Comments Add Comment

गगनले गरे प्रधानमन्त्री ओलीलाई हुन सेनसँग तुलना

९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकारले कम्युनिस्ट सत्ता निर्माणको प्रयास गरेको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा मन पर्ने देश भन्दै कम्बोडियाको उदाहरण दिए । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो भन्ने होइन । सरकार चलाउन नसकेको नेपाल कम्युनिस्ट पार्टीले सरकार होइन, कम्युनिस्ट सत्ता निर्माण गर्न खोज्यो ।’

सरकारले संसदसँग भएको अधिकार नमानेको, अदालत सरकारको छाया जस्तो भएको भन्दै थापाले भने, ‘हिजो कानून उल्लंघन गर्छस् भनेर प्रश्न उठाइराख्नु भएको थियो, सरकार अहिले त्यो गर्न पाउने गरी कानून बनाउँदैछ । संसदभित्रको शक्ति प्रयोग गरेर एकपछि अर्को कानून बनाउँदैछ ।’

तर अहिले कांग्रेसले चाहेर पनि सरकार बदल्न नसक्ने भन्दै उनले साढे तीन वर्ष यही सरकार चल्ने बताए । कांग्रेस सांसद थापाले भने, ‘चल्न दिने पनि हो । तर यसलाई ठीक ठाउँमा राख्ने हो । यो भनेर मात्र हुँदैन, तागत चाहिन्छ ।’

यसका लागि कांग्रेसमा बैचारिक स्पष्टता चाहिने उनले बताए ।

उनको सम्बोधनको सम्पादित अंशः

चुनावबाट नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बन्यो । के दुई तिहाईको सरकार बन्नै नपाउने हो ? के नेपाल कम्युनिस्ट पार्टीले चुनाव जित्नै नपाउने हो ? आज हामीले नेपाल कम्युनिस्ट पार्टीले चुनाव जित्यो, त्यसकारण बर्बाद भयो भन्ने हो भने त त्यही नेपाल कम्युनिस्ट पार्टी हो, जोसँग मिलेर हामीले आन्दोलन गर्‍यौं । नेपाल कम्युनिस्ट पार्टीले भोलि दुई तिहाई होइन, तीन चौथाई पनि ल्याउन सक्छ । हामीसँग भएका सबै सिटमा निर्वाचित भएर आउन पनि सक्छ । के हाम्रो चिन्ता यो हो ? होइन ।

अहिले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार बन्यो । हामीले बनाएको संविधान कार्यान्वयनबाट यहाँसम्म आइपुगेका छौं । जनताले हामीलाई प्रतिपक्षको जिम्मेवारी दिएका छन् । साढे तीन वर्षपछि चुनाव हुन्छ । त्यसो भएको भए आज हामी देशको परिस्थितिका आधारमा कांग्रेसको भूमिका होइन, अर्को चुनावमा कांग्रेसले के गर्ने भनेर छलफल गरिरहेका हुन्थ्यौं । हामी त्यो नगरेर फेरि किन देशको परिस्थितिबारे छलफल गर्न बाध्य भएका छौं ?

अहिले सरकारले गर्नुपर्ने नियमित कामहरु छ । शान्ति सुरक्षा, सुशासनको काम छ, ती कामहरु गर्न चुकेको छ । गरेको छैन । क्षमता राख्न सकेन । नागरिक भएर चित्त दुखाउने कुरा छ, कांग्रेस भएर खुसी हुने कुरा छ । यो सरकारले धेरै राम्रो काम गरेन भने साढे ३ वर्षपछि हामी राम्रो काम गर्छौं भनेर आउन सक्ने भयौं । त्यसो भए धेरै दुःख मान्नु परेन । कुरा यहाँ गएर टुंगिन्न ।

कुरा यो भन्दा अगाडि बढ्यो र हामीलाई चिन्तित बनायो । दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यसले जसरी शासन सत्ता चलायो, संसदमा आएको विधेयकहरु हेर्नुस्, मिडिया काउन्सिल विधेयक हेर्नुस्, सूचना प्रविधि विधेयक हेर्नुस् । एकपछि अर्को कानून हेर्नुस् र सबै पारित भयो भनेर मान्नुस् । र, कांग्रेस अहिलेको जस्तो कमजोर भएको मान्नुस् । नेपालको अवस्था कस्तो होला ?

अहिले हाम्रो प्रधानमन्त्रीलाई सबैभन्दा मन पर्ने देश कम्बोडिया । कम्बोडियामा २०१४ सालमा चुनाव भयो । हुन सेन प्रधानमन्त्री हुनुभयो । विपक्षी दलले चुनावमा धाँदली भयो भन्यो र ठूलो आन्दोलन भयो । आन्दोलनसँग सम्झौता भयो, छिटो चुनाव गर्ने भनियो । तर उनीहरुले सम्झौता मानेनन् र २०१८ मा चुनाव भयो ।

२०१८ सम्म आइपुग्दा नपुग्दै हुन सेनले नेपाली कांग्रेस जस्तै प्रमुख प्रतिपक्षी दलको नेता विदेश गएको बेला अहिले हामी कहाँ छलफल भएको जस्तै त्यहाँ पनि छलफल थियो, एउटा दुईटा भ्रष्टाचारका प्रकरण थिए । त्यसमा मुद्दा लगाएर विदेश गएका प्रमुख प्रतिपक्षी दलका नेतालाई देश छिर्न दिइएन । पार्टीले बाध्य भएर नयाँ सभापति बनायो ।

नयाँ सभापतिलाई राजद्रोहको मुद्दा लगाइयो । राजद्रोहको मुद्दा लगाउनु गलत भनेर पत्रिकाले लेख्यो । प्रधानमन्त्री हुन सेनले त्यो पत्रिकाको सम्पादकलाई थुन्नुभयो । थुन्नका लागि चाहिने सबै कानुन बनाइयो । यतिले पुगेन, चुनावभन्दा ठीक केही महिना अगाडि हुनसेनको सरकारले प्रमुख प्रतिपक्षी दलमाथि नै प्रतिबन्ध लगाइदियो । प्रतिबन्ध लगाउन चाहिने कानुन त्यहाँको संसदले पारित गर्‍यो । अदालतमा गयो, मुद्दा लाग्दैन ।

अस्ति भर्खर (२०१८ मा) चुनाव भयो । २०/२२ वटा पार्टीले भाग पनि लिए । प्रेस छैन ? छ । लेख्दैन ? लेख्छ । पार्टी छैनन् ? छ । अदालत छैनन् ? छ । संसद छैन ? छ । सबै कुरा छ । १२५ सिटमा भएको चुनावमा १२५ नै हुनसेनको पार्टीले जित्यो ।

अहिले कम्बोडियामा हुनसेनको पार्टीको सरकार छ । बहुदल पनि छ । प्रेस पनि छ । अदालत पनि छ । सबै कुरा छ । संसारमा अनुदारवादी लोकतन्त्र कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण हो यो । अब मानिसहरु बन्दुक बोकेर आएर निर्वाचित सरकारलाई अपदस्थ गर्दैन, चुनावबाट यसरी नै आउँछ ।

त्यसैले समस्या नेपाल कम्युनिस्ट पार्टीको सरकार होइन । सरकार त नेपाल कम्युनिस्ट पार्टीको बनेको छ । साढे ३ वर्षपछि यसलाई बदलौंला । हामी चुनाव जितेर आउँला । राम्रो काम गरे फेरि जितौंला, नराम्रो काम गरे हारौंला । फेरि नेकपा आउँछ । अनन्तकालसम्म हामी जित्छौं भन्ने पनि छैन, हार्छौं भन्ने पनि होइन । समस्या नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो भन्ने होइन । सरकार चलाउने नसकेको नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट सत्ता निर्माण गर्न खोज्यो । समस्या यो हो ।

हाम्रो संविधानले स्पष्टसँग सरकारसँग कति अधिकार छ, संसदसँग कति अधिकार छ, अदालतसँग कति अधिकार छ, संवैधानिक आयोगसँग कति अधिकार छ, नागरिकसँग कति अधिकार छ भन्ने बन्दोबस्त गरेको छ, बाँडफाँट गरेको छ । प्रारम्भ यहीँबाट भयो । सरकार संसदसँग भएको अधिकार मान्दैन । अदालत सरकारको छाया जस्तो भएको छ । र, हिजो कानून उल्लंघन गरेर गर्छस् भनेर प्रश्न उठाइराख्नु भएको थियो, सरकार अहिले त्यो गर्न पाउने गरी कानून बनाउँदैछ । संसदभित्रको शक्ति प्रयोग गरेर एकपछि अर्को कानून बनाउँदैछ ।

यही तरिकाबाट जाने हो भने ३/४ वर्षपछि कस्तो अवस्था आउँछ भन्दा दुई वटा विकल्प छ । एउटा, स्थिर सरकारले पनि डेलिभर गर्न सकेन भनेर नागरिक सरकारसँग होइन, व्यवस्थासँग रिसाउँछन् । र, त्यसलाई प्रयोग गरेर यो व्यवस्था नै मास्ने खतरा हुन्छ ।

दोस्रो, यदि त्यो हुनबाट हामीले बचायौं भने सरकार आफैंले सत्ता निर्माण गरेर कम्बोडियामा जस्तो हुनसक्छ । चुनावचाहिँ नेपालमा हुने तर, कम्बोडियाको जस्तो । यो दुबै विकल्पमा देश गयो भने कांग्रेसले जित्यो कि हार्‍यो ? कांग्रेसले चुनाव जित्छ कि हार्छ ? यो महत्वपूर्ण होइन अहिले । साढे ३ वर्षपछि चुनाव जितौंला, जित्ने प्रयास गरौंला, नजिते हारौंला ।

कांग्रेसले सधैं यो नियति व्यहोर्नुपर्ने ? २०१५ सालमा जित्ने, ०१७ सालमा हारिहाल्नुपर्ने ? ०४६ सालमा जित्ने, ०५१ मा हारिहाल्नुपर्ने ? फेरि अहिले यत्रो लामो यात्राबाट देश शान्ति र स्थिरतामा गयो भन्नासाथ २/३ वर्षमा गडबढी सुरु भइहाल्नुपर्ने फेरि ? यो प्रणाली गइहाल्नुपर्ने ? यो व्यवस्था नजोगाउने ? हामी चिन्ता यही हो । हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र अफ्ठ्यारोमा छ, दुर्घटनामा पर्न लागेको छ ।

यसको कारण जुन चालकले चलाउँछु भनेर गाडी लिएर गएको छ, चालकले नै धोका दियो । चालकले नै गाडी अर्को ठाउँमा लिएर जान लाग्यो । तर हामीले चाहेर पनि अहिले त्यो चालक बदल्न सक्दैनौं । साढे तीन वर्ष केही हुनेवाला छैन । यही सरकार चल्छ, चल्न दिने पनि हो । तर यसलाई ठीक ठाउँमा राख्ने हो । दायाँबायाँ गर्न नदिने हो । भनेको बाटो भन्दा अन्यत्र हिँड्न नदिने हो । यो भनेर मात्र हुँदैन, तागत चाहिन्छ ।

तागत के आधारमा हुन्छ ? भर्खर हामीले गुठी विधेयकमा देख्यौं । हामी कति थियौं ? ६२/६३ जना छौं, ह्याकुलाले पेले पनि पेलिने अवस्थामा छौं संसदमा । तर बाहिर चोक र चौतारामा आइसकेपछि ‘का बेइमान ज्वाइँ’ भनेर सारा मान्छे आएपछि क्षमाक्षमा, मैले बोलेकै छैन भन्न लाइन लाग्नु पर्ने अवस्था आयो । यो हो जनताको तागत । सडकको यो तागतलाई सदनसँग एकाकार गर्नुपर्‍यो ।

यसका निम्ति कांग्रेस बैचारिक हिसाबले स्पष्ट भएन भने सम्भव छैन । कमल थापाले वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति पार्टीको मार्गदर्शक सिद्धान्त भयो भनेर भाषण गरे । हिजो बाबुराम भट्टराईले ट्वीट गर्नु भएछ, ‘वीपीलाई अपहरण गरेर लगे, जोगाऊ, जोगाऊ । म पनि साथमा छु ।’ भन्ने पनि भए, अस्ति भर्खर चुनावमा कमल थापालाई पनि भोट माग्न गएको छ, बाबुरामलाई पनि भोट माग्न गएको छ । किन माग्न गएको छ अहिलेसम्म थाहा छैन । कसले पठाएको त्यो पनि थाहा छैन । समिक्षा गर्न पनि तयार छैन ।

चुनावको कुरा मात्र होइन, हाम्रो बैचारिक कुरा पनि हो । यो परिर्वतन गरेको, संविधान ल्याएको हामीले हो पनि भन्छौं तर संविधानमा के लेख्यौं के लेख्यौं, अलमलमा पर्‍यौं पनि भन्छौं । यो पनि हाम्रो होइन, यो पनि अर्कोले भनेर आएको, त्यो पनि अर्काले भनेर आएको । यस्तो पनि पाइन्छ ? यो परिर्वतन हामीले गरेका हौं भनेर प्रष्टता नहुँदासम्म अलमल रहन्छ र यो रहँदासम्म प्रतिरोध सिर्जना गर्न सक्देनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment