Comments Add Comment

जब बालबच्चाले स्नेह र स्पर्श पाउँदैनन्

‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने । घरमा मलाई दाई भाउजुले हेला गर्ने । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भएको छैन भनेर भन्ने । यति भन्दै म बिदा माग्छु ।’

ललितपुरमा बसोबास गर्ने एक ११ बषिर्य बालकले लेखेको सुसाइड नोट हो यो ।  उनी पाँच कक्षाका विद्यार्थी रहेछन् । बागमति गाउपालिका २ माल्टास्थि कालिदेवी माध्यमिक विद्यालयमा पढिरहेका रहेछन् ।

अक्सर आत्महत्याको घटनामा युवा र वयस्क बढी हुने गर्छन् । किनभने व्यवहारिक जीवनमा आउने अनेक उतार-चढावले नै कतिपयलाई आत्महत्या गर्न उक्साउने गर्छ । उपचार गर्न नसकिने रोग लागेपछि, तिर्ने नसकिने ऋण लागेपछि, भुल्नै नसक्ने प्रेममा धोका पाएपछि मान्छेले आत्महत्याको बाटो रोज्छन् । जबकी ११ बर्षको बालकसँग न त्यतीका ऋणको बोझ हुन्छ, न उपचारकै लागि त्यस्तो बाध्यता न त प्रेममा धोका नै ।

उनले आफ्नो आत्महत्याबारे स्पष्ट खुलाइसकेका छन् । उनले लेखेका छन्, ‘मलाई कसैले माया गर्दैन ।’ खासमा उनी माया-ममताबाट विमुख भएका छन् । घरमा दाजु-भाउजुले माया गर्दैनन् । विद्यालयमा शिक्षक-शिक्षिकाले । विद्यालयमा उनले माया मात्र नपाएका होइनन्, विश्वास पनि पाएका छ्रैनन् । शिक्षकले उनलाई विश्वास गर्दैनन् । यसरी प्रेमिल वातावरणको अभावमा एउटा बालक विक्षिप्त हुन्छन् र ति सबैबाट सधैका लागि मुक्तिको बाटो खोज्छन् ।

हामीलाई सामान्य लाग्छ, तर एउटा बच्चालाई स्नेह र विश्वासबाट विमुख भएपछि कति गहिरो चोट लाग्छ ?

भनिन्छ, बालबालिका मायाका भोका हुन्छन् । उनीहरुलाई ममतामयी स्पर्शको खाँचो हुन्छ । ति बालकसँग अरु कुनै ठूलो समस्या छैन । उनी त्यस्तो अप्ठ्यारोसँग जुधिरहेका छैनन् । तर, माया पाएका छैनन् । उनलाई कसैले माया गर्दैन । बालकलाई यस्तै लाग्छ ।

आफ्नै घरपरिवारमा उनले माया पाएका छैनन् । विद्यालयले उनलाई विश्वास गर्दैन । शिक्षक/शिक्षिकाले उनलाई पत्याउँदैन । उनलाई लाग्छ, यसरी माया र विश्वासबाट विमुख भएर कसरी बाँच्नु ?

बालबालिका कस्तो मनोदसाबाट गुज्रिरहेका छन् ?

बालबालिकाको मनोदसा हामी बुझ्दैनौ । उनीहरुको भाषा सुन्दैनौ । कहिले पनि उनीहरुसँग अन्र्तसंवाद गर्दैनौ । हामीलाई के लाग्छ भने बालबालिकले केही जान्दैनन् । केही थाहा पाउँदैनन् । उनीहरुलाई जे गरेपनि हुन्छ, जे भनेपनि हुन्छ । कुनैपनि कुरालाई गंभिरतापूर्वक लिदैनन् ।

तर, बच्चाहरुको मनोभावलाई हामी  बुझ्नुपर्छ । उनीहरुको भाषा सुन्नुपर्छ । बच्चा के चाहन्छन्, के खोज्छन् ? हामीले मनन गर्नुपर्छ ।

धेरैजसो अवस्थामा हामीले बालबालिकालाई उपेक्षा गरिरहेका हुन्छौ । उनीहरुले केही बुझ्दैनन्, केही थाहा पाउँदैनन् भन्ने सोचिरहेका हुन्छन् । जबकी बच्चाहरु भित्रभित्रै पीडाले छटपटाइरहेका हुनसक्छन् । आफुप्रति गरिने रुखो व्यवहार, घृणा, असहयोग, अविश्वासले उनीहरु गलेका हुन्छन् । तर, हामी उनीहरुको मनोदशा बुझ्दैनौ ।

बच्चा कस्तो मनोदसाबाट गुजि्ररहेका छन् ? उनीहरु के चाहन्छन् ? के भइरहेको छ ? हामी चासो राख्दैनौ । जतिबेला बुझ्न खोज्छौ, त्यसबेला ढिला भइसकेको हुन्छ । हामीसँग गल्तीबोध गर्नु सिवाय केही बाँकी रहँदैन ।

त्यसैले बच्चालाई उपेक्षा नगरौं । उनीहरुको भावनामा ठेस पुग्ने काम नगरौं । उनीहरुलाई स्नेह र स्पर्शबाट विमुख नगराऔं । किनभने हामीले गर्ने यी सामान्य गल्तीबाट उनले कठोर सजाय भोगिरहेका हुन्छन् ।

अभिभावकको गल्ती

अभिभावकहरु बच्चासँग अन्र्तसंवाद गर्दैनन् । उनीहरुको भावना बुझ्ने प्रयास गर्दैनन् । बच्चासँग भलाकुरासी गर्दैनन् । बच्चाको भावनालाई सम्मान गर्दैनन् । बच्चाको कुरा सुन्दैनन् ।

एकोहोरो आफ्नो अपेक्षा र इच्छा बच्चामाथि लाद्ने गर्छन् । बच्चा के चाहन्छन् ? अभिभावकले सुन्दैनन् । आफ्नो चाहना के हो ? बच्चामाथि भारी बोकाउन खोजिन्छ । आफुले पुरा नगरेको कतिपय इच्छा र योजनाको झेला पनि बच्चाको काधमा भिराइन्छ । यसले बच्चालाई कति बोझिलो बनाइरहेको छ भन्ने कुरा हामी बुझ्दैनौ ।

बच्चालाई विद्यालय पठाएपछि जान्नेबुझ्ने हुन्छ, शिक्षित हुन्छ, जागिर खान्छ भन्ने ध्यान्नमै हामी रुमल्लिएका हुन्छन् । जबकी बच्चा कस्तो मनोदसा बोकेर विद्यालय जादैछन् ? उनी के कस्ता समस्यासँग जुधिरहेका छन् ? उनको मनमा कस्तो आँधीबेहेरी चल्दैछ ? हामी अनुभूत नै गर्दैनौ ।

शिक्षकको गल्ती

हामीकहाँ शिक्षक/शिक्षिकाहरु बालबालिकासँग खेल्ने, रमाउने गर्दैनन् । बरु डर र अनुशासनको छडी बोकेर सधै भयभित बनाइरहन चाहन्छन् । त्यही कारण बालबालिका शिक्षकसँग डराउँछन् । खुलेर कुराकानी गर्दैनन् । मित्रवत् व्यवहार गर्दैनन् ।

शिक्षकले आफुलाई शिक्षक भन्दा बढी प्रशासक जस्तै बनाउँछन् । विद्यार्थीसँग उनीहरु अन्र्तसंवाद गर्दैनन् । बरु प्रहरी र अपराधीको झै ठाडो संवाद गर्छन् । बच्चाले शीर निहुराएर, सानो आवाजमा, सर्तक पोजिसनमा कुरा गर्नुलाई अनुशासन ठान्छन् । आफुलाई देख्नसाथ बालबालिका सर्तक र अनुशासिन भएको देख्न चाहन्छन् । आफुले अह्राएको कुरा खुरुखुरु गरोस् भन्ने चाहन्छन् । शिक्षकको यस्तै प्रवृत्तिले गर्दा धेरै बालबालिका मनरोगी भएका छन् । विद्यालय र पुस्तकप्रति वितृष्णा जागेको छ ।

बालबालिकाले पढ्नैपर्छ, होमवर्क गर्नैपर्छ, सोधेको प्रश्नको जवाफ दिनैपर्छ, उत्तिर्ण हुनैपर्छ भन्ने शिक्षक/शिक्षिकाको ढिपीले धेरै बालबालिकालाई विद्यालय शिक्षाबाट विमुख गराइरहेको छ ।

शिक्षकहरु जागिरे मानसिकताले बढी काम गर्छन् । उनीहरु बालबालिकालाई जसरी हुन्छ जान्ने बनाउन लागिपर्छन । यही चक्करले गर्दा उनीहरु बालबालिकाको भावना, मनोदसा, मुड बुझ्न सक्दैनन् । बालमनोविज्ञान नबुझी आफ्नो ढर्रामा पुस्तक घोकाइरहँदा बच्चालाई नकारात्मक असर पर्छ भन्ने उनीहरु बुझ्दैन् । बच्चालाई अविश्वास गर्ने, भेदभाव गर्ने, प्रेम नगर्ने जस्ता कुराले धेरै बालबालिका शिक्षकप्रति भयभित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment