Comments Add Comment

खराब मान्छे सधै खराब हुन्छ ?

कुनै व्यक्तिले चोरी गर्‍यो । ऊ चोर कहलिन्छ । चोर आफैमा तृच्छ र घृणित कृत्य । चोरलाई कसैले सम्मान गर्दैन घृणा नै गर्छ ।

उनले किन चोर्‍यो ? उनको नियत बिगि्रएर । खराब संगतले उक्साएर । परिस्थिती वा परिबन्ध परेर । आखिर जे होस् चोरी गरेपछि उसले पाउने नाम हो, चोर ।

कुनै व्यक्तिले हत्या गर्‍यो । ऊ हत्यारा कहलिन्छ । हत्या आफैमा भयानक र विभत्स कृत्य । हत्यारालाई कसैले प्रेम गर्दैन, घृणा नै गर्छ ।

कोही चोर छन्, कोही हत्यारा छन्, कोही ठग छन्, कोही बलात्कारी छन्, कोही तस्कर छन्, कोही भ्रष्टचारी छन् । यी सबै आफैमा खराब प्रवृत्ति हुन् । र, यही प्रवृत्तिले समाजलाई पीडा दिन्छ । समाजलाई सताउँछ । समाजलाई आतंकित बनाउँछ । समाजलाई कुरुप बनाउँछ ।

यस्ता खराब प्रवृत्ति भएका मान्छेलाई समाजले सधै थुक्छ । घृणा गर्छ । त्यसो भए मान्छे किन समाजको नजरमा घृणित हुन चाहन्छ ? अपमानित हुन चाहन्छ ?

कुनैपनि मान्छे जन्मदाँ खराब हुँदैनन् । कुनैपनि मान्छेले यो सोच्दैनन् कि जीवनमा म खराब कर्म गर्नेछु । कुख्यात हुनेछु । सबैका लागि घृणित हुनेछु । तर, उसको चेतनाको तह, बुझाई, भोगाईसँगै कतिपय परिस्थितीजन्य कारणले मान्छेलाई कु-कर्ममा उक्साउँछ ।

कमजोर मानसिक अवस्थाका वा निम्न चेतका व्यक्ति नै यस्ता कर्ममा बढी उक्सने गर्छन् । उनीहरुको संगत, परिवेशले पनि मान्छेलाई खराब बनाउन सक्छ । यद्यपी यसमा संगतलाई मात्र सम्पूर्ण दोष दिन मिल्दैन । खासमा स्वयम् ति व्यक्ति नै दोषी हुन् ।

जब मान्छेले कु-कर्म गर्छ, त्यसले उनको जीवनमा दाग लाग्छ । चोरी गरेमा चोर हुन्छ, हत्या गरेमा हत्यारा हुन्छ, बलात्कार गरेमा बलात्कारी हुन्छ, ठगी गरेमा ठग हुन्छ ।

किन सधै बद्नामी ?

नियतवस् वा परिस्थितीजन्य, कुनैपनि हिसाबले कु-कर्म गर्नेहरुलाई कानुनी उपचार खोजिन्छ । र, सुधारका लागि कारागार पठाइन्छ । कारागार, जसलाई पहिले जेल भनिन्थ्यो । चारैतिर ठूला पर्खालले घेरिएको जेलमा विभिन्न अपराधमा संलग्नहरुलाई यातना दिइन्थ्यो । अहिले त्यसको स्वरुप फेरिएको छ । कु-कर्म एवं अपराधकर्म गरेर कारागार पुगेकाहरुलाई आवश्यक सुधार गर्ने प्रयास गरिन्छ । उनीहरुलाई आफ्नो अपराधको प्रायश्चित गराएर नयाँ जीवन सुरु गर्नका लागि प्रेरित गरिन्छ ।

उनीहरु आफ्नो सजाय भुक्तान गरेर कारागारबाट बाहिर आउँछन् । तर, के उनीहरुले नयाँ जीवन सुरु गर्न सक्छन् ? समाजलाई उनीहरुले कसरी स्विकार्छ ? समाजमा उनीहरु कसरी आफ्नो नयाँ परिचय खोज्छन् ?

यो निकै जटिल कुरा हो ।

समाजमा थुप्रै व्यक्ति छन्, जो कुनै न कुनै गल्ती, कमजोरी, कुकर्मबाट बद्नाम छन् । जड्याहकै कुरा गरौ । अक्सर मातिरहने । मातेर झै-झगडा गर्ने व्यक्तिलाई ‘जड्याह’ नाम दिइन्छ । उनीहरुलाई सग्लो नामले भन्दा अर्को नामले नै बढी सम्बोधन गरिन्छ ।

गाउँघरमा कसैले कुखुरा चोरेका छन् । उनलाई जीवनभर ‘कुखुरा चोर’ वा ‘दुई खुट्टे स्याल’ भनिन्छ ।

ठिक हो, उनीहरुको खराब प्रवृत्ति, नियत र कर्मलाई सदर गर्न सकिदैन । त्यसका लागि उनीहरुले उपयुक्त सजाय झेल्नैपर्छ । तर, एउटा व्यक्तिलाई कहिलेसम्म सजाय दिइरहने ? कहिलेसम्म मानसिक रुपमा तड्पाइरहने ?

मान्छेलाई सुध्रने मौका पनि दिनुपर्छ । मान्छे सधै उस्तै रहँदैन । तर, हामी एउटा जड्यहालाई सधै जड्याह देख्छौ । जड्याह भन्छौ । के उनले आफ्नो सम्पूर्ण जीवन यस्तै बद्नामीमा नष्ट गर्छ त ?

हरेक मान्छे बद्लिन चाहन्छन्

जानेर वा नजानेर, चाहेर वा नचाहेर मान्छेले गल्ती, कमजोरी गर्छ । मान्छेले नियतवस् वा परिस्थितीवस् कु-कर्म गर्छ । यी मान्छेहरुले जब आफ्नो कर्मको फल भोग्छन्, तब उनीहरुलाई सुध्रने मौका पनि दिनुपर्छ । मान्छे बद्लिन्छन् । मान्छेको चेत र नियत बद्लिन्छ । मान्छेको प्रकृति नै बद्लने हो ।

श्रीमद्भागवत गीतामा भनिएको छ, जो अपराधी हुन्छन्, पापी हुन्छन्, चोर, फटाह हुन्छन् । उनीहरु पनि जीवनभर त्यस्तै रहन चाहँदैनन् । उनीहरु जीवनलाई नयाँ ढंगबाट जिउने उपाय नै खोजिरहेका हुन्छन्, भलै त्यसमा उनीहरुको ढंग नपुग्न सक्छ ।

सामान्यत अपराधी, पापी आदिले सद्गति प्राप्त गर्न सक्दैनन् भन्ने मिथ्य धारणा हो ।

क्वि वाल्मीकि, सन्त बिल्वमंगल, सुश्री गणिक आदि पनि सुरुमा राम्रा थिएनन् । खराब कर्म नै गर्थे । पछि उनीहरु सुधि्रए । महान भए ।

मान्छेलाई सधै नराम्रो मात्र देख्दा, भन्दा वा खराब रुपमा मात्र पेश गरिरहँदा उक्त मान्छेको मनोवृत्ति अझ खराब भएर जान्छ । जब उनीहरुलाई सुध्रने ठाउँ दिइन्छ, जब उनीहरुलाई जीवनप्रति आशावादी बन्न प्रेरित गरिन्छ । तब उनीहरु नयाँ ढंगबाट जीवन जिउने प्रयास थाल्छन् । हरेक मान्छे सुध्रन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment