Comments Add Comment

प्रधानमन्त्रीको बेलायत यात्रा : गोर्खा भर्ती हटाउने कि ?

नेपाली पहिचानलाई चौकीदार बनाउने स्रोत हो गोर्खा भर्ती

नेपालका प्रधानमन्त्री बेलायतको भ्रमण गर्न जान लाग्नुभएको छ । युरोपका अरु देशहरुको पनि भ्रमण गर्ने योजना बनाएका प्रधानमन्त्रीले विगत केही समयदेखि भारत र चीनको कूटनीतिमा सीमित भएको नेपाललाई विश्व मानचित्रमा अलि चलायमान बनाउन प्रयत्न गर्ने चाहना रहेको प्रष्टिन्छ ।

यसक्रममा नेपाली गोर्खाहरुले भोगेका समस्याहरु बेलायत सरकारसँग उठाइदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । ती समस्याका कुरा उठाउनैपर्छ र समाधान गर्न पहल गर्नुपर्छ । तर, हाम्रो पराधीनताको चुरोको रुपमा रहेको यो गोर्खा भर्तीलाई औपचारिकरुपमा अन्त्य गर्न प्रधानमन्त्रीको भ्रमणको अवसरमा सुरुवात गरिनु देशको हितमा हुन्छ ।

हामीलाई सानैदेखि गोर्खा भर्ति बन्द गर भनेर नारा जुलुस लगाउन सिकाउने राजनीतिक दलको झण्डै दुईतिहाइको प्रचण्ड बहुमतसहितको सरकार भएका बेला यो समस्या समाधान गर्नुपर्छ र इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ ।

नेपाली पहिचानलाई चौकीदार बनाउने मुख्य स्रोत नै सुगौली सन्धिले थोपरेको गोर्खा भर्ती हो । पराधीनताको सुरुवात पनि यसै चलनबाट भएको हो

प्रधानमन्त्रीको भ्रमणले नेपालको सांस्कृतिक स्वाभिमान र मौलिक समृद्धिको अभियानमा कसैको गिद्दे नजर नपरोस् बरु सहयोग मिलोस् भन्ने कुरामा विशेष जोड हुनु आवश्यक छ ।

यो सवालमा सबैभन्दा खड्किएको कुरोचाहिँ विगत २०० वर्षदेखि चली आएको र उपनिवेशकालको एउटा सबैभन्दा निक्रिष्ट उदाहरणका रुपमा रहेको बेलायती सेनामा नेपाली जनजाति युवाहरुलाई गोर्खा भर्तिका नाममा पठाउने चलनको अन्त्य गर्नु नै नेपाली स्वाभिमानको विकास गर्ने एउटा ठूलो अभिभारा हो ।

नेपालीले अपमानित महसुस गर्ने यो उपनिवेशकालको चलनलाई अन्त्य गर्नतर्फ कुनै ढंगको सुरुवात गराउने कुरामा प्रधानमन्त्रीको भ्रमण सफल रहोस् । भ्रमणको शुभकामना छ ।

गोर्खा भर्ती के हो ? किन बन्द गर्ने ?

एकजना इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीले जनतामा दुई तरिकाले दासत्व सिर्जना गरिन्छ भन्ने देखाएका छन् । पहिलो तरिका भनेको प्रत्यक्षरुपमा जनतालाई अधीनमा राखेर अथवा दमनका मध्यमबाट बाध्यताको अवस्था सिर्जना गरेर । र, दोस्रो तरिका चाहिँ जनतालाई आफू दासत्वको अवस्थामा भएको कुरा थाहा नपाउने अवस्था तयार गरेर अथवा आफ्नो मालिक नै आफू भन्दा सर्वश्रेष्ठ हो भन्ने भ्रम जनतामा जगाएर ।

नेपालको गोर्खा भर्तीको इतिहास यी दुवै विधिहरु अपनाएर कायम गरेको देखिन्छ । पहिला–पहिला गोर्खा सेनाको रुपमा काम गर्न बाध्य पारियो, अहिले युवालाई स्कुल कलेज छाडेर डोकामा ईंट्टा हालेर तालिम गर्दै गोर्खा भर्तिको सपना देखाउँदै विहान–विहान दौडिन प्रेरित गरिन्छ ।

डा. दिनेश पौडेल

गाउँमा केन्द्रित गल्लावालाहरुको चहल–पहल अचेल शहरहरुमा व्यापक देखिन थालेछ । खाइलाग्दा, सम्पन्न देखिने र बोर्डिंग स्कुलहरुमा पढेका जस्ता लाग्ने युवाहरुको हुल डोकामा ईंट्टा बोकेर कपनको उकालोमा दौडिँदै गरेको दृश्य दिनहुँजस्तो देखिन्छ । त्यसरी दौडाउने तालिम दिने गल्लावालाहरुले बेलायती सेनामा तालिम दिँदा गाउने गीतसमेत डाँडै थर्किने गरी गाउन लगाउँदा रहेछन् ।

सबैले बेलायती सेनामा भर्ना पाउलान्, नपाउलान् । तर, यी होनाहार युवाहरुलाई विदेशी सेनामा भर्ना हुने तिर्खा जगाउने विगत २०० वर्षदेखिको निरन्तरतामा कुनै कमी आएको छैन ।

नेपालको विगतदेखिको आन्तरिक सामाजिक, राजनीतिक हलचलमा र विशेषखालको भूराजनीतिक अवस्था सिर्जना गर्नमा युरोपियनहरु, विशेष गरी बेलायतीहरुको ठूलो भूमिका छ । विगतमा विकास आयोजनाहरुमा ठूलो लगानी गरेका युरोपियनहरु अहिले अलि धार्मिक र सामाजिक परिवर्तन गराउने कुरामा मात्रै अलि बढी ध्यान दिने अवस्थामा पुगेका छन् ।

उपनिवेशकालको अन्त्य भएको दशकौं भइसक्यो । विश्व राजनीति फेरिएर पहिले उपनिवेशको जालोमा परेका देशहरु अहिले विश्व थर्काउने शक्तिराष्ट्र भइसके । एसिया महादेश संसारको आर्थिक राजनीतिक केन्द्रका रुपमा उदाइसक्यो । नेपाल तथा हिमालय क्षेत्र यी गतिविधिको केन्द्र भाग बन्ने गतिमा जान थालि सक्यो ।

अझै पनि अर्को मुलुकको सेना भएर काम गर्न सरकारीतवरबाटै उपनिवेशकालको पराधीनतालाई निरन्तरता दिँदै गोर्खा भर्ती कायम राख्नुले नेपालको बेइज्यत भएको छ र नेपालीको स्वाभिमानमा ठूलो आँच आएको छ ।

उपनिवेशकालपछि नेपाल मात्रै संसारमा एउटा यस्तो देश हो, जो इतिहासमा कहिल्यै उपनिवेश भएन । तर, हालसम्म नै उपनिवेशवादीहरुको भाडाको सेना भएर काम गरिराखेको छ । अब पनि यो चलनको अन्त्य नगर्नु हाम्रो लाचारीपनाको पराकाष्टा नै हुन्छ । राष्ट्रिय सहमति कायम गरेर अहिलेको सरकारले यो दायित्व पूरा गर्ने आँट गर्नुपर्छ ।

नेपालको वैभव, विस्तार र स्वाभलम्वनमा सन् १८१६ को सुगौली सन्धिपछि सुरु भएको ओरालो लाग्ने क्रम कहिल्यै रोकिएन । सुगौली सन्धिपछि नेपाल आफ्नो ठूलो भूभाग गुमाएर बेलायती छत्रछाँयामा रहने एक ढंगको अर्ध औपनिवेशिक अवस्थामा मात्रै पुगेन, गोर्खा भर्ति जस्ता जनमानसमा नै पराधीनताको सोच र संस्कृति विकास गर्ने सबै भन्दा तुच्छ काममा नेपाली जनतालाई होमियो ।

बेलायतका तर्फबाट नेपाली गोर्खाहरुले ठूला विश्वयुद्धहरु लडे । लाखौँ नेपाली युवाहरु ती लडाईहरुमा मरे, जसका कारणले हजारौं नेपाली बस्तिहरु उजाड बने । इतिहासको सबैभन्दा बढी दुख कस्ट व्यहोरे । आजसम्म यो क्रम जारी छ ।

पहाडी बस्तिका राष्ट्रवादी जनजातिहरुको इमान्दारितालाई गोर्खा भर्तिजस्तो उपनिवेशवादी कलंकका लागि दुरुपयोग गरियो । नेपालको एकीकरण गर्ने अभियानदेखि लिएर बेलायती सम्राज्यवादलाई पटक– पटक परास्त गर्न सफल नेपालका जनजाति युवाहरुलाई षड्यन्त्रमूलक ढंगले उपनिवेशवादको भाडाका सिपाही बनाउनमा नेपाली शासकहरु र बेलायती साम्राज्यवादीहरु दुवै जिम्मेवार छन् ।

बेलायतलाई इमान्दारितापूर्वक उसको साम्राज्य विस्तार गर्न लडाई गरिदिने युवा चाहिएको थियो भने नेपाली शासक वर्गलाई आन्तरिक विद्रोहको सम्भावनालाई कमजोर बनाई बेलायती साम्राज्यको चाकरी गरेर जसरी पनि आफ्नो सत्ता जोगाउनु थियो । यी दुवै प्रयोजनका लागि गोर्खा भर्तिजस्तो अपमानित अभ्यासलाई निरन्तरता दिइयो ।

