Comments Add Comment

भ्रष्टाचारको विरोध : मेयरको देखाउने दाँत

पछिल्लो समय सामाजिक सञ्जालमा वास्तविकता नबुझी भीडले जे भन्छ, त्यसैको पछि लाग्ने प्रवृत्ति बढिरहेको छ । यो नेपाली समाजलाई विखण्डन गर्नेतर्फको यात्रा हो । र, यो हामी सबैका लागि घातक हो ।

कुनै पनि विषय सञ्चारमाध्यमबाट उठान भएपछि सकरात्मक वा नकरात्मक टीकाटिप्पणी हुनु स्वाभाविक हो । तर, पछिल्लो समयमा इटहरीका मेयर द्वारिकलाल चौधरीबाट श्रमजीवी पत्रकार र मिडिया हाउसमाथि हुँदै नभएको आरोप लगाउने, प्रश्न सोध्नेलाई लोपार्ने र नाकको हड्डी भाँच्न एक करोड छुट्याउने जुन धम्की आयो, यो सामान्य विषय होइन ।

जहाँसम्म इटहरी घटनाको विषय छ, यो अहिले चर्चामा आएजस्तो खालको घटना नै होइन । वास्तविकतालाई तिलाञ्जली दिएर आफुले काम गर्न नसकेको कुण्ठालाई अन्तै मोडेर घटनालाई अतिरञ्जित गर्न इटहरीका मेयर लागिपरेका छन् ।

इटहरी प्रदेश नम्बर १ को केन्द्रविन्दुका रुपमा विकसित हुँदै गरेको शहर हो । प्रदेश नम्बर १ को राजधानी दावी गर्ने र हुने क्षमता बोेकेको शहर हो । तर, मेयर द्वारिकलाल चौधरीले इटहरीलाई प्रदेश १ को राजधानी बनाउन लागि उनकै संयोजकत्वमा बनाइएको समिति अहिलेसम्म मौन बसेको छ । मेयर चौधरीले प्रदेश नम्बर एकको प्रदेशसभा इटहरी ल्याउने विषयमा चर्चा गर्दा ‘इटहरी प्रदेश सांसदहरुले दिशा गर्ने ठाउँ होइन’ भन्ने अभिव्यक्ति दिएको अहिले पनि सम्झना छ ।

प्रदेश सांसद सर्वध्वज साँवाले निर्वाचनताका भनेका थिए, इटहरीको मुख्य चोकमा आकाशे पुल निर्माण गर्ने र त्यहाँ युवाजोडीहरु गएर सेल्फी हान्नेछन् । अनि सबैले भन्ने छन् आहा इटहरी ! साँवाको यो भनाइ अहिले पनि इटहरीवासीले सम्झिइरहेका छन् ।

प्रदेश सांसद साँवा र अर्का सांसद लिलम बस्नेत इटहरीको मुख्य चौकमा निर्वाचनताका बोलेको कुरा पूरा गर्नतर्फ प्रयासरत नै देखिन्छन् । साँवा र बस्नेतले यसमा बजेटका लागि प्रदेश एक सरकारलाई योजनासहित माग गरे । प्रदेश सरकारले त्यसका लागि १२ करोड रुपैयाँ दिने बचन पनि दियो । र, यसका लागि सर्भेको काम पनि भयो । तर, इटहरीका मेयर चौधरीले इटहरीलाई इटहरी जस्तै बनाउने हो, यसलाई सिंगापुर बनाउनु छैन भन्दै त्यो योजनालाई स्वीकृति नै दिएनन् ।

फलस्वरुप प्रदेश सरकारको सो बजेट इटहरीसँगै जोडिएको मोरङको सुन्दर हरैंचा नगरपालिकातर्फ गयो । यसको थप वास्तविकता सासंद लिलम बस्नेतलाई थाहा छ । इटहरीको विकासका लागि ल्याउन चाहेका क्रिकेट रंगशालादेखि अन्य धेरै विकासे योजनाहरुमा मेयर चौधरीले गरेको असहयोग कुन तहमा छ भन्ने कुरा सांसद बस्नेत जानकार छन् ।

अहिले पनि नगरपालिकाभित्र भ्रष्टाचार व्याप्त छ । मेयर चौधरीले आफूलाई भ्रष्टाचारीबिरुद्धको महान अभियन्ता ठानिरहेका छन् । तर, जुन सञ्चारमाध्यमले भ्रष्टाचारका बिषयमा तथ्य र प्रमाणसहित समाचार प्रकाशन ग¥यो, त्यही मिडिया हाउस र पत्रकारहरु अहिले चौधरीको तारो बनेका छन् । उपमहानगरभित्र भएको भ्रष्टाचारको विरोध गर्ने सञ्चारमाध्यमलाई चौधरीले प्रहार गरिरहेका छन् ।

मेयर चौधरीले इटहरी उपमहानगरको कुर्सीमा बसेको पहिलो दिन दर्जन बढी प्रतिवद्धता गरेका थिए । त्योमध्ये सार्वजनिक शौचालय २ बर्ष कार्यकाल पूरा हुन लाग्दा पनि निर्माण नै सुरु भएको छैन । अन्य बुँदाको त कुरै नगरौं । यो यर्थाथ इटहरीबासीलाई राम्रोसँग थाहा छ ।

मेयर चौधरी गर्वका साथ म मोही किसानको छोरा हुँ, भूमिपुत्र हुँ, गोठमा बस्छु । खेतबारी खनेर खान्छु । तर, भ्रष्टहरुलाई छोड्दिन भन्दैछन् । कर्मचारीलाई कुट्दै हिँडेका छन् । मेयर चौधरीले पछिल्लो समय बिभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा सीएफएल प्रकरणमा भ्रष्टाचार भएकै हो भनेर स्वीकार गरेकै छन् । सीएफएल प्रकरणमा संलग्न थप १२ जना कर्मचारीलाई घोक्र्याउँदै सडकमा ल्याउने बताउँछन् । तर, स्थानीय पत्रकारहरुले प्रमाण जुटाएर अनेकौं धाकधम्की सहेर, आफ्नो ज्यानलाई असुरक्षामा राखेर यो अनियमितताको समाचार बाहिर ल्याएका हुन् भन्ने कुरा मेयरले भुलेका छन् ।

महालेखा परीक्षकको प्रतिवेदनमा पनि इटहरी उपमहानगरमा जनप्रतिनिधि आएपछि विधि र प्रकृया मिचेर सीएफएलमा भुक्तानी दिएकाले बेरुजु भएको ठहर गरी असुल गर्नुपर्ने भन्ने स्पष्ट उल्लेख छ । यो अवस्थासम्म ल्याउने पत्रिका र पत्रकारहरु आज कसरी भ्रष्टचारीहरुको सहयोगी बने ? के यो सीएफएल प्रकरण प्रमाणसहित बाहिर ल्याउने काम मेयरले गरेका हुन् ? या पत्रकारले बाहिर ल्याएका हुन् ? मेयरतर्फ प्रश्न सोझिएको हो ।

०७५ असोज १८ गतेको कार्यपालिका बैंठकले गरेको निर्णयमा सीएफएल प्रकरणको उदाहरण दिई उपमेर लक्ष्मी गौतमले नोटअफ डिसेन्ट लेखेकी छन् । त्यसको भुक्तानी अहिलेसम्म भएको छैन । सोही भवनको भुक्तानीका लागि मेयरले पटक–पटक दबाव दिएका कारण प्रमुख प्रशासकीय अधिकृत छविलाल रिजाल सरुवा मिलाएर काठमाण्डौं हिँडेका छन् ।

हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद बिमलीले पनि दोस्रो सीएफएल प्रकरण हुन्छ भनेर हालसम्म ठेकदारलाई भुक्तानी दिएका छैनन् । यो बिषय स्वयम् मेयर, उपमेयर, कार्यपालिकाका पदाधिकारी, वडाअध्यक्षहरु, कर्मचारी स्व्म उनका पार्टीका जिम्मेवार नेताहरुलाई जगजाहेर नै छ ।

गोठमा बस्ने किसानको छोरो बताउने मेयर चौधरीले इटहरीको लविपुरमा निर्माण गरेको अढाई तल्लाको घरमा कम्पाउण्ड वाल राजमार्गको जग्गा मिचेर निर्माण गरेका छन्, त्यहाँ अहिलेसम्म डोजर लगाइएको छैन ।

उनकै कार्यालयमा काम गर्ने शाखा अधिकृत राजेन्द्र धिमालले सार्वजनिक जग्गा मिचेर बनाएको घरमा डोजर चलेको छैन । इटहरी उपमहानगरमा कानूनी सल्लहाकारका रुपमा कार्यरत अधिवक्ता शारदा अधिकारीले सार्वजनिक ऐलानी जग्गामा निर्माण गरेको घरमा डोजर चलाउने किन मेयरले हिम्मत गर्दैनन् ?

उनैले कुटेर चर्चामा ल्याएका नेकपामा जिल्ला सदस्य तथा इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईले ऐलानी जग्गा मिचेर बनाएको घरमा डोजर लगाउने हिम्मत चौधरीले किन गर्दैनन् ? यी प्रश्नहरुले के संशय जन्माउँछ भने भ्रष्टाचारको विरोध कतै मेयर चौधरीको देखाउने दाँत मात्रै त होइन ?

सार्वजनिक जग्गा मिचेर बनाइएको आफ्नै पार्टी कार्यालयमा डोजर चलाउने हिम्मत उनीसँग छैन । पूर्बी पृतना हेर्डक्वाटर नजिकै खेतीखोलाबाट सुरु गरिएको सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउने अभियान नेकपाकै नेताद्वारा सञ्चालित बोडिङ स्कुलमा पुगेर रोकिएको छ । एक बर्ष पुग्दा लाग्दासम्म यो अभियान रोकिइरहेको छ ।

मेयरका रुपमा आफू काम गर्न नसक्ने अनि रीस र कुण्ठाजति पत्रकारमाथि थोपर्ने काम भइरहेको छ । आखिर उनलाई काम गर्नका लागि कसले रोकेको छ ? सुरुमा राजमार्गको दायाँबाँया सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउने प्रचारबाजीमा उत्रेका मेयरले अहिले कुनै अभियान चलाएका छैनन् ।

जहाँसम्म हामी इटहरीका स्थानीय पत्रकारमाथि मेयरले लगाएका आरोपको प्रश्न छ, हामीले कुनै कमजोरी गरेको रहेछ भने पत्रकार महासंघ र कानूनले जेजस्तो कार्वाही गर्छ, हामी भोग्न तयार छौं । हामीले पत्रकार महासंघले निर्माण गरेको मिशन टोलीलाई स्पष्टसँग भनेका छौं कि हामीमाथि पनि छानविन होस् । हामीले विज्ञापन प्रकाशन गरेवापत भुक्तानी लिनु अपराध ठहर्छ र पत्रकार आचारसंहिता विपरित हुन्छ भने सजायँ भोग्न तयार छौं । हाम्रो साधारण सदस्यता खोसेर कानून लगाउन सक्नुहुन्छ ।

तर, भ्रष्टाचारविरुद्ध समाचार लेखिरहँदा हामीलाई नै दोषी देखाएर चोर पत्रकार, हन्डी खाने पत्रकार, चाटुकार, पत्रुकार जस्ता शब्दहरु प्रयोग गरेर बेइज्यती गर्न पाइन्न । तथापि हाम्रो पत्रकारिता जस्तोसुकै विषम परिस्थितिमा पनि डग्मगाउने छैन । सत्यको विजय सुनिश्चित छ ।

हाम्रो शुभकामना छ, मेयर चौधरीले राम्रो काम गरुन् । इटहरीबासीको मन जित्ने काम गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment