
१३ असार, बुटवल । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रक्रियाको एक महत्वपूर्ण हिस्सा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार बुटवलमा पत्रकाहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले दुबै आयोगले राम्रोसँग काम गर्न नसक्दा शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुग्न ढिलाई भएको बताए ।
‘मेरो चाहना नेपालीहरुले नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्छ र यसमा विदेशीलाई ल्याउनु हुँदैन भन्ने हो’ उनले भने, ‘नेपालले अन्तर्राष्ट्रिय जगतमा धेरै सन्धी सम्झौतामा हस्ताक्षर गरेकाले फेरि विदेशी बोलाउनुपर्ने अवस्था आउन नदिन देशभित्रैबाट टुंगो लगाउनुपर्छ ।’
यादवले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकारले विशेष ध्यान दिनुपर्ने र सबै दलहरु मिलेर समाधान खोज्नुपर्नेमा जोड दिए ।
पूर्वराष्ट्रपति यादवले आदिवासी जनजाति, मधेसी सबैका माग सम्बोधन गरेर संविधानमा रहेका खाल्डाखुल्डी पुर्दै जानुपर्ने धारणा राखे ।
वन जंगल, चुरे क्षेत्र र नदी दोहन अनियन्त्रित ढंगले बढेको र विकास निर्माण नेपालको भूगोलमैत्री नभएकोमा चिन्ता व्यक्त गर्दै पुर्व राष्ट्रपति यादवले पहाडमा ५० प्रतिशत पानीका मुहान र स्रोत सुकेको औंल्याए ।
पूर्वराष्ट्रपति यादव पाल्पामा शनिबारदेखि शुरु हुने दलित पत्रकार संघको राष्ट्रिय भेलाको उद्घाटन गर्न जाने क्रममा बुटवल आइपुगेका हुन् ।
प्रतिक्रिया 4