 
																			६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले सर्वसत्तावादका प्रारम्भिक संकेतहरु देखाएको निष्कर्ष निकालेको छ । साथै सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निस्प्रभावि हुँदा लोकतन्त्रको भविष्यमाथि पुनः प्रश्नचिन्ह खडा हुन थालेको बताएको छ ।
शुक्रबारबाट सुुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश डरलाग्दो संकटको चक्रव्युहमा परेको विश्लेषण गरेका छन् । प्रजातन्त्रको लागि संघर्ष गरेका, जेलनेल भोगेका तथा जनअधिकार रक्षा गर्ने प्रतिबद्धता बोकेर सरकारमा गएका तथा प्रतिपक्षमा रहेका दलहरुको अकर्मण्यता, गलत नीति, भ्रष्ट प्रवृत्ति र अन्तरविरोधको कारणबाट लोकतन्त्रको भविष्यमाथि कालो बादल मडारिन थालेको छ’ थापाले भनेका छन् ।
थापाले सरकारको चर्को आलोचना गरेका छन् । नेकपाले संसदीय शक्तिलाई देश र जनताको बृहत्तर हितमा प्रयोग गर्नुको साटो सत्ता, शक्ति र राज्यस्रोत कब्जा गर्ने आधारभूमिको रुपमा प्रयोग गर्न थालेको उनको आरोप छ ।
संवैधानिक निकाय, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टीप्रति आस्था राख्ने व्यक्तिहरु छानीछानी राखिएको, न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको भन्दै उनले भनेका छन्, भ्रष्टाचारको माध्यमबाट अकुत सम्पति जोडने काम अनवरत जारी छ ।’
अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रिकृत गरिएको, प्रेसलाई नियन्त्रण गर्ने प्रयास थालिएको, मानव अधिकार आयोगलाई पंगु बनाउन खोजिएको तथा सेनापतिलाई ‘वाईपास’ गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजिएको भन्दै थापाले भनेका छन्, सरकार सर्वसत्तावादको दिशातर्फ उन्मुख हुन खोजेको स्पष्ट बुझ्न सकिन्छ ।’
उनले अघि भनेका छन्, ‘अहिले नै सर्वसत्तावाद स्थापना भैसक्यो भन्ने होइन, तर सर्वसत्तावादका प्रारम्भिक संकेतहरु स्पष्ट रुपमा देखिएका छन् ।’
तर सरकारको लोकतन्त्र विरोधी चरित्र र गतिविधिलाई खबरदारी र नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल निस्प्रभावि हुनु दुर्भाग्यपूर्ण भएको उनले बताएका छन् ।
जनता वैकल्पिक शक्तिको खोजीमा रहेको र केहीले प्रयास गरिरहेको राप्रपा अध्यक्ष थापाले बताए । उनीहरुमा विद्यमान असफलताप्रति आक्रोश प्रकट गर्ने तथा आफूलाई मात्र चोखो ठान्ने प्रवृत्ति देखिएको भन्दै उनले राप्रपाप्रति नै आमजनताको ध्यान आकर्षित भएको दाबी गरेका छन् ।
यद्यपि पृष्ठभूमि तथा विगतका गतिविधि र टुटफुट भइरहने चरित्रका कारण अहिले नै वैकल्पिक शक्तिका रुपमा स्विकार्ने अवस्था नबनेको उनको विश्लेषण छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4