हामीले अदालतको आदेश नमान्ने भन्ने कुरै छैन ।’

काठमाडौं महानगरपालिकाले यसअघि बागदबार भत्काउने निर्णय गरेर भत्काउन ठेक्का समेत लगाइसकेको थियो । अदालतको आदेशपछि महानगरपछि हटेको थियो ।

त्यतिबेला अदालतले १५ दिन भित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा काठमाडौं महानगरपालिकाका, उपत्यका विकास प्राधिकरण, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिनिधि वा पुरातत्वविद, इतिहासकार, संचरनाविज्ञ, वास्तुविद, आर्किटेक्ट इन्जिनियर सम्मिलित विज्ञ टोली बनाउन परमादेश दिएको थियो ।

इतिहासकारहरूका अनुसार बागदबार अमरसिंह थापाको पालामा बनेको हो । इतिहासकार पुरुषोत्तमशमशेर राणाको पुस्तक ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ का अनुसार अमरसिंहले सानो दरबार बनाएका थिए ।

१२० रोपनी जग्गामा बुबाले बनाएको सानो दरबारलाई भीमसेन थापाले भव्य बनाउने काम गरे । राणाले पुस्तकमा लेखका छन्, ‘यही बेला भीमसेन थापाले धरहरा पनि बनाए । धरहरा र बागदरबारमा मुगल वास्तुकला भित्र्याएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment