Comments Add Comment

मोरङमा दैनिक २ सडक दुर्घटना, चालक र चौपाया मुख्य कारण

४ असार, विराटनगर । मोरङको सवारी दुर्घटना दर बढ्दै गएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमिति चेकजाँचका साथै जनचेतना कार्यक्रम सञ्चालन गरिए पनि ती प्रभावहीन देखिएका छन् ।

२०७२ मा जिल्लाभित्र भएका सवारी दुर्घटनामा ५४ को मृत्यु भएको थियो । त्यसयता यो दर घट्नुको साटो निरन्तर उकालो लाग्दै गएको छ । प्रहरीको तथ्यांक अनुसार, त्यसयता ३ सय ९७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

चालू आर्थिक वर्षको सडक दुर्घटना र मृत्यु दर झनै डरलाग्दो छ । प्रहरीका अनुसार, जेठ मसान्तसम्ममा ८८ जनाले विभिन्नखाले सवारी दुर्घटनामा परी जीवन गुमाएका छन् ।

यो तथ्यांकअनुसार मोरङमा औसतमा दुई दिनमा एक जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् ।

चालक र चौपाया मुख्य कारण

मोरङमा विभिन्न कारणले सवारी दुर्घटना निम्त्याइरहेका छन् । विविध कारणमध्ये चालकको लापरवाही पनि एक हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको तथ्यांकअनुसार चालकको लापरवाही दुर्घटनाको मुख्य कारण हो । ५४ प्रतिशत दुर्घटना यही कारण हुने गरेका छन् ।

त्यस्तै छाडा पशु चौपायाले पनि उत्तिकै मात्रामा सवारी दुर्घटना निम्त्याइरहेको छ ।

मोरङको बेलवारीदेखि उर्लावारीसम्मको वन क्षेत्रका सडकमा स्थानीयले पशु चौपाया बेपरवाह छाडिदिँदा दुर्घटना बढेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जिल्लामा कुल ५ सय २९ सवारी दुर्घटना भएकोमा बेलबारीदेखि उर्लाबारी सडक खण्डमा मात्र ३ सय ७ सवारी दुर्घटना भएका छन । त्यसमध्ये २ सय ५१ दुर्घटना छाडा पशु चौपायका कारण भएको छ ।

ट्राफिक पोष्ट बेलवारीका अनुसार करिव ३५ किलो मिटर वन क्षेत्रमा पर्ने सो सडकमा चालु आर्थिक वर्षमा जिल्लामा भएका सवारी दुर्घटनामा ८८ जनाको मृत्यु भएकोमा वन क्षेत्रमा पर्ने सो सडक खण्डमा छाडा पशु चौपायका कारण दुर्घटनामा परी ३७ जनाको ज्यान गएको छ ।

कानेपोखरीका सामाजिक अगुवा दिलीप राई बेलबारीदेखि उर्लाबारी क्षेत्रको सडकमा छाडा चौपायाका कारण बिहान र बेलुकाको समयमा सडक दुर्घटना बढी हुने गरेको बताउँछन् ।

पशु नछाड्न विभिन्न प्रयास नभएका होइनन् । ४ बर्ष अघि जिल्ला ट्राफिक प्रहरी, स्थानीय र पशुधनीले आफना पशु चरणका लागि जंगल क्षेत्रमा छाडा नछोड्ने सहमति गरेका थिए । यद्यपि, यो सहमति अझै कार्यान्वयनमा आउन सकेको छैन ।

मोरङका ट्राफिक प्रहरी निरीक्षक शिवकुमार पोखरेल ।

यसबाहेक तीव्र गति, मादकपदार्थ सेवनलगायतले पनि उत्तिकै मात्रामा दुर्घटना निम्त्याइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार, छाडा पशु चौपायका कारण २६, तीव्र गतिले ११ र मादक पदार्थ सेवले २ प्रतिशत दुर्घटना हुने गरेका छन् ।

जोखिमयुक्त सवारी साधन प्रयोग, सवारी साधनको क्षमता, पैदल यात्री र गुणस्तरहीन सडकले पनि दुर्घटना बढाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका ट्राफिक प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए ।

किन घटेन दुर्घटना दर ?

सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गर्दागर्दै पनि घट्न नसकेको ट्राफिक प्रहरीको मत छ । प्रहरीका अनुसार, नियमित चेकजाँचसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

‘सडक दुर्घटनालाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमसँगै नियमित चेकजाँचको कार्य पनि भइरहेको छ,’ ट्राफिक प्रहरी निरीक्षक पोखरेलले भने, ‘तर पनि यी सबै अभियान सवारी दुर्घटना न्यूनीकरणका लागि सार्थक बन्न सकेको देखिन्न ।’

तीव्र गतिबाट हुने दुर्घटना रोक्न फायर गन प्रयोगमा ल्याइएको छ । पोखरेलका अनुसार, जिल्लाका विभिन्न स्थानमा चेकिङ पोस्ट थपिएका छन । मापसे जाँचलाई पनि कडाइका साथ कार्यान्वयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment