Comments Add Comment

समता अस्पतालमा कर्मचारी मृत्यु प्रकरणः उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा

फरेन्सिक चिकित्सकको निष्कर्षः झुण्डिएरै मृत्यु

५ असार, काठमाडौं । बौद्धको समता अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ ।

सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।

तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो । कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो ।

त्यही आधारमा प्रहरीले मंगलबार तीर्था र संगीतालाई नियन्त्रणमा लिएको थियो । तर, आफन्तले दवाब चर्काएपछि बुधबार अपरान्ह सञ्चालक उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारीविरुद्ध ५ दिनलाई म्याद थपिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जाहेरी प्राप्त भइनसकेकाले कानुनी प्रक्रिया पूरा गर्न म्याद थपिएको बताए ।

यो पनि पढ्नुहोस समता अस्पतालमा ‘रहस्यमय मृत्यु’ प्रकरण : प्रहरीले जाहेरी लिन मानेन

सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिले अभद्रमा म्याद थपिएको छ । जाहेरी आएपछि त्यही अनुसार कानुनी प्रक्रिया अघि बढ्छ ।’

प्रहरीले तामाङको ‘हत्या’ भएको कुनै संकेत नभेटेपछि ज्यान मुद्दामा जाहेरी लिन समस्या भएको बतायो । महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख डीएसपी सुनिल मल्ला भने अहिले पनि पीडित र अस्पताल प्रशासनबीच छलफल भइरहेको बताउँछन् ।

स्रोतका अनुसार मंगलबार विमलाको ५ वर्षीया छोराको शिक्षा र अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने गरी सहमति भएको थियो ।

पोष्टमार्टमको निष्कर्षः झुण्डिएर मृत्यु

अनुसन्धान अधिकृत स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले विमलाको झुण्डिएर मृत्यु भएको निष्कर्ष निकालेको छ ।

अनुसन्धान अधिकृतका अनुसार मृतकका आफन्तले पनि फरेन्सिक चिकित्सकसँग कुरा गरेका छन् ।  चिकित्सकका अनुसार विमलाको शरीरमा चोट, पटकको अन्य निशान छैन ।

पोष्टमार्टमको पूर्ण रिपोर्ट शुक्रबार साँझसम्म आइपुग्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस बौद्धको समता अस्पतालमा दिनभर तनाव, दुई कर्मचारी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment