
२७ जेठ, काठमाडौं । काठमाडौंको तीनकुनेबाट पेस्तोलसहित पक्राउ परेका साङ्गे टेम्वा शेर्पाले सुन लुट्ने योजना बनाएको खुलेको प्रहरीले दाबी गरेको छ ।
योजना अनुरुप शेर्पा आफैं चीन गएर पेस्तोल खरिद गरेको प्रहरीले जनाएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले दिएको जानकारी अनुसार शेर्पाले केरुङबाट आउने सुन लुटपाटको योजना बनाएका थिए । तर, योजनालाई कार्यान्वयनमा ल्याउनु अगावै उनी पक्राउ परे ।
अधिकृतका अनुसार शेर्पाले ‘मेड इन जापान’ लेखिएको अत्याधुनिक पेस्तोल ७० हजार रुपैयाँमा खरिद गरेको बयान दिएका छन् । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘यो पेस्तोल हालसम्म बरामद भएमध्ये अत्याधुनिक छ ।’
उनका अनुसार यसअघि बरामद हुने पेस्तोल भारतबाट भित्र्याइएका हुन्थे । प्रहरीले पेस्तोलसहित शेर्पालाई पक्राउ परे पनि समूहका अन्य सदस्यलाई समात्न भने असफल भएको छ ।
बोगटीले अनलाइनखबरसँग भने, ‘हामी समूहका अन्य सदस्यको पनि खोजीमा छौं ।’
प्रतिक्रिया 4