Comments Add Comment

इंग्ल्याण्डको फराकिलो जितमा बने नयाँ-नयाँ कीर्तिमान

मोर्गनको १७ छक्का, राशिदको महंगो बलिङ

४ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जारी विश्वकपमा कुनै पनि टिमको सबैभन्दा ठूलो जित हो । यस म्याचमा बनेको यो एकमात्र रेकर्ड होइन । सबैभन्दा धेरै छक्का प्रहारदेखि सबैभन्दा धेरै स्कोर र सबैभन्दा महंगो बलिङसम्मका रेकर्डहरु पनि यस म्याचमा बनेका छन् ।

३९८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४७ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि हस्मतउल्लाह शाहिदीले ७६, राहमत शाहले ४६, अस्घर अफगानले ४४ र गुल्बादिन नाइबले ३७ रन बनाए । बलिङतर्फ जोफ्रा आर्चर र आदिल रशिदले समान ३-३ विकेट लिए ।

मोर्गनको १७ छक्का र छिटो शतक

यसअघि म्यान्चेस्टरमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३९७ रन बनाएपछि अफगानिस्तानले ठूलो लक्ष्य पाएको थियो । इंग्ल्यान्डले ठूलो लक्ष्य दिनेक्रममा कप्तान इयोन मोर्गनले कीर्तिमानी ब्याटिङ गरे ।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको विश्व रेकर्ड बनाएका मोर्गनले ७१ बलमा १४८ रन बनाए । उनले १७ छक्का र चार चौका प्रहार गरे ।  उनले एउटै इनिङमा सबैभन्दा धेरै १६ छक्का प्रहार गर्ने रोहित शर्मा, क्रिस गेल र एबी डिभिलियर्सलाई पछि पारिदिए ।

३९७ रनको योगफल ४४ वर्षको विश्वकप इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो स्कोर हो । सबैभन्दा ठूलो स्कोरको रेकर्ड अस्ट्रेलिया (४१७/६)को नाममा छ ।

इयान मोर्गनले यस म्याचमा ७४ बलमा १४८ रन बनाए । उनले ५७ बलमा शतक बनाए । यो विश्वकपमा चौथो छिटो शतक बनाएको रेकर्ड हो । सबैभन्दा छिटो ५० बलमा शतक बनाएको रेकर्ड भने केभिन ओब्रायनको नाममा छ ।

इंग्ल्यान्डको उच्च स्कोर बनाउन जोनी बैरस्टोव र जोइ रुटले पनि उत्कृष्ट प्रदर्शन गरे । जोनीले ९० रन बनाए । ९९ बलको सामना गरेका उनले ८ चौका र तीन छक्का प्रहार गरे ।

मोर्गन र रुटको कीर्तिमानी पार्टनरसिप

उच्च रन बनाउन कप्तान मोर्गन र रुटले १८९ रनको साझेदारी गरे । यो विश्वकपको इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो पार्टनरसिपको रेकर्ड हो । अघिल्लो रेकर्ड डी एमिस र फ्लेचरको नाममा थियो । उनीहरुले सन् १९७५ मा आयोजना भएको विश्वकपमा भारतविरुद्ध १७६ रनको पार्टनरसिप गरेका थिए ।

यसैगरी मोइन अलीले ९ बलमा ३१ रन बनाए भने रुटले ८२ बलमा ८८ रन बनाए ।

राशिद बने सबैभन्दा महंगा बलर

बलिङतर्फ अफगानिस्तानका दवलत जाड्रन र गुल्बादिन नाइबले समान ३-३ विकेट लिए । बलिङतर्फ अफगानिस्तानका राशिद खान असफल भए । उनले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए ।

उनको बलिङ विश्लेषण ९-०-११०-० रह्यो । विश्वकप क्रिकेटको ४४ वर्षे इतिहासमा यो सबैभन्दा महंगो बलिङ हो । यसअघि यस्तो अनौठो रेकर्ड न्युजिल्याण्डका मार्टिन स्नेडनको नाममा थियो । उनले सन् १९८३ मा इंग्ल्याण्डविरुद्ध १२ ओभरको स्पेलमा १०५ रन खर्चिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment