Comments Add Comment

संवेदनशिल बच्चाः तपाईंले केही भूल पो गर्नुभयो कि ?

अक्सर बच्चाहरु रुन्छन्, कराउँछन्, चिच्याउँछन्, घुक्र्याउँछन् । सानो कुरामा उनीहरु झगडा गर्छन्, रुन्छन् । सानै कुरामा खुसी एवं फुरुंग हुन्छन् ।

तपाईंले बच्चालाई कुट्नुहोस्, उनी चिच्याएर रुन्छन् । तर, केही क्षणमै उनले आफ्नो पीडा भुल्छन् । फुरुंग भएर खेल्न थाल्छन् । उनलाई गाली गर्नुहोस्, उनी डराउँछन् । तर, क्षणमै उनको डर हट्छ । तपाईंसँग लुटुपुटु हुन आइपुग्छ । यो उनीहरुको बालसुलभ प्रवृत्ति हो ।

तर, कोही बच्चा यस्ता हुन्छन् जो सानोतिनो कुराले असाध्यै दुःखी हुन्छन् । तपाईंले गाली गर्नुभयो भने त्यसबाट उनीहरुलाई गहिरो चोट पुग्छ । कुटपिट गर्नुभयो भने विक्षिप्त हुन्छन् । अरुलाई गाली गर्दा, कुटपिट गर्दा समेत उनीहरु भयाभित हुन्छन् ।

उनीहरु आफ्नो दुःखलाई सजिलै पचाउन सक्दैनन् । आफ्नो पीडालाई झेल्न सक्दैनन् । अरुले उनीहरुलाई हेला गर्न सक्छन् । तर, उनीहरुले त्यसको तुरुन्त प्रतिक्रिया जनाउँदैनन् । मनभित्रै गुम्साएर राख्छन् । आफुलाई अरुले हेला गरेको छ, दुःख दिएको छ, होच्याएको छ भन्ने कुरा उनीहरु अनुभूत गर्न सक्छन् । तर, त्यसको विरुद्ध खुलेर लड्न सक्दैनन् । चुपचाप अन्याय सहन्छन् । र, भित्रभित्रै भय, लाज र ग्लानीले कमजोर हुन्छन् ।

भावनात्मक अवस्थामा निकै नाजुक हुन्छन् । यस्ता बच्चालाई संवेदनशिल भनिन्छ ।

संवेदनशिल बच्चा हुनुमा उनको दोष होइन । त्यसैले कुटपिट गरेर, थर्काएर यस्ता बच्चालाई परिवर्तन गर्न सकिदैन । संवेदनशिल बच्चालाई परिवर्तन गर्नका लागि आमावुवाले केही सर्त र अनुशासन पालना गर्नुपर्छ, खासगरी बच्चाका खातिर ।

झट्ट हेर्दा यस्ता बच्चा सोझा देखिन्छन् । ज्ञानी जस्तो पनि लाग्छ । तर, उनीहरुको मनोदसा फरक हुन्छ । यस किसिमको बच्चालाई अरुले गर्ने बोली-व्यवहारले तुरुन्तै असर गर्छ ।

बच्चालाई स्विकार्नुहोस्

मानौ तपाईंको बच्चा संवेदनसिल छन् । उनलाई बुझ्नुहोस् । उनको भावना बुझ्नुहोस् । यदि बच्चा संवेदनसिल छन् भने बच्चाको स्वभाव बदल्ने भूल नगर्नुहोस् । बच्चालाई भयाभित बनाउने, थर्काउने होइन बरु प्रेरित र उत्साहित बनाउनुहोस् । उत्साह र प्रेरणा नै संवेदनशिल बच्चाको लागि उपयोगी ओखती हो ।

बच्चालाई स्विकार गरौं । उनको भावनालाई सम्मान गरौं ।

उनीहरुलाई खेल्नमा, रमाउनमा आफुले पनि सहयोग गरौं । उनको खुसीमा आफुपनि सहभागी बनौं । पारिवारिक माहौलमा घुलमिल गराउने, सामाजिक काममा प्रेरित गर्ने जस्ता काम गरौं ।

हठात बदल्ने प्रयास नगरौं

अभिभावकले गर्न नहुने भूल भनेको के हो भने यस्ता बच्चालाई हठात कुनैपनि निर्णय नगराउनुहोस् । उनीहरु जुन ढंगले रमाइरहेका छन्, जुन ढंगले खेलिरहेका छन्, त्यसैमा लय मिलाएर सही मार्गदर्शन दिनुहोस् । आफुले चाहेजस्तो गराउने वा बनाउने चक्करमा जबरजस्ती नगर्नुहोस् ।

बच्चालाई झार्को लाग्ने वा धेरै पट्यारलाग्ने खालको वातावरणमा नराखौं । उनीहरुलाई मधुर संगीत, आकर्षक चित्र, घतलाग्दो कथा पढ्न र हेर्न अभ्यस्त गराऔ । उनीहरुलाई शान्त वातावरणमा रमाउन दिनुपर्छ ।

बच्चालाई सुधार्ने वा बच्चाको स्वभाव परिवर्तन गर्ने चक्करमा उपदेश दिने, गाली गर्ने गल्ती नगरौं । बरु उनको लागि तपाईंले यस्तो भूमिका निर्वाह गर्नुपर्छ, जसलाई उनले अनुसरण गरोस् । तपाईं रमाउनुहोस्, उपि|mनुहोस्, खेल्नुहोस् । बच्चाले त्यस्तै सिक्छ । बिस्तारै उनलाई वाहिरका मान्छेहरुसँग घुलमिल हुन सिकाउनुहोस् ।

हार स्विकार्न सिकाउनुहोस्

उनले कुनैपनि काम गर्ने प्रयास गर्छ भने त्यसको प्रसंसा गर्नुहोस् । हतोत्साही गर्ने काम पटक्कै नगरौं । उनीहरुलाई निरास बनाउने काम पटक्कै नगरौ । किनभने संवेदनसिल बच्चालाई जहिले पनि उत्साहको खाँचो हुन्छ । उनीहरुलाई उत्साहित बनाइरहने वातावरण तय गरौ ।

तर, यसको मतलब यो होइन कि उनलाई खुसी र उत्साहित राख्ने चक्करमा सबै कुरा उनले भनेजस्तै गर्नुपर्छ । बच्चालाई ख्यालख्यालैमा सही र सत्यको वोध पनि गराउनुहोस् । खुसीसाथ हार्न पनि सिकाउनुहोस् । समस्यासँग जुध्न सिकाउनुहोस् । अभावहरु झेल्न सिकाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment