
४ असार, काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप खोज्न गएको सशस्त्र प्रहरी बल, कुरिनटारको गोताखोर टोली घटनास्थलबाट फर्किएको छ ।
सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोर टोली पानीको बहाव तीब्र भएपछि उद्दार कार्य स्थगित गरेर फर्किएको हो ।
टोलीमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘अत्याधिक चिसो र पानीको वहाव तीब्र भएपछि उद्दार कार्य स्थगित भएको छ । भोलि विहानबाट पुनः खोजी सुरु हुन्छ ।’
मंगलबार दिउँसो तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि गएको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौनामा अनियन्त्रित भइ कर्णाली नदीमा पसेको थियो । तर, हालसम्म भेटिएको छैन ।
नेपाली सेनाको होलिकोप्टरमा एपीएफको टोली ११ः५५ बजे काठमाडौंबाट घटनास्थलका लागि उडेको थियो । टोलीमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल समेत छन् । साँझसम्म पनि जीप नभेटिएपछि उनी पनि फर्किएका छन् ।
प्रहरी अधिकृतले दिएको जानकारी अनुसार प्रारम्भिक छानविनले जीपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ८ जना रहेको देखाएको छ । शाहीका भाइ चन्द्र हमाल, ढुकु भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, चन्द्र हमाल र सवारी चालक गणिजंग शाही पनि बेपत्ता रहेको आशंका गरिएको छ ।
बेपत्ता हुने अर्का एक व्यक्तिको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ । जीपमा १० जना चढेको बताइए पनि २ जनाबारेको विवरण प्राप्त नभएको प्रहरीले बतायो ।
तस्वीरहरूः सशस्त्र प्रहरी बल, हल्चोक
प्रतिक्रिया 4