नेपाली जनजाति समुदायको आफ्नो कामप्रति इमान्दार रहने क्षमता, छलकपट नगर्ने बानी र अर्काको कुभलो कहिल्यै नचिताउने गुणलाई ‘लडाकु’ र ‘बहादुर’ जस्ता शब्द लगाएर अपमानित गरियो । लडाइँ गर्नु र काटमार गर्नु नेपालीहरुका लागि सामान्य कुरा हो भन्ने ढंगले हाम्रो समाजको ब्याख्या गरे ।

उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न हामीलाई दुरुपयोग गर्ने गरी नेपालीलाई हौस्याएको कुरालाई हामीले आफ्नो बहादुरी ठान्दै आएका छौं । बेलायतले शत्रु ठानेका मान्छेहरु हामी नेपालीका शत्रु थिएनन् र अहिले पनि छैनन । तर, गोर्खा लडाकु बनेर ती मान्छेका विरुद्ध लडाई गर्ने र मार्नेमर्ने क्रम जारी राखियो । इतिहासको यो बिडम्बना अहिले पनि जारी रहनु नेपाली आत्मसम्मानको खिल्ली उडाउनु नै हो ।

वस्तवमा नेपालीहरु ‘लडाकु’ होइनन् । जतिबेला पनि मार्न र मर्न तयार हुने हिंस्रक होइनन् । नेपाली युवा र कहित्यै त्यस्ता थिएनन् । आफ्नो स्वाभिमानमा आँच आउन नदिने तर एकआपसमा अन्योन्यास्रित सम्बन्ध कायम गरी जीवन निर्वाह गर्ने अत्यन्त मिलनसार नेपाली जनजातिलाई खुकुरीसँग दाँजेर लडाकु अथवा बहादुर बनाइनु ठूलो अपमान भएको थियो ।

इतिहासमा नेपाली जातिले कहिल्यै हिंसा गरेको पाइँदैन । बरु अरुले आफूमाथि गरेको हिंसाको प्रतिकार मात्रै गरेको देखिन्छ । उनीहरुले दासत्व कहिल्यै स्वीकार गरेनन् । तर, गोर्खा भर्तीजस्तो अपमानजनक अभ्यासमा उनीहरुलाई सदियौंदेखि फसाइयो र अर्काका लागि लड्नुलाई बहादुरीपन हो भन्ने बुझाइ बुझ्न बाध्य पारियो ।

गोर्खा भर्ति बेलायतमा मात्र नभएर पहिलेका बेलायती उपनिवेशजस्तै भारत, ब्रुनेई, हंगकंग, सिंगापुरहरुले समेत कायम राखेका छन् । मलेसिया, मकाऊदेखि बैदेशिक रोजगारीमा जाने अधिकांश ठाउँहरुमा नेपालीलाई सेक्युरिटी गार्डका रुपमा मात्रै चिन्ने गर्छन् ।

भारतमा भर्खरै सम्पन्न चुनाबको शिलशिलामा नेपालीहरुलाई व्यंग्यका रुपमा प्रयोग गरियो र नेपाली पहिचानलाइ भारतीय चौकीदार भनेर अपमानित गरियो । अहिले विभिन्न देशहरुले आफ्नो सेनाको भरियाको रुपमा नेपालीलाई प्रयोग गर्ने चलन बढेको छ । नेपाली सेनाबाट जागिर छाडेरै सेक्युरिटी गार्ड बन्न जाने चलन ह्वात्तै बढेको छ ।

नेपाली पहिचानलाई चौकीदार बनाउने मुख्य स्रोत नै सुगौली सन्धिले थोपरेको गोर्खा भर्ती हो । पराधीनताको सुरुवात पनि यसै चलनबाट भएको हो । अब यो अपमानबाट मुक्ति पाउन नेपाल घनिभूत तरिकाले लाग्नै पर्छ ।

विदेशी पैसा भित्र्याउन, बेरोजगारीको समस्या समाधान गर्न र आर्थिक उन्नति गर्न अरु विकल्प छैन, त्यसैले गोर्खा भर्तिको अन्त्य गर्नु हुदैन भन्ने तर्क पनि आउन सक्छ । तर, रोजगारीका लागि अन्य हिसाबले बिदेशिने क्रम चलेकै छ, ठूला प्राविधिक क्षमताका र आफ्नो वौद्धिक उन्नतिका साथ बिदेशी जागिर खान जान सक्ने नेपाली युवालाई चौकीदारका रुपमा सीमित राख्ने यो भर्तीलाइ बन्द गरेर अरु तरिकाहरु खोज्नु राम्रो हुन्छ । नेपाल र नेपालीको चौकीदारी पहिचानलाई अन्त्य गर्न यो उपनिवेशकालीन चलनको अन्त्य गरी नयाँ सोचमा नेपाल पुग्नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment