Comments Add Comment

धरान डेंगु प्रकोप क्षेत्र घोषणा, विराटनगरमा पनि देखियो

३१ जेठ, विराटनगर । प्रदेश १ का दुई जिल्ला सुनसरी र मोरङ लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको चपेटामा परेको छ ।

एक महिना अघि देखापरेको डेंगु रोग नियन्त्रणको प्रयास भए पनि सार्थक हुन नसक्दा फैलिँदै गएको छ । गएको वैशाख ३१ गते पहिलो पटक धरान उपमहानगरपालिका १५ मा डेंगुको विरामी फेला परेको थियो ।

अहिले सुनसरीको इटहरी, बराहक्षेत्र, मोरङको सुन्दरहरैंचा, पथरी शनिश्चरे र विराटनगरसम्म पनि यो रोगका विरामी फेला परेका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सुनसरी र मोरङमा गरी ५ सय बढीमा यो रोगको संक्रमण देखिएको छ ।

विराटनगरमा वुधबार दुई जना डेंगुका बिरामी फेला परेका छन । विराटनगर महानगरपालिकाको वडा नं २ र ३ का ती विरामीको विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मोरङ जिल्लामा अहिलेसम्म १० जनामा डेंगुको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार संक्रमितमध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका सिनियर अहेव सुवास नेपालले डेंगुविरुद्ध सचेतना फैलाउने काम गरिरहेको जानकारी दिए । ‘सँगसँगै लामखुट्टे मार्नका लागि सर्च एण्ड डिस्ट्रोय टोली परिचालन गरिएको छ ।’

मोरङका सुन्दरहरैंचा, बेलबारी, पथरी र उर्लाबारी नगरपालिकाले सरसफाइ तथा लामखुट्टे मार्ने अभियान सुरु गरिएको छ ।

धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा

डेंगुका बिरामी धेरै भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले धरानमा ४ सय ७४ जनामा डेङ्गुको संक्रमण भेटिएको बताए ।

दैनिक रुपमा ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेका छन् ।धरानका अन्य अस्पतालमा थप ७१ जना डेंगुका बिरामी उपचाररत रहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरानमा सबैभन्दा बढी वडा नम्बर १५ र ८ मा डेंगुका विरामी भेटिएका छन् । ती वडालाई डेंगु संकटग्रत घोषणा गरिएको छ । ती वडामा एकै परिवारका चार जनामा डेंगुको विरामी फेला परेका छन् ।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारीले वडा नम्बर १५ मा अझै बिरामी बढ्ने क्रममा रहेको बताइन् । ‘डेंगु नियन्त्रण गर्ने अभियान अहिलेसम्म बिफल भएको देखिन्छ, एकै परिवारका चार जनासम्म डेंगुले थलिएका छन्’ उनले भनिन् ।

धरान, इटहरी र विराटनगर क्षेत्रमा डेंगु परीक्षण गर्ने किटकोसमेत स्थानीय अस्पतालहरुमा अभाव छ ।

डेंगु नियन्त्रणका लागि १ करोड

प्रदेश १ का प्रमुख शहरमा डेंगु फैलिएपछि प्रदेश सरकारले नियन्त्रणको प्रभावकारी पहल गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सचेतनासँगै औषधि छर्कने जस्ता काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले डेंगु नियन्त्रण, विरामीको उपचारका र आवश्यक उपकरण खरिदका लागि प्रदेश १ सरकारसँग १ करोड रुपैयाँ माग गरिएको बताए ।

धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल र विराटनगरको कोशी अञ्चल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको दाहालले जानकारी दिए । अन्य अस्पतालमा उपचार गरेकाले अस्पतालको प्रमाणित बिल ल्याएमा खर्च ब्यहोर्ने उनले बताए ।

सुनसरी र मोरङका दुई जिल्लामा संक्रमण फैलिए पनि अहिलेसम्म डेंगुबाट कसैको मृत्यु भने भएको छैन । चिकित्सकका अनुसार पोथी जातको एडिक्युस लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु सर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment