Comments Add Comment

फिल्म समीक्षाः आम्बो, कति खुकुलो सम्बन्ध ?

‘आम्बो, आधा खाएर डल्लै छादेको ?’

पूर्वोत्तर भारत खासगरी दार्जिलिङको ठेट भाषा-लवजको प्रसंग आउँदा यस्तै ठट्यौली गरिन्छ । ‘आँच’, ‘अन्त हो’, ‘डल्लै’, ‘आम्बो’ ‘रद्दी’ ‘दोजु’ दार्जिलिङको पेवा भाषा हो । यसलाई तपाईं ठेट भन्न सक्नुहुन्छ, ठिमाहा भन्न पाउनुहुन्छ । अंग्रेज सभ्यताका धङ्धङ्ती बोकेको दार्जिलिङले नेपालभाषीको छुटै बोलीचाली र चालचलन स्थापित गरेको छ । लय मिलाएर र लेग्रो तानेर बोलिने यस्ता शब्दावलीहरुको बेग्लै मिठास पनि छ ।

यस्तै आञ्चलिक भाषा, सीमावर्ती लेकाली भन्ज्याङ,भूँइकुहिरो, बि्रटिशको समारिक महत्व बोकेको ल्यान्डरोभर गाडीले चलचित्र ‘आप्पा’लाई केही विशेष बनाएको छ । यो चलचित्रले कृतिम पिता-पुत्रको सम्बन्धबारे कथा मात्र भन्दैन, सीमावर्ती नेपालीको दैनिकी पनि समेट्छ ।

कस्तो छ कथा ?

बेलायतले कुनैबेला सैन्य प्रयोजनका लागि बनाएको ल्यान्डरोभर जिपमा बिर्खे (दयाहाङ राई) पयर्टक राखेर सन्दकपुरको फन्को लगाइदिन्छन् । सन्दकपुर इलाम र दार्जिलिङको  सीमावर्ती भन्ज्याङनै उनको सेरोफेरो हो ।

बाह्रैमास भूँइकुहिराले ढम्म ढाक्ने त्यो चिसो लेकमा उनी मापसे नगरी स्टेयरिङ बटार्न सक्दैनन् । खासमा उनी पियक्कड नै हुन् । तर, झल्लु हुनेगरी मात्दैनन् । मदिरासँग उनको सदबहार सम्बन्ध भने रहन्छ ।

यि रसिक, सोझा बिर्खे सधैं झै दार्जिलिङबाट बंगाली परिवारलाई बोकेर सन्दकपुर उक्लन्छन् । विरानो मान्छेसँग चाडै घुलमिल हुनु दार्जिलिङवासीको स्वभाव नै हो । केही समयको यात्रामा बिर्खे पनि बंगाली परिवारसँग घुलमिल हुन्छन् । तर, यो घनिष्ठता लामो समय टिक्दैन । गाडी दुर्घटनामा पर्छ ।

दुर्घटनामा दुई जना मात्र बाँच्छन्, बिर्खे र बंगाली परिवारका सानो बच्चा । त्यही बच्चासँग बिर्खेको आत्मियता बस्छ । बिर्खे चाहन्छन्, उक्त बच्चालाई आफ्नै छोरो बनाऔं । तर, फादर -तुलसी घिमिरे)ले भनेजस्तै बच्चा हुर्काउनु भनेको केवल खान र लाउन दिनुमात्र होइन । आफुलाई रित्याउनुपनि हो ।

के बच्चाका लागि बिर्खे आफुलाई रित्याउन तयार छ ? छोरो शिद्धार्थ (शिद्धार्थराज तामाङ) कृतिम पितासँग सम्बन्ध गाँस्न राजी छन् ? अब उनीहरुको जीवन कस्तो मोडबाट गुज्रिदै अगाडि बढ्छ ?

यस्तै जिज्ञासालाई तन्काउँदै ‘आप्पा’ले १ घण्टा ४० मिनेटसम्म सम्बन्धको कथा पेश गर्छ ।

के छ राम्रो पक्ष ?

मुलधारे सिनेमाले मेचीपारीको परिवेशलाई आफ्नो कथाको धरातल बनाएको छ । निर्देशक अनमोल गुरुङ कालेबुङवासी भएका नाताले हुनसक्छ उनले आफ्नो ठाउँ, रहनसहन, भाषा-लवजलाई दुरुस्त उतार्ने यत्न गरेका छन् । यसले पूर्वोत्तर भारतमा बसोबास गर्ने नेपालभाषीले आफ्नोपनको अनुभूत गर्न सक्छन्, जसको परोक्ष लाभ नेपाली चलचित्रको फैलावटमा पुग्नेछ ।

हुन त यसअघि पनि तुलसी घिमिरे, उगेन छोपेलले नेपाली चलचित्रलाई त्यही परिवेशमा हुर्काए । लाहुरे, साइनो उतैका कोसेली हुन् ।

