 
																			५ असार, कास्की । पोखरा महानगरले आर्थिक वर्ष ०७६/७७ का लागि साढे ७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते प्रस्तुत हुने बजेट चालु आर्थिक वर्षभन्दा १ अर्बले बढी ल्याउने तयारी गरेको हो । महानगरले गत वर्ष साढे ६ करोडको बजेट ल्याएको थियो ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । महानगरसँग ग्रामिण भेग जोड्ने कनेक्टिङ रोडलाई मुख्य योजनासहितको बजेट ल्याउन लागिएको उनले जानकारी दिए । ‘भौतिक पूर्वाधारलाई जोड दिइएको छ । त्यसमा पनि लिंकिङ रोड मुख्य प्राथमिकतामा छ,’ उनले भने । महानगरले भौतिक पूर्वाधारमा करिब बजेटको ३६ प्रतिशत ल्याउने सिलिङ ताकेको छ ।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ २ अर्ब २३ करोड बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये सडक तथा पुल निर्माण, तटबन्ध तथा बाँध निर्माण र खानेपानी संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको थियो । पोखरा महानगरले गत वर्ष सार्वजनिक गरेको साढे ६ अर्ब बजेटमा असार महिनासम्म साढे ३ अर्बमात्रै खर्च गरेको देखिन्छ ।
महानगरले आव ०७६/७७ मा १ अर्ब ५२ करोड रुपैयाँ टेन्डरमा गइसकेका बहुवर्षीय योजनालाई छुटयाउने भएको छ । बहुवर्षीय योजनामा माछापुच्छ्रे छायाँ पार्क, फेवाताल जलाधार क्षेत्र चेकडयाम, आकाशे पुल आदि छन् । ती ठेक्कामा गइसकेका बहुवर्षीय योजनालाई चालु आर्थिक वर्षमा महानगरबाट १ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भइसकेको महानगरले जनाएको छ ।
महानगरले ल्याउन लागेको नयाँ बजेटमा वडास्तरीय बजेटमा समेत भौतिक पूर्वाधारलाई जोड दिइएको छ । विभिन्न वडा कार्यालय हालसम्म पनि निर्माण भइनसकेकाले ती वडा कार्यालय भवन निर्माण गर्ने तर्खरमा महानगर छ । महानगरले वडास्तरीय भौतिक पूर्वाधार विकासका लागि करिब २३ करोड बजेटको सिलिङ तोकेको छ ।
भौतिक पूर्वाधार विकाससँगै महानगरले पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारीमा छ । पोखराका पर्यटनलाई आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउन बजेट ल्याउन लागिएको प्रवक्ता नेपालीले जानकारी दिए ।
‘पर्यटनमा पोखरा वरिपरिका होमस्टेलाई व्यवस्थित बनाउने, स्वरोजगारमुखी तालिम दिने गरी बजेट ल्याउने तयारीमा छौं,’ उनले भने, ‘यसपालिको बजेटले स्वरोजगारलाई प्रवर्धन गर्ने हिसाबले नै ल्याउँदैछौं ।’ पोखरा महानगरलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई पनि प्राथमिकतामै राखिएको उनले जानकारी दिए ।
पोखरा महानगरले सार्वजनिक जग्गा संरक्षण अभियानलाई आव ०७६/७७ मा पनि निरन्तरता दिने भएको छ । चालु आर्थिक वर्षमा महानगरले सार्वजनिक जग्गा संरक्षण वर्ष मनाइरहेको छ । उक्त अभियानलाई अझै निरन्तरता दिने गरी बजेटमा प्राथमिकतामा राखिएको प्रवक्ता नेपालीले सुनाए । उनले भने, ‘यो वर्ष हामीले सार्वजनिक जग्गा संरक्षण वर्षका रुपमा मात्रै मनायौं । अबको बजेटमा त्यसलाई थप निरन्तरता दिने गरी बजेट ल्याउँदैछौं ।’
पोखरा महानगरले बजेटअघि असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । नीति तथा कार्यक्रमका लागि बैठक तथा छलफल चलिरहेको प्रवक्ता नेपालीले जानकारी दिए । ‘नीति तथा कार्यक्रममा महानगरको भौतिक पूर्वाधार व्यवस्थित गर्ने, कामकारबाही प्रविधिमैत्री बनाउने र वडा कार्यालयमै लेखापालको व्यवस्था गर्न पाउने लगायतका कार्यक्रम ल्याउन लाइन लागेको छ,’ उनले भने, ‘वडा कार्यालयमै लेखापाल व्यवस्था भयो भने सामान्य आर्थिक लेनदेनका लागि महानगरै पुग्नुपर्ने अवस्था रहँदैन ।’
वडा कार्यालयमै लेखापालको व्यवस्था गर्नाले वडा कार्यालयहरु समेत व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4