+
+

सरकारले इटहरीका मेयरलाई कारवाही गर्नुपर्ने हो : रामप्रसाद चौलागाई

'पार्टीले कारवाही गरोस्, कानूनी कारवाहीका लागि अनुमति देओस्'

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १९:१६

२२ जेठ, इटहरी । रामप्रसाद चौलागाई इटहरीका पुराना कम्युनिष्ट नेता हुन् । अनि चौलागाई तिनै व्यक्ति हुन् जसलाई पार्टीको सपथ ग्रहण कार्यक्रममै पिटेको इटहरीका मेयर द्वारिकलाल चौधरीले ‘सगौरब’ बताउँदै आएका छन् ।

चौलागाईले खानेपानीको पाइप, ट्यांकी निर्माण र जग्गा खरिदमा भ्रष्टाचार गरेको  र ऐलानी जग्गा कब्जा गरेको हुनाले आफूले पट्काइदिएको मेयर चौधरीले बताउँदै आएका छन् ।

इटहरी निवासी चौलागाई नेकपाका नेता एवं इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्षसमेत हुन् । पूर्वएमाले नेता चौलागाई स्थानीय निर्वाचन अघिसम्म इटहरीको मेयरका दाबेदारसमेत मानिँदै आएका थिए ।

आखिर मेयर द्वारिकलाल चौधरीले चौलागाईलाई किन पिटे ? एउटै पार्टीमा रहेका पुराना सहकर्मी चौलागाई र मेयर चौधरीवीच विगतमा कस्तो सम्बन्ध थियो ? मेयरको पिटाइ खाएपछि अहिले चौलागाईले यो घटनालाई कसरी लिइरहेका छन् ? अनि नेकपाले इटहरीको यो विवादलाई कसरी हेरिरहेको छ ? यसबारे अनलाइनखबरले केही सोधखोज गर्ने प्रयास गरेको छ ।

पहिले सुनौं मेयरको पिटाइ खाएका चौलागाईको भनाइ उनकै शब्दमा-

म इटहरीमा कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेको ०३४ सालदेखि, रातोझण्डा समूह हुँदादेखि नै हो । उहाँ (द्वारिकलाल) ०४९ सालमा हाँसपोसा गाविस अध्यक्षको उम्मेदवार हुँदाखेरि वक्ताका रुपमा उहाँलाई जिताउन म आफैं पनि खटिएको हुँ । उहाँसँग मेरो सम्बन्ध बिग्रिनुपर्ने कारण मैले अहिलेसम्म केही पनि देखेको छैन । मैले केही गरेको पनि छैन । तर, एकाएक उहाँमा जंगीपन किन आयो, त्यो मैले बुझ्न सकिराखेको छैन ।

कसैको व्यक्तिगत स्वाभाव वा प्रवृत्तिका बारेमा मैले टिप्पणी गर्नु छैन । किनभने त्यो मानिसको आफ्नो निजी कुरा हो, त्यो मैले बदल्नोस् भनेर बदलिने कुरा पनि भएन । तर, मसँग उहाँको सम्बन्धको कुरा गर्दा त्यति धेरै उतार-चढाव भएर आजसम्म बिगि्रएर यो तहमा जानुपर्ने अवस्था, कारण, स्थिति मैले काँही पनि, कुनै पनि भेटेको छैन । उहाँलाई केही लागेको छ भने त्यो उहाँको निजी कुरा हो, तर म पार्टी र निर्णयको धरातलमा उभिएको छु, त्यसबाट म च्यूत हुने मान्छे होइन । त्यस्तो काम म कहिल्यै, कसैलाई पनि गर्दिनँ ।

जिल्लाको सपथ ग्रहणका बेलामा उहाँले ममाथि जे गर्नुभयो, त्यो सबै नेताहरुको वीचमा जगजाहेर छ । प्रदेश कमिटीका पदाधिकारीहरु सहितका वीचमा उहाँले घटना घटाउनुभएको छ । अब यसका बारेमा प्रदेशका नेताहरुले नै यस्तो भयो भनेर भन्नु उचित हुन्छ । किनभने, उहाँ आफैंले मैले यसो गरें भन्दै हिँड्नुभएको छ । मैलेचाहिँ उहाँले हातपात गर्नुभएन भन्ने ठाउँ रहँदै रहेन । उहाँले अभद्र व्यवहार र हातपात गरेकै हो । बाँकी कुरा, कुन ढंगले गर्नुभो, त्यहाँ कुन अवस्था थियो भन्ने कुराचाहिँ नेताहरुले बताउने कुरा हो ।

