Comments Add Comment

‘धानका बेर्ना सुक्न थाले, खेत पटपटी फुटे’

१४ असार, बुटवल । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै छ । यसै दिन बिभिन्न जिल्लाका किसान रोपाइँ जात्रा मनाउने तयारीमा छन् । तर, रुपन्देहीका किसानको व्यथा बेग्लै छ । पर्याप्त पानी नपर्दा उनीहरुले राखेको धानको ब्याड खेतमै सुक्न थालेका छन् । खडेरीले खेतका गह्रामा धाँजा परेका छन् ।

तिलोत्तमा-४, शित्तलकुञ्जकी हेमकुमारी थापालले भनिन्, ‘खेतमा धानको बीऊ सुक्यो, गराहरु पट्पटी फुटे । तर आकाशबाट पानी पर्दै परेन ।’

रुपन्देहीमा असार पहिलो साता एक दिन दिनभर पानी परे पनि त्यसपछि भने पानी परेको छैन । मध्य असार लागि सक्दा रुपन्देहीमा ५ प्रतिशत खेतमा पनि रोपाइँ हुन सकेको छैन । आकाशे पानीको भरमा धान रोपाइँ गर्ने किसानहरु चिन्तित छन् ।

शित्तलकुञ्जकै जमुना क्षेत्री पनि कहिले आकाशबाट पानी पर्ला र धान रोपौंला भनेर बसिरहेकी छिन् । उनी भन्छिन्, ‘जेनतेन खानेपानी राखेर भए पनि बीऊ त उमारियो, अब कसरी रोप्ने ?’

उनको खेतमा आकाशे पानी बाहेक अर्को स्रोत छैन । खडेरीका कारण खेतसम्म आउने कुलो पनि सुकेको छ । खोलाकै पानी सुकेपछि खेतले पानी नपाएको महिनौं बितिसक्यो ।

जमुनाकी छिमेकी देवका डुम्रेलाई पनि समयमै धान रोप्न नपाउँदा फल नलाग्ने चिन्ताले सताएको छ । ‘जेनतेन बीऊ उमारियो, अब रोप्ने बेला पनि भयो, तर आकाशबाट पानी पर्ने सकेन । बेर्ना पनि बुढा हुन थाले । बेलामा रोप्न नपाए धान पनि राम्रो फल्दैन ।’

तिलोत्तमा नगर शित्तलकुञ्जका यी प्रतिनिधि किसानमात्रै हुन् । यही समस्या रुपन्देहीका अधिकांश किसानहरुले बेहोरिरहेका छन् । रुपन्देहीमा ८२ हजार ६ सय २२ हेक्टर जमिनमध्ये १० हजार ८ सय हेक्टरमा मात्रै सिंचाइ सुविधा छ । बाँकी ७२ हजार हेक्टर जमिनमा भने आकाशे पानीकै भरमा खेती हुने गरेको छ ।

भैरहवा-लुम्बिनी भूमिगत जलपरियोजना जीर्ण

जिल्लामा हाल साना ठूला गरी २० वटा सिंचाइ आयोजना सन्चालनमा छन् । तर त्यसबाट सबै किसानले लाभ लिन सकेका छैनन् । २० हजार हेक्टर जमिन सिंचाइ गर्ने क्षमता भएको भैरहवा-लुम्बिनी भूमिगत जलपरियोजना जीर्ण बन्दा रुपन्देहीका अधिकांस क्षेत्रमा आकासे पानीकै भर पर्नुपर्ने बाध्यता छ ।

रुपन्देहीमा ६९ हजार ४ सय हेक्टरमा धान खेती हुने गरेको छ । रुपन्देहीमा उन्नत र हाइबि्रड जातका धानको बीऊ राखिएको छ ।

कृषि ज्ञान केन्द्र नवलपरासीका अनुसार रुपन्देहीका किसानले सावा मन्सुली, साबित्री, मकवानपुर १, सुनौली सुगन्ध, काला नमक, गोरखनाथ ५०९ लगायतका धानको खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment