Comments Add Comment

कमलपोखरीमा पार्क बनाउन प्रहरी चौकी सार्ने निर्णय

३० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कमलपोखरीको कार्यालयलाई नक्सालको मालिगाउँमा सार्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा कमलपोखरी प्रहरीलाई मालिगाउँमा रहेको बाल मन्दिरको जग्गामा सार्ने निर्णय भएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रहरी चौकी सार्ने निर्णय भएको बताए ।

काठमाडौं महानगरपालिकाले ‘बृहत कमलपोखरी’ योजना अघि सार्दै प्रहरी वृत्त खाली गर्न निर्देशन दिइएको थियो । महानगरले हाल प्रहरी वृत्त रहेको ठाउँमा पार्क बनाउन खोजेको काठमाडौं प्रहरी परिसरका एक वरिष्ठ अधिकृतले अनलाइनखबरलाई बताए ।

उक्त जग्गा साढे ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । विकल्पका रुपमा मालीगाउँको भवन प्रयोग गर्न सुझाइएको थियो । तर, स्थानीयबासीले त्यसको विरोध गरे ।

मन्त्रालयको ठाडो निर्देशनमा चौकी सार्न लागिएको भन्दै स्थानीयबासीले सांसद् गगनकुमार थापा, नेकपाका नेता राजन भट्टराई, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतलाई ध्यानाकर्षण समेत गराएका थिए । चौकीलाई भीआईपीको वसोवास भएको क्षेत्रमा लान खोजिएको र बालबालिकालाई राख्नु पर्ने भवनमा प्रहरीलाई राख्न खोजिएको भन्दै विरोध भएको थियो ।

यसअघि ०७२ सालमा गएको भूकम्पले बाल मन्दिरको मुख्य भवन भत्किएपछि अहिले प्रहरी सर्न लागेको भवनमा संरक्षित बालबालिकालाई राख्ने प्रयास गरिएको थियो । तर निर्णय हुन सकेन । अहिले उनीहरु टहरोमा छन् ।

हाल कमलपोखरी वृत्तमा प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा करिब एक सय प्रहरी बस्दै आएका छन् ।

त्यहीँ प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा ट्राफिक प्रहरीको टोली पनि बस्दै आएको छ । ट्राफिक प्रहरीलाई पनि मालिगाउँमा सार्ने या नसार्ने भन्ने स्पष्ट भइसकेको छैन ।

प्रहरीलाई राख्ने भनिएको भवनमा अहिले शिक्षा मन्त्रालयको शिक्षाका लागि खाद्यान्न परियोजनाले प्रयोग गर्दै आएको छ । भवन रहेको जग्गा चार रोपनीभन्दा बढी छ ।

प्रहरी कार्यालय सार्ने निर्णय भए पनि सुरक्षा अधिकृतका लागि भवन उपयुक्त छ/छैन भन्ने विषयमा मूल्यांकन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment