Comments Add Comment

अलपत्र छ गणतन्त्र !

Photo Credit : धुव्र केसी

पोखरा । सरल सहयात्री तत्कालीन माओवादी र सरकारपक्षबीच भएको १० वर्षे जनयुद्ध राम्रैसँग नियालेका र भोगेका पात्र हुन् । स्कुले जीवनमै माओवादीमा लागेका उनको त्यतिबेला सपना थियो, ‘एकदिन देशमा गणतन्त्र ल्याउने ।’ क्रान्ति गर्न युद्धमा होमिए । ०६२÷६३ सम्म आइपुग्दा ४ दर्जन लडाइ लडे । लडाइँमा २ सयभन्दा बढी सहयोद्धालाई मैदानमै छोडिआए ।

संघर्षरत तत्कालीन माओवादी र सरकार पक्षबीच शान्ति सम्झौता भयो । राजा शिहांसनबाट हटे । देशमा गणतन्त्र आयो । तर, ‘सहयात्री’ खुसी भएनन् । जीवन दाउमा राखी लडेर ल्याएको गणतन्त्रबाट किन बेखुसी ? उनको तर्क छ, ‘गणतन्त्र आधामात्र आयो, पू्रा आएन । शिखरै ल्याउँछौं भनेका हामी शिखरको ढुंगोमात्रै ल्यायौं । त्यो पनि कहाँ छ भन्ने थाहा छैन । गणतन्त्र अपलत्र छ ।’

र्‍यान्डम रिड्र्स सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको उपन्यास ‘शिखरको ढुंगा’ अन्तक्र्रिया कार्यक्रममा सहयात्रीले उपप्रध्यापक विष्णु ज्ञवालीसँग विविध विषयमा अन्तरंग कुरा गरे ।

सगरमाथाको सफल आरोहण गरिसकेका उनले शिखर चढ्नु र जनयुद्ध लड्नु दुवै एउटै भएको अनुभव सुनाए । ‘सगरमाथा चढ्नु भनेजस्तो सजिलो छैन । त्यहाँ पनि मृत्यु स्वीकारेर नै जाने हो,’ सहयात्रीले भने, ‘जनयुद्ध पनि त्यस्तै हो । मरिन्छ भन्ने थाहा हुन्छ तर कसको पालो अघिपछि भन्नेमात्रै हो ।’

उनले शिखर चढ्दा बाटामा पर्ने आधारशिविर जस्तै जनयुद्धमा पनि उस्तै अवस्था रहेको सुनाए । शिखरको ढुंगासहित ३ कृति प्रकाशित गरिसकेका सहयात्रीले आफूले साहित्य र राजनीति सँगसँगै गरेको बताए ।

‘युद्धकै बेलादेखि कविता, कथा र डायरी लेख्थें । तर त्यसबेला कलमभन्दा बढी हतियार नै बलशाली थियो । त्यसैले पनि साहित्यलाई ध्यान दिने अवस्था थिएन,’ उनले अनुभव सुनाए, ‘द्वन्द्वभित्रका आन्तरिक कुरा, विवादलाई उजागर गर्न मात्रै कथाहरु लेख्थें । प्रकाशन गर्ने कुनै ख्वाब थिएन ।’

आफूले धेरैजस्तो साहित्य सिर्जना जनयुद्धकै समयमा गरेको सहयात्री सुनाउँछन् । ‘साहित्य भन्ने कुरा फुर्सदमा लेख्न नसकिँदो रहेछ । जतिबेला युद्धको हतार थियो । त्यसको चाप र हुटहुटीका बीच नै धेरै रचनाहरु कोरें,’ उनले भने, ‘जनयुद्ध अत्यन्तै सिर्जनशील थियो भन्ने मलाई लाग्छ ।’ जनयुद्धताका सहिद भएका ‘कमरेड’हरुको सपना पूरा गर्न नै आफू सगरमाथा चढेको उनले खुलाए ।

विशाल सपना बोकेर क्रान्तिमा होमिएको माओवादी शान्ति प्रक्रियापछि बिस्तारै स्खलित हुँदै गएको सहयात्रीको बुझाइ छ । जनयुद्धमा मर्न तयार भएका योद्धाहरु शान्ति प्रक्रियापछि परिवर्तन हुँदै गएको उनको आरोप छ । उनले जनयुद्ध ख्यालख्यालबाट सुरु नभएको पनि सुनाए । ‘शान्ति प्रक्रियाभन्दा अघि दिनको १ सय ५० रुपैयाँ खर्च पाउँथे । त्यसमा एकदिन भत्ता बढाउने निर्णय भयो । सबैबाट त्यसको विरोध आएको थियो । त्यसबेला धेरैको तर्क हामी कमाउन होइन । स्वयंसेवा गर्न आएका हौं भन्थे,’ सहयात्रीले भने, ‘शान्ति प्रक्रियापछि ६ हजार पाउनेमा ५ हजार दिँदा पनि १ हजार किन कम भयो भन्दै धेरै साथि कुर्लिन थाल्नु भो । स्खलन त्यहींबाट सुरु भयो ।’

जनयुद्ध पृष्ठभूमिलाई आधार बनाएर सगरमाथा आरोहणसँग जोडिएको ‘शिखरको ढुंगा’ सरल र पठनीय भएको कार्यक्रम सहजकर्ता विष्णु ज्ञवालीले बताए । र्‍यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न कृतिमाथि चर्चा तथा बहस गर्दै आइरहेको र त्यसले पठन संस्कृति विकास गर्ने संस्थाका अध्यक्ष केशवशरण लामिछानेले विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment