+
+
Shares

विकासको बद्नामः पृथ्वीचोकमा नाली खन्दै पुर्दै

अमृत सुवेदी अमृत सुवेदी
२०७६ जेठ २३ गते २१:३१

२३ जेठ, पोखरा । विकास खर्चबारे एउटा भनाइ उदृत गर्ने गरिन्छ, ‘पहिले पोखरी खन्न बजेट पारियो । पछि त्यो ठाउँमा पोखरी उपयुक्त छैन भनेर पुर्न फेरि बजेट पारियो ।’

पोखरामा यस्तै भएको छ । सडक फराकिलो बनाउने भन्दै खनिएको नाली २ हप्तापछि फेरि डोजर लगाएर पुरिएको छ ।

पोखरा बसपार्कको अघिल्तिर यातायात कार्यालय छिर्ने गेटनेरबाट चाइनिच पुलसम्म सडक फराकिलो बनाउन डोजर लगाइएको थियो । नाली हटाएर अर्को बनाउने र सडक चाक्लो बनाउने भनियो । सडक फराकिलो हुने भएपछि स्थानीयबासीले धुलो, हिलो सहे ।

डोजर लगाउन सुरु गरेदेखि शान्ति वनवाटिका क्षेत्रबाट चाइनिज पुलनेर निस्कने बाटोसमेत बन्द भयो । ढल निकासको अर्को व्यवस्था गरेर सडक फराकिलो हुन्छ भन्ने विश्वासमा बसेका व्यक्ति त्यतिबेला चकित परे, जब दुई हप्तापछि डोजरले नाली पुर्न थाल्यो । ‘नाली खन्न डोजर लगाइएपछि धुलो र हिलोले खपिनसक्नु थियो । विकासको काम भइरहँदा यस्तै हो भनेर सहेर बस्यौं,’ त्यही ठाउँमा व्यापार गरिरहेका लोक पुनले भने, ‘तर कहीँ नदेखिएको जात्रा यहीँ देख्नुपर्यो ।’

संघीय आयोजना कार्यान्वयन इकाईको ठूला सहरी करिडोर निर्माण कार्यक्रम अन्तर्गत ढल निकासका लागि नाली खन्ने र फुटफाटबाट गाडी छुट्ने ठाउँमा ढलान गर्न सरस्वती निर्माण सेवालाई ३८ लाख ७० हजारमा ठेक्का दिएको थियो ।

तर, कार्यान्वयन इकाइ र सडक भिडिजन कार्यालयबीच समझदारी नहुँदा झन्डै १३० मिटर नाली खनेर पुरिएको छ । सडक डिभिजन कार्यालयले सडकदेखि साढे १४ मिटर छोडेर काम गर्न भनेर परिपत्र गरेपछि खनिएको नाली पनि पुरिएको हो ।

नाली खन्नु अगाडि सडक डिभिजन कार्यालयको सहमति भएपनि अहिले नयाँ परिपत्र गरेको संघीय आयोजना कार्यान्वयन इकाई पोखराका प्रमुख नारायण भण्डारीले बताए ।

सडक डिभिजन कार्यालयका हरिप्रसाद पोखरेलले भने सडकबाट १÷२ मिटरमात्र छाडेर काम थालेपछि १५ मिटर छाड्न आग्रह गरेको बताउँछन् । पृथ्वी राजमार्ग ४ लेनको बनाउने योजना अगाडि सारिएको छ । भोलि ४ लेनको सडक बनाउँदा फेरि अहिलेको नाली हटाउनु पर्ने भएकाले काम रोक्न पोखरेलले सुनाए ।

ठेकदारले माग्यो क्षतिपूर्ति

दुई कार्यालयबीचको समन्वय नहुँदा नाली खनेर पुरिएपछि स्थानीय र यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्ज, बर्दिया, धनगडी, दिपायल लगायत नेपालको पश्चिमी ठाउँका लागि त्यहीँबाट गाडी छुट्छ ।

पानी पर्दा हिलोले हिँडिनसक्नु हुन्छ भने घाम लाग्दा धुलाम्ये । त्यही ठाउँमा माछा पसलहरु पनि छन् । माछा धोएर जाने पानीको पाइप डोजरले काटिदिएपछि अहिले दुर्गन्धले बसिनसक्नु भएको स्थानीय गीता रिमालले गुनासो गरिन् । ‘कुरै बुझ्न सकिएन । नाला सार्ने भन्थे । अहिले यो बिजोग भोग्नुपरेको छ । पाइपहरु फुटेका छन् । दुर्गन्ध उत्तिकै छ । व्यापार पनि आधा घटिसक्यो,’ रिमालले भनिन्, ‘कसले बुझ्ने हाम्रो समस्या ।’

भइरहेको राम्रो ठाउँ बिगारेर बिजोग गराएको हेम थापा बताउँछन् । ‘नाली खनेर अलपत्र छोडियो । हामीले ताकेता गरेपछि दुई हप्तापछि पुरेको छ । तर, यो हिलोमा न कोही हिँड्छ, न कोही सामान किन्न आउँछ,’ थापाले भने ।

डोजर लगाएपछि अब त्यो ठाउँ भने उस्तै बेहाल हुने देखिएको छ । मिल्दो जुल्दो काम पाए ठेक्का दिने नत्र ठेक्का नै रद्ध गर्ने संघीय आयोजना कार्यान्वयन इकाईले तयारी गरेको छ । पोखरा आउ–जाउ गर्ने मुख्य चोक तथा राजमार्गकै छेऊमा त्यस्तो कन्तविजोग देख्नु, भोग्नु परेकोमा पोखरेली चिन्तित छन् ।

ठेकेदार कम्पनीले भने क्षतिपूर्तिको माग गर्दै काम नगर्ने बताएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?