Comments Add Comment

फिनल्यान्डका मान्छेहरु किन सबैभन्दा खुशी ?

हामी ऐश-आरम खोज्छौ, धनदौलत जोड्छौ, मिठो-मसिनो खान्छौं, चाडपर्व मनाउँछौं किन ? यी सबैबाट हामी ‘खुसी’ खोजिरहेका हुन्छौं ।

जीवनको सार नै खुसी हो । हामी जति खुसी रहन्छौं, उत्तिनै हाम्रो जीवन हो । रिस, आवेग, पीडा, भय, चिन्ता, दुःख, रोग जीवन होइन । उन्मुक्त, उमंगित र उत्साहित हुनु नै जीवनको असली स्वाद हो । अतः संसारमा सबैभन्दा खुसी को होलान् ?

विल गेट्स ? किनभने उनी सर्वाधिक धनाड्य हुन् नि त । लियोनल मेस्सी ? किनभने उनको विश्वभर ख्याती छ नि त । डोनाल्ड ट्रम्प ? किनभने उनी सर्वशक्तिमान छन् नि त ।

होइन, खुसीको ब्यारोमिटरले नाप्ने हो भने उनीहरु त्यती खुसी पक्कै छैनन्, जति हुनुपर्ने हो । सम्पन्नताले खुसी किन्दैन । ख्यातीले खुसी आर्जन गर्दैन । शक्तिले खुसी तान्दैन । खुसी त एक बटुवा पनि हुनसक्छ, चर्को घाम र अप्ठ्यारो बाटोमा दिनभर हिँडेर पिपलको छहारीमा आरमसाथ पल्टिएका छन् । खुसी त एक गरिब पनि हुनसक्छन्, जो दिनभरको प्रयासपछि जसोतसो एक छाक तातो भात खानका लागि बसेको छ ।

खुसी एक मानसिक अवस्था हो । र, खुसी कहाँबाट कसरी प्राप्त हुन्छ भन्ने कुरा उनको परिवार, समाज, संस्कार र मुलुकको अवस्थाबाट निर्भर हुन्छ । विश्वमा सबैभन्दा खुसी कहाँका व्यक्ति होलान् भनेर सोधीखोजी पनि हुनेगर्छ । संयुक्त राज्य अमेरिकाको ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्क’ले विश्वभरको सर्वेक्षणबाट ‘ह्याप्पिनेस रिपोर्ट’ सार्वजनिक गर्ने गर्छ । उक्त रिपोर्ट अनुसार विश्वको सवैभन्दा खुसी मुलुक फिनल्यान्ड हो । पछिल्लो दुई बर्षको रिपोर्टले फिनल्यान्डलाई खुसी मुलुकको पहिलो सूचीमा समेटेको छ ।

फिनल्यान्डका मान्छेहरु कसरी खुसी ?

स्वभाविक रुपमा प्रश्न उठ्छ कि फिनल्यान्डका मान्छेहरु कसरी खुसी होलान् ? किन उनीहरु खुसी भएका हुन् ? के कुराले उनीहरुलाई ढुक्क र प्रफुल्ल बनाएको छ ?

अघिल्लो बर्ष बिबिसीमा एउटा फिचर प्रकासित भएको थियो, जसले फिनल्यान्डको खुसीबारे चर्चा गरेको थियो । उक्त फिचरमा एउटा दृष्टान्त यसरी पेश गरिएको थियो ।

पार्कमा बसिरहेकी एकजना बेली डान्सर पार्कबाट उठेर हिँड्छिन् । पार्कबाट हिँड्दै गर्दा उनलाई महसुष हुन्छ कि, मेरो त्यहाँ केही छुट्यो । हो उनले पार्कमै वालेट अर्थात पैसा राख्ने ब्याग छाडेर आएकी छिन् । पैसाको व्याग छुट्यो तर, उनी ढुक्क छिन् कि त्यो हराउने छैन । कसैले चोर्ने छैन । जहाँको त्यही हुनेछ । त्यसैले उनलाई पैसाको व्याग छाडेकोमा बेचैनी, औडाह, हतारो, भय छैन । उनमा नकारात्मक भाव पनि छैन । किनभने कसैले उनको चोर्ने वा लुट्ने छैन । यही कारण उनले अनावश्यक शंका-उपशंका गरिरहनु आवश्यक छैन ।

अक्सर मान्छेहरु हिँडडुल गर्ने पार्कमा पैसाको ब्याग छाडेकी छिन्, तर उनलाई कतिपनि चिन्ता वा तनाव छैन । किनभने फिनल्यान्डमा चोरिने, हराउने भय एकरत्ती हुँदैन ।

अरुको कारण दुःखी, असुरक्षित, अपहेलित हुनुपर्दैन

हामी जस्तो अरुको कारणले भयाभित हुनुपर्ने, अरुको कारणले अपहेलित हुनुपर्ने, अरुको कारणले हतोत्साही हुनुपर्ने, अरुको कारणले क्रोधित हुनुपर्ने अवस्था त्यहाँ छैन । फिनल्यान्डबासीहरु खुसी हुनुको एउटा कारण यो पनि हो । तर, यत्ति मात्र पनि काफी छैन ।

फिनल्यान्डका मानिसहरु धेरै खुलेर खुसी व्यक्ति गर्ने वा धेरै दुःखी भएर बिलौना गर्ने प्रवृत्तिका छैनन् । उनीहरु अन्र्तमुखी हुन्छन् । रिस होस वा खुसी, खुलेर व्यक्ति गर्दैनन् । उनीहरु आ-आफ्नै जिन्दगीमा मग्न हुन्छन् । उनीहरु एकदमै सन्तुलित जीवन विताउँछन् ।

फिनल्यान्डवासी खुसी हुनुमा त्यहाँको सुरक्षा स्थिती हो । कोही पनि, कसैबाट भयाभित छैनन् । सुरक्षाको प्रत्याभूत राम्ररी गरेका छन् । मानौ फिनल्यान्डमा तपाईंको मूल्यावान सामाग्री कतै छुट्यो वा हरायो, कसैले त्यसलाई लाने छैनन् ।

आपसी सहयोग, सद्भावको समाज

यी त भावनात्मक कुरा भए । खुसी हुनुमा जीवनशैली एवं रहनसहनले पनि भूमिका खेल्छ । स्वास्थ्य जीवन, सन्तुलित दिनचर्या, आपसी सद्भाव र सहयोग आदि कुराले फिनल्यान्डबासीलाई खुसी तुल्याएको हो ।

फिनल्यान्डवासीलाई धेरै खर्च गर्नुपर्ने वा कमाउनुपर्ने दवाव छैन । हामीले जीवनभरको कमाई छोराछोरीको शिक्षामा खर्च गर्छौं । पढेर पनि छोराछोरी बेरोजगार हुन्छन् । जबकी फिनल्यान्डमा अभिभावकले छोराछोरीको पढाईका लागि एकरत्ती तनाव लिनुपर्दैन । व्यायभार पनि हुँदैन । पठनपाठन, पोशाक, शैक्षिक सामाग्रीदेखि खानेकुरासम्म सरकारले नै उपलब्ध गराउँछ । त्यो पनि गुणस्तरिय ।

फिनल्यान्डमा मानवअधिकारको सम्मान गरिन्छ । लैंगिक समानताको लागि पनि उदाहरणिय मुलुक हो यो । यहाँ बेरोजगारीको पीडा पनि छैन । सबैले सबैको ख्याल राख्ने किसिमको संस्कार र राज्य संयन्त्र छ । यतिसम्म कि पर्यावरण सम्बन्धी नीति समेत सानो सानो कुरामा ख्याल गरेर तयार गरिन्छ ।

जनताप्रति पूर्ण उत्तरदायि राज्य

फिनल्यान्डमा अपराधिक गतिविधि शून्य बराबर छ । समृद्ध देश भएर पनि सरकारले जनतालाई विशेष सुविधा उपलब्ध गराएको छ । आर्थिक सुरक्षादेखि सित्तैमा स्वास्थ्य सेवा उपलब्ध गराउँछ । भनिन्छ, फिनल्यान्डमा कोहीपनि घरबारविहिन छैनन् । पर्यटक वा आगन्तुकले पनि त्यस मुलुकलाई अति सुरक्षित मान्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment