Comments Add Comment

सुनको मूल्यमा नयाँ रेकर्ड

५ असार, काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाल सुन खअहिलेसम्म्कै महंगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च हो । मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहक अत्यन्तै न्यून संख्यामा देखिएका छन् भने सुन बेच्ने ग्राहकहरुको संख्या बढेको बज्राचार्यले बताए ।

सरकारले बजेटमा सुनको भन्सार प्रतितोला एक हजार रुपैयाँले बढाउने निर्णय गरेपछि प्रतितोला ५९ हजार रहेको सुनको मूल्य ६० हजार पुगेको थियो । महासचिव बज्राचार्यका अनुसार आजको मूल्य आकाशिएको भने नेपालको आन्तरिक कारणले होइन ।

इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्धलगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको उनले बताए । ‘तत्काल सुनको मूल्य बढ्छ या घट्छ भनेर कुनै अनुमान गर्न सकिने अवस्था छैन,’ उनले भने ।

यसअघि नेपालमा २०७० साल भदौ १२ गते सुनको प्रतितोला मूल्य सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यसपछि २०७५ साल फागुन ८ गते पनि सुनको मूल्य ६३ हजार ३०० नै कायम भएको थियो ।

बिहे तथा मुूख्य चाडपर्वको सिजनमा नेपाली बजारमा दैनिक ४० किलोसम्म सुनको बिक्री हुने गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अफ सिजनमा दैनिक १० किलो हाराहारी सुन नेपाली बजारमा खपत हुन्छ ।

असारको महिना बिहेको सिजन भएकाले सुनको मूल्य वृद्धि हुँदा धेरै सर्वसाधारण प्रभावित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment