Comments Add Comment

साताका तीन पुस्तक : उज्ज्वलीदेखि शकुनीसम्म

असार १५ पछि पुस्तक प्रकाशकहरु जुर्मुराउन थाल्छन् । यसको कारण दशैं हो । दशैंका अवसरमा देश विदेशमा नेपाली पुस्तकको बिक्री उत्कर्षमा हुने भएकाले त्यसको तयारी असार १५ पछि हुने गर्छ । दशैंलाई लक्षित गरेर अहिले धेरै पुस्तकको प्रकाशन तयारी हुन थालेको छ ।

त्यसको पूर्व लक्षण दृष्टिविहीन लेखक कमल लामिछानेको पुस्तकबाट सुरु भएको छ । फाइन प्रिन्टबाट बजारमा आएको अन्तरदृष्टिसँगै यो साता राजेन्द्र थापाको ‘सकुनी’ र पाका साहित्यकार गगन सिंह थापाको ‘उज्ज्वली’ पनि बजारमा आएका छन् ।

उज्ज्वली लेखक गगनसिंह थापाको पाँचौं कृति हो । यो पुस्तकले सुदूरपश्चिम क्षेत्रमा रहेको जातीय छुवाछुतको कुरुप अवस्थाको वर्णन गर्छ । लेखकले आफ्नो समयमा देखेको जातीय विभेदलाई जस्ताको त्यस्तै पस्केका छन् । पुस्तक पढिरहँदा आजका पुस्तालाई यी कुराहरु अविश्वसनीय घटनासँग साक्षात्कार गरेजस्तो अनुभव हुन्छ । पुस्तकलाई लेखकले लघु उपन्यास भनेका छन् । यसअघि लेखकका सोह्र सौगात, कर्णालीका छेउछाउ मेरो मधुशाला र पूर्खाको चिठ्ठी प्रकाशित छन् ।

त्यसैगरी गीतकारका रुपमा परिचित राजेन्द्र थापाले नयाँ उपन्यास शकुनी बजारमा ल्याएका छन् । महाभारतका चर्चित पात्र शकुनीलाई उपन्यासको मूल पात्र बनाइएको छ । पुस्तकले शकुनीकै मुखबाट महाभारतको कथा भन्ने कारणले यसअघि महाभारतको कथा पढिरहेका व्यक्तिलाई यो पुस्तक फरक लाग्न सक्छ ।

तारादेवीको स्वरमा रहेको ‘पोहोर साल खुसी फाट्दा…’ गीतबाट लोकप्रिय भएका थापाले यसअघि महाभारतकै कथाबाट ‘द्रौपदी’ उपन्यास ल्याएका थिए । उनको खेलौना उपन्यास पनि प्रकाशित छ ।

उता, चितवनको जुटपानीमा घर भएका डा. कमल लामिछाने अन्तरदृष्टि नामक पुस्तक बजारुमा ल्याएका छन् । दृष्टिविहीन लामिछानेले अपाङ्गता, शिक्षा र विकासमा जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । अहिले उनी युनिभरसिटी अफ चुकुवामा विकासका विषयमा प्राध्यापन गर्छन् ।

डा. लामिछानेको आत्मकथा ‘अन्र्तदृष्टि’ पुस्तकमा एकजना सामान्य परिवारको अपाङ्ग मानिसले कसरी सपाङ्ग व्यक्तिले पनि कल्पना गर्न नसक्ने उचाइ प्राप्त गर्‍यो भन्ने अविश्वसनीय तवरले ब्याख्या गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment