Comments Add Comment

अन्तिम विश्वकप यादगार बनाउन चाहन्छन् मालिंगा

२२ जेठ, काठमाडौं । विश्वचर्चित फास्ट बलर लासिथ मालिंगा यसपालि आफ्नो क्रिकेट करिअरको अन्तिम विश्वकप खेल्दैछन् । यो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने घोषणा उनले पहिल्यै गरेका थिए ।

मालिंगा यो विश्वकपमा त्यति चम्किन सकेका छैनन्, जति अपेक्षा थियो । उनको टिम श्रीलंकाले तीन म्याचमध्ये दुईवटामा पराजय व्यहोर्‍यो भने प्रतियोगिताको सबैभन्दा कमजोर टिम मानिएको अफगानिस्तानमाथि जित दर्ता गर्‍यो । के आफ्नो अन्तिम विश्वकप मालिंगाले यादगार बनाउन सक्लान् त ?

उनले आईसीसीसँग भनेका छन्, ‘यो मेरो अन्तिम विश्वकप हो । योसहित चार विश्वकप मैले खेलेँ । नयाँ र युवा खेलाडीसँग खेल्न पाउँदा म धेरै खुशी छु । नयाँ खेलाडीसँग आफ्नो अनुभव बाँडिरहेको हुन्छु ।’

श्रीलंकाका मुख्य प्रशिक्षक चन्डिका हथुरुसिंघाको भनाइमा मालिंगाको भूमिका टिमका लागि निकै महत्वपूर्ण छ ।

यसैगरी विश्वकपमा श्रीलंकाको कप्तानी गरिरहेका दिमुथ करुनारत्ने मालिंगाबारे यसो भन्छन्, ‘उनी अनुभवि खेलाडी हुन् । योर्कर र बाउन्सर जुनसुकै पनि राम्रो गर्छन् ।’

मालिंगाका पूर्व टिममेट विश्व कीर्तिमानी ब्याट्सम्यान कुमार सांगाकारालाई भने एउटा रमाइलो क्षणको याद आउँछ । उनले सुनाए, ‘श्रीलंका क्रिकेटको लागि उनी एउटा अद्भत क्षमता भएका खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध चार बलमा चार विकेट लिएको पल अविष्मरणीय छ ।’

सन् २००७ सालको विश्वकप क्रिकेटमा सुपर आठको आफ्नो पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग एक विकेटले पराजित भएको थियो ।

तर यो खेलमा एकाएक विश्वभर छाएका थिए लासिथ मालिंगा । उनले लगातार चार बलमा चार विकेट लिएका थिए । उनको त्यो विश्वकीर्तिमान अहिलेसम्म कुनै पनि खेलाडीले तोड्न सकेका छैनन् ।

खेलको ४४.५ ओभरमा साउन पोलकलाई आउट गरेका मालिंगाले त्यो ओभरकै अन्तिम बलमा एन्ड्रो हललाई आउट गराएका थिए । त्यसपछि उनले ४६.१ ओभरमा ज्याक्स कालिसलाई आउट गर्दै ह्याट्रिक विकेट लिए ।

फेरि आफ्नो चौथो बलमा मखाय एन्टिनीलाई आउट गर्दै मालिंगाले कीर्तिमानी चार विकेट लिएका थिए ।

टी–२० विश्वकपको उपाधि श्रीलंकालाई जिताइसकेका मालिंगाको लागि यो विश्वकप निकै महत्वपूर्ण छ । उनी चाहन्छन्, देशलाई विश्वकपको ट्रफी दिलाएर बिदा लिउँ । तर श्रीलंकाको टिम निकै खस्किएको छ । पहिलेको स्तरका खेलाडी अहिले टिममा छैनन् ।

मालिंगाले विश्वकप क्रिकेटमा अहिलेसम्म ४३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment