+
+
Shares

नेपालमा एसेम्बल मात्र भएका जुत्ता–चप्पलले निर्यात अनुदान नपाउने !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १५:१३

९ असार, काठमाडौं । स्वदेशमा निर्मित जुत्ता–चप्पललाई निर्यातमा अनुदान दिने घोषणा गरेको सरकारले नेपालमा एसेम्बल मात्र गर्ने उद्योग भने यसमा नसमेटिने प्रष्ट पारेको छ ।

नेपालमा एसेम्बल मात्रै भएका जुत्ता चप्पल उद्योगले निर्यात अनुदान माग गरेपछि उद्योग विभागले यस्तो प्रष्टिकरण दिएको हो ।

राजधानीमा अयोजित अभिमुखीकरण कार्यक्रममा उद्योगीहरुलाई प्रशिक्षण गर्दै महानिर्देशक विनोदप्रकाश सिंहले कच्चा पदार्थको प्रशोधनमार्फत नेपालमा वस्तु उत्पादन नगर्ने उद्योगको निर्यात अनुदानमा विभागले कडाई गर्ने बताए ।

केही नेपाली उद्योगले विदेशबाट पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल मात्रै गरेको सूचना आफूले पाएको महानिर्देशक सिहंले उल्लेख गरे ।

‘नेपालमा एसेम्बल भएका वस्तुलाई नेपाली उत्पादन मान्ने कि नमान्ने भन्नेमा विभागले छलफल गरिरहेको छ । उनीहरुको अनुदान निवेदन तत्काल स्वीकृत हुँदैन,’ सिंहले भने ।

एक साताअघि सरकारले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ लाई पहिलो संंशोधन गर्दै नेपाली जुत्ता चप्पललाई पनि निर्यातमा अनुदान व्यवस्था गरेको थियो । कार्याविधिको अनुसूची २ अन्तर्गत निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरुको सूचीमा फुटवेयर समावेश भएको थियो ।

चुलिँदो ब्यापारघाटा न्यूनीकरण र स्वदेशी उत्पादन वृद्धि गर्न अनुदानको सीमा बढाइएको सरकारले जनाएको छ । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित भई उत्पादन गर्नुपर्ने वस्तुहरु प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हातेकागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेलमा पाँच प्रतिशत अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, पोलिस्टर तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?