म इटहरीको खानेपानीमा १३ वर्षदेखि छु । त्यसको १३ गते बैठक बसेर सर्वसम्मत निर्णय गरेर १४ गते हामीले पत्रकार सम्मेलन गर्‍यौं । १४ गते विहान पत्रकार सम्मेलन गरेर उहाँले उठाएका कुनै पनि कुराहरु हामीले के भन्यौं भने पहिलो कुरा पाइनलाइन विस्तार ठेक्का अन्तरगत भयो, त्यसमा हाम्रो भूमिका छैन र त्यहाँ कुनै भ्रष्टाचार भएको छैन । दोस्रो, खानेपानी ट्यांकी निर्माणको काम साना शहरी खानेपानी अन्तरगत केन्द्रीय संघीय सरकारले टेण्डर आह्वान गरेको गरेको हुनाले त्यसमा हाम्रो सम्वन्ध छैन ।

बाँकी, जुन इटहरीको भविश्यका लागि दुईवटा जग्गाहरु किनिएको छ, त्यो सबै विधि प्रक्रिया पुर्‍याएर परिषदको बैठकबाट निर्णय गरेर त्यो आधारमा विभिन्न तहमा निर्णय गरेर २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेर सबैतिर आह्वान गरेर किनिएको छ । तीन ठाउँ आह्वान गरेकोमा दुई ठाउँमात्रै जग्गा प्राप्त भयो । गत वर्ष दुई ठाउँमा भयो, यो वर्ष तेस्रो ठाउँमा हामीले जग्गा किन्यौं । यसमा सबै नियम कानून प्रक्रिया सारा कुरा पुगेको छ । यो जग्गा खरिदमा कहीँ कसैले उजुर बाजुर गरेको अवस्था पनि छैन । मैले त के भनेको छु भने उजुरबाजुर गरे वा सम्बन्धित निकायले छानविन गर्न आएमा एकदमै प्रष्ट कुरा भन्छु- आयल निगमका गोपाल खड्काले जस्तो नियम कानून पुर्‍याएर संस्थालाई अहित हुने ढंगको काम गरिएको छैन । १ को ३ हालेर संस्थाको अहित हुने काम नियतवस गरेको भए त्यो पनि भ्रष्टाचार हो । म त्यो पनि सहन तयार छु ।

उहाँको कुरा तपाईहरुले सुन्नुभयो नि ‘त्यो मेयर बन्छ अरे’ भन्नुहुन्छ । प्रत्येक ठाउँमा उहाँले त्यो शब्द बोल्नुपर्ने कारण के छ ? यो उहाँले मेरो व्यक्तित्व किल गर्ने बाहेक अर्को केही पनि मैले देख्या छैन । ‘त्यो बाहुन कसरी मेयर बन्दोरहेछ त’ भनेर उहाँले धेरै ठाउँमा नश्लवादी संकीर्णताको पराकाष्टा देखाउनुभएको छ । बाइटमै पनि भन्नुभएको छ, मैले बाहुनलाई पिटें । उहाँ के भन्नुहुन्छ भने यी ‘भोजपुर-खोटाङतिरबाट आएका दश धुरेहरुले म भूमिपुत्रसँग कुरा गर्ने ? हँ ?’

यसरी एउटा शासक भएको अवस्थामा मिडियाकर्मी, जनता, देश, नेपालको संविधान भन्दा हा..हा गरेर खिल्ली उडाउने ? पार्टी नेता, जनयुद्ध, सबैलाई त्यसरी मुछेर, राष्ट्रिय अन्तरराष्ट्रिय सन्दर्भहरु जोडेर यसरी मैमत्त हुने अधिकार त मलाई जहाँसम्म लाग्छ संविधानले, कानूनले दिएको छैन होला ।

यो कुरामा अहिलेसम्म नेकपाका नेताहरुको आफैं ध्यानाकर्षण भएर उहाँहरुले नै स्टेप चाल्नुपर्ने हो । उहाँले मलाई कसले कारवाही गर्छ, तँलाई १० पल्ट पिटें भने पनि मलाई कसैले कारवाही गर्नेवाला छैन भनेर मलाई एसएसमएस लेख्नुभएको छ । यो त सिम्पल, भन्न मिल्ने एसएमएसमात्रै तपाईहरुलाई भनेको हुँ ।

अस्ति पनि उहाँले पत्रकारहरुलाई लोपार्ने, कठालो समाउने सारा कुराहरु गर्नुभयो र एकहप्ता अगाडिमात्रै माफ माग्नुभएको हो । शंकर पोखरेल र योगेश भट्टराईको भनाइ तपाईहरुले हेर्नुभयो होला । अब एकहप्ता पछाडि फेरि माफी दिने ? यो माफी दिएपछि आइन्दा नदोहोरिने ग्यारेन्टी कसले लिन्छ ? कालो मोसो घस्छु मात्रै हैन, तेरो लागि एक करोड रुपैयाँ छुट्याएको छु, तेरो नाक काट्नका लागि भन्नुभएको छ । उहाँले नाकै किन भन्नुभयो त ? उहाँभित्रको संकीर्णताको उद्वोध भएको हो त्यो । यो उहाँभित्रको नश्लीय कुरा प्रकट भएको हो ।

मैले पार्टीमा यसबारे ११ गते निवेदन दिएको छु । उहाँले अहिलेसम्म मलाई करिब ४ दर्जन एसएमएस गर्नुभएको छ, ती एसएमएसहरु अत्यन्त आपत्तिजनक र कुन स्तरको छ, तपाईले अञ्दाज गर्न सक्नुहुन्न । मैले पार्टीमा जम्मा तीनवटा कुराहरुको माग गरेको छु-
नम्बर एक- उहाँलाई पार्टीको विधान वमोजिम हदैसम्मको कारवाही गरियोस् ।

नम्बर दुई- उहाँलाई कानूनी कारवाही गर्नका लागि मलाई पार्टीबाट अनुमति प्रदान गरियोस् । किनभने उहाँले कानुन हातमा लिएर गरेको कुरामा कानूनले नै कारवाही गरियोस् भनेर पार्टीले अनुमति दिनुपर्‍यो । कि पार्टीले मेयरलाई छाडा छाडेको भन्नुपर्‍यो । हैन भने पार्टीले नै यसलाई कानूनी कारवाही गरियोस् भनेर अनुमति दिनुपर्‍यो ।

नम्बर तीन- मैले पार्टीसँग के माग गरेको छु भने संविधान र प्रचलित ऐन कानुनवमोजिमका निकाय र संस्थाबाट छानविन गरी/गराई सत्य तथ्य सार्वजनिक गरियोस् । दोषी भेटिए कारवाही गर्ने । र, यदि यो मिथ्या कुरा हो भने यसको खण्डन पनि गरिनुपर्‍यो । मैले पार्टीसँग यी तीन बुँदामा मागहरु राखेको छु । पार्टीसमक्ष मेरो भद्रतापूर्वक जम्माजम्मी यीनै तीनवटा मागहरु रहेका छन् । नेताहरुले यसमा भोलिको समय दिनुभएको छ ।

मैले नेकपाका नेताहरुलाई के भनेको छु भने मलाई न्याय गर्नुहुन्छ भने गर्नुहोस्, हैन भने मैलाई कारवाही गरेर पार्टीबाट निकाल्नोस् र उहाँलाई पाल्नोस् मलाई केही छैन । तर, यसरी खुल्लारुपले, नांगो रुपले छोड्ने कुराचाहिँ राम्रो होइन भन्ने मेरो अनुरोध हो । म यसमा प्रष्ट छु । म लोकतान्त्रिक विधि र पद्दतिमा विश्वास गर्छु । म बाट कुनै गल्ती भएको छ भने क्षम्य गल्ती छ कि, अक्षम्य गल्ती छ कि सम्बन्धित निकायले खोज्ने हो । तर, मान्छेलाई जे मन लाग्यो त्यो बोलेर चरित्रमाथि प्रश्न उठाउने कुरा सैह्य हुँदैन । नेपालको ऐन, कानून संविधान र अदालत के हो भनेर हिजो उहाँले अदालतलाई समेत आलोचना गर्नुभएको छ । उहाँ आफैं अदालत हो ?

अब यतिसम्मको अराजकतालाई सरकार आफैंले टिप्पणी बनाएर पक्रेर कारवाही गर्नुपर्ने हो । बाँकी योभन्दा बढी मैले के भन्ने ?

रामप्रसादका बारेमा नराम्रो सुनिएको छैन : भीमज्वाला

मेयर चौधरीको पिटाइ खाएका चौलागाईको कुरो सुनिसकेपछि हामीले पत्रकार पृष्ठभूमिका नेकपाका सुनसरी जिल्ला नेता भीमज्वाला राईलाई सोध्यौं रामप्रसाद चौलागाई कस्ता व्यक्ति हुन् ? र, सपथ ग्रहण समारोहमा मेयर चौधरी र चौलागाईवीच कस्तो विवाद भएको थियो ?

नेकपा नेता राईले यस्तो प्रतिक्रिया दिए-

सुनसरीमा नेकपाको सपथग्रहण कार्यक्रममा म पनि सहभागी थिएँ । बाहिर उहाँहरुवीच विवाद भएछ । अघिअघि रामप्रसाद, पछिपछि द्वारिकलाल रिसाउँदै मञ्चमा आए । मञ्चमा पुगेर औंला ठडाठड गरे । त्यसपछि हामीले करायौं, योचाहिँ तपाईहरुको विवाद मञ्चमा ल्याएर देखाउने कुरा होइन । कि माइकमै बोल्नोस्, कि बाहिर गएर झगडा गर्नोस् ।

हामीले त्यतिसम्म देखेका हौं, हातपात गरेको चाहिँ हामीले देखेनौं ।

विगत हेर्दाखेरि द्वारिकलाल चौधरी एकदमै उदार र खुला दिलका मान्छे हुन् । अरु जनप्रतिनिधिहरु अनियमिततामा फस्दै गर्दा उनले चाहिँ हाँसपोसा गाविसमा राम्रो काम गरेका हुन् र त्यही भएर जनताले विश्वास गरेका हुन् ।

यसपटक मेयर भइसकेपछि सीएफएलको काण्ड आएको थियो, पछि त्यो अनियमितताको मुद्दा अख्तियारमा पर्‍यो । अख्तियारले अनुसन्धान गर्दा उनीचाहिँ कुनै पनि हिसाबले संलग्न नभएको भन्दै उनले अख्तियारबाट क्लिन चिटै पाएका हुन् । त्यो केसमा मिडियाले अलिकति बढी खेदो पनि गरे । त्यो काण्डको प्रचार-प्रचार मिडियामा व्यापक भयो । तर, त्यो अनियमिततामा उपमहानगरपालिकाका कर्मचारीहरुको संलग्नता देखियो । त्यहाँ धेरै कर्मचारीहरु मुछिएको पाइयो ।

त्यसपछि काम गर्दै जाने क्रममा कर्मचारीहरुको त्यही भ्रष्ट मनोवृत्तिकै कारणले हुन सक्ला वा उनलाई अन्य केही असहज भयो होला । कर्मचारीबाट पनि सहयोग भएको र मिडियाबाट पनि निरन्तर निगरानी भैराखेको अवस्थामा उनी अलि इरिटेड भएर पनि यस्तो भएको हुन सक्छ । उनले बोलेका शब्दहरु सुन्दा उनले भ्रष्टाचारीलाई कुनै पनि हालतमा म एस्क्युज गर्दिनँ, भ्रष्टाचारीलाई म फूलमाला लगाएर घुमाऊँ ? भन्ने कुरा सुनिन्छ । यसरी भ्रष्टाचारमुक्त बनाउने उनका कुरालाई त राम्रै मान्न सकिन्छ । तर, प्रयोग भएका केही शब्दहरु चाहिँ त्यो ओहोदामा भएको मान्छेले नबोल्दिए हुन्थ्यो । नाकै भाँचिदिन्छु भन्ने कुरा हाम्रो राजनीतिक संस्कार पनि होइन, नेकपाको सदस्यले त झन् त्यस्तो बोल्न मिल्ने कुरै भएन ।

अर्का नेता रामप्रसाद चौलागाई खानेपानीमा छन् । पार्टीका हामी एउटै कमिटीमा छौं । उनीसँग पनि मेरो पुरानै चिनजान हो । उनी पनि पार्टीका पुराना मान्छे हुन् । रामप्रसादले पनि अहिलेसम्म भ्रष्टाचार वा अनैतिक काम गरेको सुनिएको छैन । उनी त्यस्ता होइनन् । खानेपानीको चुनावमा पनि उनले बहुमतै पाएर जितेका हुन् । उनको बारेमा कुनै नराम्रो कुरा सुनिएको छैन ।

द्वारिक र रामप्रसादको विवादमा पार्टीलाई जोड्ने फरक कुरा भयो, तर उनीहरुवीच व्यक्तिगत कुरा हुन सक्छ । एउटै नगरमा भएको हुनाले कतिपय आकांक्षाले पनि काम गरेको हुन सक्ला । एउटै पदमा आकांक्षा पनि थियो होला । पार्टीभित्र कुनै विचार समूहको पनि कुरा हुन सक्ला । तर, जुन तहबाट आरोप-प्रत्यारोप भैरहेको छ, त्यो चाहिँ नगर्दिए हुने हो ।

 

000

मेयर चौधरीले चौलागाईंलाई भ्रष्टाचारी र दलालको संज्ञा दिएका छन् । आफ्नै पार्टीका भ्रष्टाचारीविरुद्ध सांस्कृतिक क्रान्ति सुरु गरेको र पाटी प्यालेसमा चौलागाईंलाई कुटेर क्रान्ति सुरु भएको मेयरले बताएका छन् । चौलागाईंले सार्वजनिक जग्गा मिचेको समेत मेयरको आरोप छ । यसैबीच कतिपय मिडियामा आफूबारे प्रकाशित समाचारको खण्डन गर्दै चौलागाईंले यस्तो बयान दिएका छन्–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?