Comments Add Comment

३ खर्ब घट्यो पुनर्निर्माणको लागत

५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कूल लागत संशोधन गरी घटाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको बैठकले कूल अनुमान घटाएर ६ खर्ब ३० अर्बमा पुनर्निर्माण सम्पन्न हुने उल्लेख गरेको छ ।

यसअघि पुनर्निर्माणका सबै काम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो । वैशाख २०७३ मा तयार पारिएको विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनस्र्थापनाका सबै काम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

बुधबार बसेको विकास सहायता तथा सहजीकरण समितिको बैठकले प्राधिकरणले पेश गरेको ‘नेपालको पुनर्निर्माण र पुनस्र्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने संशोधित अनुमान र कार्यक्रम’ स्वीकृत गरेको हो । समितिले संशोधित अनुमानअनुसार कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले पनि विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर खानेपानी, सडक, पुल लगायत सरकारका नियमित निकायबाट गरिने पुनर्निर्माण र गैरसरकारी संस्थाहरुबाट गरिने पुनर्निर्माणको बजेट कटाएर प्राधिकरणको मात्रै बजेट योजनामा समेटिएको जानकारी दिए ।

उनकाअनुसार विभागीय मन्त्रालयबाट हुने पुनर्निर्माणलाई अब प्राधिकरणको बजेटमा समेटिने छैन । बजेटभन्दा बाहिरबाट गैरसरकार संस्थाले गर्ने पुनर्निर्माणका कामलाई पनि प्राधिकरणको बजेटबाट अलग गरिएको छ । यसैले शुरुको अनुमान भन्दा ३ खर्ब बढी कम लागतमा प्राधिकरणको काम सकिने भएको हो ।

प्राधिकरणकाअनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म प्राधिकरणबाट कूल २ खर्ब ९१ अर्ब रुपैयाँ खचए भइसक्छ । आगामी आव ०७६/७७ का लागि १४१ अर्ब रुपैयाँ विनियोजन भइसकेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीकाअनुसार पुनर्निर्माण तथा पुनस्र्थापनामा आवश्यक रकमको जोहो गर्न अर्थ मन्त्रालय र दातृ निकायसँग परामर्श भइरहेको छ ।

बुधबारको बैठकमा प्राधिकरणले पुनर्निर्माण र विपद् व्यवस्थापन गर्ने काममा स्थानीयकरण, सामाजिक आर्थिक तथा जीवीकोपार्जन कार्यक्रम सञ्चालन, परम्परागत सम्पदा बस्ती तथा शहरी क्षेत्रको पुनर्निर्माण एवं पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी अभिलेखिकरणमा थप सहयोग गर्न दातृ निकायलाई आग्रह गरेको थियो । बैठकले सुरक्षित नेपाल निर्माणका लागि राष्ट्रिय भवन आचारसंहितालाई संशोधन गर्दै स्थानीय तहसम्म लागू गर्नुपर्ने निर्णय गरेको छ ।

आगामी वर्ष अन्तरराष्ट्रिय सम्मेलन

प्राधिकरणको अवधि आगामी वर्ष सकिँदैछ । नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनामा प्राप्त गरेको उपलब्धी, अनुभव र सिकाईलाई अन्तरराष्ट्रिय समुदायसम्म पुर्‍याउन आगामी वर्ष पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने निर्णय समितिले गरेको छ । ‘दातृ निकायको समेत सहयोगमा अन्तरराष्ट्रिय क्षेत्रमा नमूनायोग्य काम भएका छन् । त्यसलाई स्थापित गर्न र सिकाइ आदान प्रदान गर्न अन्तराराष्ट्रिय सम्मेलन आयोजना हुनेछ,’ सीइओ ज्ञवालीले भने । उनका अनुसार यो लगानी सम्मेलन चाहिँ होइन ।

बैठकमा विश्व बैंकका कार्यबाहक कन्ट्री म्यानेजर केने एजेमेनारीले विभिन्न प्रतिकूलता हुँदाहुँदै पनि पुनर्निर्माणमा उल्लेखनीय भएको बताए । युरोपेली युनियनका हेड अफ कोअपरेसन ओभिडियो माइकले पुनर्निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा. अजयकुमारले नेपालको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता गरेको अनुदान तथा ऋण सहयोगका परियोजनाहरुलाई अगाडि लैजाने काम भइरहेको जानकारी दिए ।

चिनियाँ राजदूतावासका प्रतिनिधि लुअ सुआईले चीन सरकारले अन्तराष्ट्रिय पुनर्निर्माण सम्मेलनमा प्रतिबद्धता गरेअनुसार पुनर्निर्माणका काम भइरहेको जानकारी दिए । बेलायती सहयोग नियोग (डिफिड)को पुनर्निर्माणका विभागका टिम लिडर लियोनार्ड टेडले जोखिममा परेका वर्गका भूकम्प पीडिततर्फ ध्यान दिन सुझाव दिँदै बेलायत सहयोग गर्न तयार रहेको बताए ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी)का परियोजना विकास अधिकृत एन्ड्रयु गोल्डाले युएसएडले क्षतिग्रस्त विद्यालय, शिक्षा तथा सञ्चार क्षेत्रमा सहयोग पुर्याइरहेको जानकारी दिँदै आगामी दिनमा पनि त्यसलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

एसियाली विकास बैंकका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका प्रमुख रुडी भान डेइलले इन्डोनेसियाले विपद् जोखिम न्युनीकरणमा गरेका प्रयास नेपालका लागि पनि उदाहरणीय हुनसक्ने सुझाव दिए । उनी यसअघि इन्डोनेसियामा कार्यरत थिए ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का कन्ट्री रिप्रेजेन्टटेभिज युमिको आशाकुमाले आफूले जिम्मेवारी पाएका क्षेत्रमा पुनर्निर्माणको राम्रो प्रगति भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment