+
+
Shares

धार्मिक ग्रन्थ पुनर्लेखन गर्ने कि यतिकै स्वीकार्ने ?

मायामितु मायामितु
२०७६ जेठ २५ गते १२:१८

कुनै कुरा लेखिनु तात्कालिक समाजका लागि आवश्यक हुन सक्छ । तर, सयम गुज्रँदै गएपछि सामाजमा त्यसले कति गहिरो छाप छाड्छ भन्ने कुरा हिन्दु समाजलाई हेरे हुन्छ । छुवाछुत, जातअनुसारको समाजिक विभेद र महिलामाथि अनन्त हिंसाको श्रृंखला । धर्मग्रन्थका कतिपय सन्दर्भकै कारण आज पनि आज आएर हिन्दु समाज अनेक विकृतिको जालोमा परिरहेको छ ।

इतिहासमा ती ग्रन्थ लेखिनुका आफ्नै कारण थिए । ती कारण नखोतली र तत्कालीन परिवेशमा त्यसलाई नहेरि आज पनि जस्ताको तस्तै ती कुराहरुलाई स्वीकार गर्नुका पछाडि हिन्दु समाजले निकै ठूलो पीडा बेहोरेको छ । यस्तो अवस्था अन्य धर्महरुमा पनि छ । तर, आफू हिन्दु नारी भएका नाताले आफूले अनुभव गरेका कुरा मात्र व्यक्त गर्नु वान्छनीय हुन्छ ।

आज हामीले प्रयोग गरिरहेका धार्मिक कार्यहरु मध्ये कतिपय कृयाकलाप समय, चेतना र परिवेशमा हास्यास्पद र असान्दर्भिक छन् । तैपनि धर्मका नाममा हाम्रो समाजलाई त्यसलाई शीरोधार गर्दै आएको छ । मुख्यतः पौराणिक ग्रन्थका पुरुष पात्रका उच्छृङ्खल चरित्र आज पनि उच्च अनुशासन र सभ्यताकाको दस्तावेज मानिन्छ भने त्यहीखालको काम गर्ने महिलालाई उच्छृङ्खल र असभ्य रुपमा बखान गरिँदैआएको छ ।

मायामितु

रामायणमा धनुष भाँचेको आधारमा सीताले रामसँग विवाह गर्नु परेको उदाहरण पढ्न पाइन्छ । महिलालाई शूपर्णखा र त्यस्तै कुरुप उपमा दिइएको छ । पुरुष जंगलमा घुम्न हुने महिलाले चाँहि लक्ष्मण रेखामा बस्नुपर्ने, बालीले आफ्नै बुहारीलाई पत्नी बनाउने, सीताले सतित्व कायम देखाउन अग्निपरीक्षा दिनु पर्ने थुप्रै मिथकले रामायण पढेर सुनेर हुर्केको नेपाली समाजलाई अब कस्तो संस्कार सिकाउला ?

महाभारत अझ एक पाइला अघि छ । रातविरात कृष्णले गोपिनीहरुसँग रासलीला मच्चाएका छन् । राधा जेठो मामा अयन घोषकी पत्नी भएकीले जेठी माइजूसँग प्रेम र रुक्मिणीलाई बिहे गरेका छन् । कुन्तीले बिहे अगाडि नै अबैध बच्चा कर्ण जन्माएर बगाएकी छन् । स्वयम पाण्डु र धृतराष्ट्र पनि नाजायज सम्बन्धबाट जन्मेका हुन् । मत्स्यगन्धा बिहे पहिल्यै वेदव्यासबाट बलात्कारमा परी गर्भवती भइन् । राजसभामा द्रौपदीलाई नाङ्गै बनाइयो । एउटी द्रौपदीलाई पाँच पुरुषकी साझा पत्नी बनाइयो । अन्धा धृतराष्ट्रसँग बिहे गरेकै कारण गान्धारीले जीवनभर आँखा टाल्नु परेको पाइन्छ ।

धार्मिक ग्रन्थमा जताततै राजकुमार र ब्राहमण बालकहरु धार्मिक शिक्षा र युद्ध कौशल हासिल गर्न गएको, उच्च शिक्षा ग्रहण गरेको कुरा पढ्न पाइन्छ तर कहिँ पनि युवतीले या छोरीले उच्च शिक्षा हासिल गरेको प्रसङ्ग उल्लेख गरेको पाइँदैन । त्यो समयमा नारी शिक्षाको अवधारणा थिएन होला मान्न सकिन्छ तर अब के त्यही सिकाउने त हाम्रा नव पुस्तालाई ? बालबिवाह गर्न प्रेरित गर्ने ७० वर्षे महादेवको कहानीमा भगावन श्री महादेवको जय जय भन्दै स्तुति गाउने कि सुधार गर्ने ? पाश्चत्य समयको मिथकीय कथालाई जस्ताको तस्तै पढाउँदा त्यसले हाम्रा बालबालिकाको कलिलो मस्तिष्कमा नकारात्मक असर पार्छ कि पार्दैन ?

श्रीमद्भागवतमा माता लक्ष्मीलाई बिष्णुको गोडा मलिरहेको मात्र देखाइएको छ । देवराज ईन्द्रले आफ्नै गुरु बृहस्पतीको पत्नी भगाएका छन् । ईश्वरहरू हमेशा नर्तकीहरुको नग्न नृत्य हेर्छन् । पुरुष बलबान् र महिला मनोरञ्जनको साधन बनाइएको छ । नारीले परपुरुषलाई सिधा नजरले नहेरुन्, पूरै शरीर ढाकुन् भनिएको छ । तर, पुरुष पुरै स्वतन्त्र छन् । महेश्वरको ध्यान भङ्ग गर्न कामदेव र यौनको प्रयोग गरिएको छ । श्रीस्वस्थानी ब्रतकथामा वर्णन गरिएका यौन प्रसङ्ग त बजारमा भेटिने सस्ता यौनकथा जस्ता लाग्छन् आजभोलि । ७ वर्षे बालिकालाई ७० बर्षे शिवले बिहे गरेका छन् । व्रतको प्रसाद पुरुष (छोरा नभएपनि बरू मितछोरालाई दिन, नभए नदीमा बगाइदिन भनिएको छ ) तर छोरीलाई दिन कतै भनिएको छैन । शिवले ब्राम्हण पत्नीहरुले नुहाइरहेको ठाउँमै हस्तमैथुन गरेका छन्, वीर्य मिसिएको पानी गल्तीले सेवन गरेर ब्राम्हणीले गर्भधारण गरेका छन् ।

सबैभन्दा ठूलो दान नै कन्या दान रे । यस्ता यावत गलत कथानक पुराण बोकेको संस्कार र संस्कृतिमा हुर्केको समाज कसरी नैतिकवान् र सभ्य हुनसक्छ ?

कामदेवको रासलीला सबिस्तार बर्णन गरिएको छ । अचम्म त यो छ कि, अझ जबजब स्वस्थानी ब्रतकथा भन्ने समय आउँछ । त्यतिबेला स्वास्थानी ब्रतकथाले महिलालाई हिंसा गरेको छ भनेर पत्रपत्रिकामा लेख्छौं, रेडियो टेलिभिजनमा समाचार सुन्छौ, हेर्छाै । रेडियो टेलिभिजन जस्ले स्वस्थानी व्रतकथा महिला हितको पक्षमा छैन भनेर समाचार बजाउछन् तिनै रेडियो टेलिभिजनमा धारावाहिक रुपमा एक महिनासम्म स्वास्थानी कथा वाचन गरिन्छ ।

तर, कुनै पनि रेडियोले यो अहिलेको समय सापेक्ष छैन भनेर बहस चलाउँदैनन् किन ? किन महिनादिनसम्म धारावाहिकरुपमा सुनाउछन् ? प्रसारण नै गरे पनि अन्तमा जसरी ध्रुमपानको विज्ञापन बज्दा अन्तमा यो स्वास्थ्यका लागि हानिकारक छ भनिन्छ त्यसैगरी यो पनि अहिलेको समय सापेक्ष छैन भनेर किन भनिदैन ?

सबै देवीहरुलाई सिंगारिएको छ तर देउतालाई अर्धनग्न देखाइएको छ । ब्रम्हा र सरस्वती पतिपत्नी या बाउ छोरी ? अनुत्तरित छ । देवी भागवतमा देवीहरुलाई शक्तिशाली देखाइएको त छ तर रक्तपिपासु महिला बनाइएको छ । कतै दुष्ट सौतेनी आमा कैकेई, कतै दुष्ट होलिका, कतै सूपर्णखा त कतै लाचार आमा यशोदा । युद्धका कारक महिला र बिनासको कारक पनि महिला नै देखाइएको छ ।

के संसारको वास्तविक इतिहासमा युद्ध र बिनासको वास्तविक कारक महिला नै भएका छन् त ? धर्मशास्त्रमा महिलालाई दान दिइने उत्तम बस्तु हुन् भनिएको छ । छोरीको बिबाह गरिदिने नभनिकन कन्यादान दिने भनिएको छ । सबैभन्दा ठूलो दान नै कन्या दान रे । यस्ता यावत गलत कथानक पुराण बोकेको संस्कार र संस्कृतिमा हुर्केको समाज कसरी नैतिकवान् र सभ्य हुनसक्छ ?

आदिकवि भानुभक्तको बधुशिक्षा त यति प्रतिगामी छ कि नारीलाई हाँस्न समेत प्रतिबन्ध लगाइएको छ । ‘हाँस्नू छैन कदापि नारीहरुले वेश्या हुने हाँस्छन्’ भन्दै हाँसेमा वेश्या भइने तर्क गरिएको छ । थपेका छन्, ‘वेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन्।’ अझ एक्लै पनि हाँस्न हुँदैन दुक्लै पनि हाँस्न हुँदैन पनि भनिएको छ । भानुभक्तले नारीलाई अति कठोर नियमको परिधिभित्र राख्न चाहेको देखिन्छ ।

अनुशासित बनाउनु अति राम्रो हो तर अर्कोतिर नारी हाँस्नु समेत नहुने, हाँस्ने नारी वेश्या हुन सक्दछन, वेश्या नभए पनि एक्लै हाँस्न नहुने अर्को संगी चाहिने संगीसँग हाँस्दा घरको काम नासिने समय व्यर्थमा खेर जाने जस्ता अभिव्यक्तिद्वारा नारीलाई कठोर नियमको परिधिभित्र बाँधिएको देखिन्छ । हाँस्दैमा नारी वेश्या हुन्छे भन्नु, युक्तिसङ्गत देखिदैन । हाँस्नु स्वास्थको लागि पनि आवश्यक छ । अहिलेको समयमा बधुशिक्षाबाट के शिक्षा लिने ?

हिन्दु समाजमा महिलालाई पतिको निधनपछि सती जान बाध्य पनि पारिन्थ्यो । पतिको अपमान हुने भयले महिला सती जान्थे । आगोमा जल्थे । भगवान कृष्णका पिता वासुदेवको निधनमा उनकी चारजना पत्नीहरु सती गएका थिए ।

स्वयम कृष्णको निधनमा उनकी आठ जना पटरानीहरु सती गएका थिए भने उनका दाजु बलरामको देहान्तमा उनकी पत्नी रेवती सती गएकी थिइन । तर, त्यतिबेला सतीप्रथाको नाममा जल्थे अहिले भने दाइजो प्रथा, देउकी प्रथा, कुमारी प्रथा, कमलरी प्रथा, बालबिवाह,, छाउपडी, बोक्सी प्रथा आदिका नाममा जलिरहेका छन् । यहाँसम्म कि महिलाहरु भ्र्रूण परिक्षण गरेर गर्भ भित्रै पनि असुरक्षित छन । जुन बेला सती त एकैपटक मात्र आगोमा जल्थे तर अहिले यस्ता सामाजिक कु-प्रथा र विकृतिका कारण महिलाहरु जीवनमा पटक -पटक जल्नु परेको छ ।

धार्मिक ग्रन्थका कथानकहरु तात्कालीन समयका बिम्ब पनि हुन् । तत्कालीन समय जस्तो थियो त्यस्तै कथा लेखियो होला । तर आज हजारौँ बर्ष पछि पनि हामी त्यही कथानक परम्परालाई आदर्श मानेर हिडिरहेका छौं, भाङ् धतुरो सेवन, जबर्जस्ती करणी, बहुविवाह, लडाईं, जालसाँझी सबै हामीलाई हाम्रा पुराणले सित्तैमा दिएका उपहार पो हुन कि ? । यस्ता उपहारलाई ग्रहण गर्ने कि त्याग ? या समय सापेक्ष परिमार्जन या पुर्नलेखन ?

हुन त यी शास्त्रहरु आज भन्दा ३/४ हजार वर्ष अघि लेखिएका हुन् । आज भन्दा आठ दश वर्ष अघिका कतिपय मान्यताहरु त आज आउँदा अस्वीकार्य भएका छन् । असान्दर्भिक लाग्छन् भने आज भन्दा तीन चार हजार वर्षअघिको समाजलाई हेरेर लेखिएको ग्रन्थमा आजको समाज र सान्दर्भिकता खोज्नु हाम्रो मूर्खता पनि होला । त्यतिबेला महाभारतमा द्रौपदी, कुन्ती, तारा आदिलाई सवल पात्रका रूपमा प्रस्तुत गरिएको छ । सायद यहाँसम्म मातृसत्ताको प्रभाव सवल थियो ।

युग सुहाउँदो संरचना जसरी पुनर्निर्माण, पुनर्संरचना हुन्छ, त्यसरी नै धार्मिक ग्रन्थको पनि समयसापेक्ष पुनर्लेखन हुनु जरुरी छ

तर, रामायणमा सीतालाई विवाहमा वर रोज्ने अधिकारसम्म भएको पाइन्छ, अरू सवालमा कमजोर, आज्ञाकारी, सहनशील पात्रका रूपमा प्रस्तुत गरिएको छ । सीता, सावित्री जस्ता आज्ञाकारी पतिब्रता, सहनशील, कमजोर पात्रलाई नारी सौन्दर्यका मानक बनाई आदर्शीकरण गरिएको छ । र आज तिनै सीतामा हुनु पर्ने आज्ञाकारिता, पतिब्रतालाई बाध्यकारी जस्तै बनाइएको छ ।

त्यसैले म भन्छु हाम्रा मान्य धार्मिक ग्रन्थहरु तीनका वाचक र उध्दरणकर्ताका कारण अतिनै पुरुषसत्तात्मक सोचबाट ग्रसित छन् । अब हाम्रा पौराणिक ग्रन्थहरूको पुनर्लेखन जरुरी त छँदैछ तिनको वाचन र उध्दरणमा समेत आधुनिक सोच, चिन्तन र सामाजिक मनोविज्ञानको लेप दिनु अति ढिला भैसकेको छ । यसरी हेर्दा के लाग्छ भने अहिले दिनहूँ जसो आइरहेका बलात्कार तथा यौनजन्य दुव्यहारका घटनाका कारण कतै हाम्रा धार्मिक शास्त्रहरु त होइनन ? ।

बलात्कार तथा यौनजन्य घटना आज एकाएक यसरी एकैदिनमा भित्रिएको होइन कि ? पहिले पहिले अन्य पुस्तकहरु भन्दा पनि धार्मिक पुस्तक र धर्मशास्त्रको कुरा पढाउदा पढाउदै यस्ता घटनाले बढावा पाएको हो कि ?

आज निर्मला जस्ता चेलीहरु , साना साना नानीहरु, बृद्धाहरु कसरी यौन सन्तुष्टि मेटाउने माध्यम बन्दैछन् ? यसमा कतै धार्मिक ग्रन्थहरुको हात छ कि ? अध्ययन गर्न जरुरी छ । हुन त कतिपयले बलात्कारमा धर्मको कुनै हात छैन, बलात्कारीले धार्मिक ग्रन्थ पढेर बलात्कार गर्न गएको हुदैन भनेर वकालत पनि गर्ने गरेका छन् । तर धर्म ग्रन्थ नपढेपनि सुनेर आएका त छन नि ।

अहिले समय र परिस्थिति बदलिएको छ । मि टु जस्ता अभियानले पनि केही महिलाहरु खुलेर आउन थालेका छन् । महिला आफै जागरुक भएर आफ्नो दासताको कारण पत्ता लगाउन प्रयास गरिरहेका छन् । के कारणले, किन र कसरी हजारौँ वर्षदेखि आफूमाथि उत्पीडन गरियो भनेर इतिहास, धर्मशास्त्र, दर्शन, विज्ञान, मनोविज्ञान, समाजशास्त्र सबैतिर उत्खनन् गर्ने, खोतल्ने प्रयास गर्दैछन् ।

त्यसैले केही महिलाहरुले धर्म ग्रन्थका आधारमा महिलाहरुमाथि विभेद भएको भनेर पौराणिक ग्रन्थहरुको पुनर्लेखन हुनुपर्छ भनेर आवाज उठाइरहेका छन् । कतिपयले त्यतिबेलाका समाजअनुसार लेखिएको भने पनि युग सुहाउँदो संरचना जसरी पुनर्निर्माण, पुनर्संरचना हुन्छ, त्यसरी नै धार्मिक ग्रन्थको पनि समयसापेक्ष पुनर्लेखन हुनु जरुरी छ भनिरहेका छन् ।

यस्ता विषयलाई धार्मिक र सांस्कृतिक नाम दिएर यथास्थानमा राख्नुभन्दा स्वस्थ वहस गर्नु समयको माग हो । यस्ता वहसबाट भाग्नु भनेको परिवर्तित समयलाई बुझ्न नसक्नु हो । यसले समाजलाई मात्र होइन, स्वयं परम्परागत धर्मका राम्रा कुराहरुलाई पनि असर पर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?