‘आप्पा’ले आञ्चलिक आवरणमा लपेटिएर कृतिम पिता-पुत्रको कथा भन्छ, जसको द्वन्द्व प्रेम र घृणा हो । यसको आयम नस्लीय प्रेम, वैंशालु सम्बन्ध, हठी अभिभावकसम्म फैलिएको छ ।

गुरुङले बजारबाट निर्देशित नभई आफ्नो सीप र शैली पस्कने जमार्को गरेका छन् । यसका लागि उनले एक मर्मस्पर्शी कथा बुनेका छन् । त्यसमा सुहाउँदो पात्र छनौट गरेका छन् । कथालाई लेकाली हावापानी र सौन्दर्यसँग घुलेका छन् । ‘आप्पा’का दृश्यहरु मोहक छन् । पृष्टभूमीमा कोणधारी बनस्पति उभ्याएर ढम्म भूँइकुहिराले ढाकेको लेकाली दृश्यमा बज्ने तामाङ सेलोले दर्शकमा एकतमासको विरह भाव पैदा गर्छ, जसले विर्खेको मनोदसा पनि प्रतिबिम्बित गर्छ । तर, अन्य दृश्यहरुमा पाश्र्व ध्वनीको त्यस्तो तालमेल छैन ।

‘आप्पा’को सबैभन्दा ठूलो ताकत भनेको दयाहाङ राई हुन् । अधवैंशे उमेरका, सोझा र दयालु पात्रको रुपमा उनले आफुलाई यति जोडदार ढंगले उतारेका छन् कि, जसले दर्शकलाई पगाल्छ । उनले रैथाने लवज र ढंगमा सुरुदेखि अन्त्यसम्म तालमेल मिलाएका छन् । यस्तो लाग्छ, दयाहाङ राई दयाहाङ नभएर लेकाली माटोमा हुर्किएका बिर्खे नै हुन् ।

कहाँ चुक्यो ?

दुर्घटनामा परिवार गुमाएका बंगाली बच्चा र तामाङ अधवैंशेबीचको निर्दोष सम्बन्ध गहिराईमा नपुग्दै जुन ढंगको उतार-चढाव आउन थाल्छ, त्यसले दर्शकको भाव-आवेगसँग खेल्दैन । सुरुको केही समय चालक बिर्खे र बंगाली परिवारबीच भावनात्मक अट्याचमेन्ट जोड्न खोजिएको छ । यसका लागि एकाध गीतको पनि साहारा लिइएको छ ।

दुर्घटनामा बंगाली परिवारका अधिकांश सदस्यले ज्यान गुमाउँछन् । बाँचेका एक नाबालकसँग बिर्खेको सम्बन्ध जोडिन्छ । भयानक दुर्घटनामा परेका उनीहरु कतिपनि विक्षिप्त छैनन् बरु एकअर्कासँग साइनो जोड्ने हतारोमा छन् । अस्पतालको शैयामै उनीहरु हाँसीमजाक गर्छन् र एकअर्कालाई अंगाल्न पुग्छन् । सम्बन्धको गाँठो जहाँबाट जोड्न खोजिएको छ, त्यहीबाट यसको बिट खुस्किएको छ ।

बंगाली बच्चाप्रति बिर्खेको चिन्ता, लगावले केही हदसम्म दर्शकलाई भावुक बनाएपनि त्यसको आयम गहिराईसम्म स्पर्श गर्दैन । यसरी पिता र पुत्रबीचको सम्बन्ध घनिष्ठतामा नपुग्दै एकतर्फी माया र घृणाको खेल सुरु हुन्छ । यो सतही र कृतिम सम्बन्धमा दर्शक बहकिदैन, जसरी निर्देशकले अपेक्षा गरेका छन् ।

शिद्धार्थले आप्पा बन्न खोज्ने बिर्खेलाई जसरी घृणा र अपहेलाना गर्छ त्यो पनि स्वभाविक लाग्दैन । उनी काव्य -अलोना कबो लेप्चा)लाई प्रेम गर्न चाहन्छन् । तर, काव्यकी आमाको हठी स्वभाव उनीहरुको प्रेममा तगारो बनेपछि त्यसको दोष पनि बिर्खेमाथि नै थोपरिन्छ ।

काव्य र शिद्धार्थको भेट, प्रेम, नोकझोंक नाटकिय छ । गायकीको सानो त्यान्द्रोले जाडेको उनीहरुको सम्बन्ध कम्ता फितलो छैन । उनीहरुको अभिनयमा पनि खोट छ । फादरको रुपमा बेलाबखत उपदेश दिन आइरहने तुलसी घिमिरे पनि त्यती आवश्यक देखिदैन ।

आञ्चलिक स्वादमा एउटा अतृप्त सम्बन्धको कथा भन्नबाट निर्देशक गुरुङ चुकेका छन् ।

चलचित्र-आप्पा

निर्देशक- अनमोल गुरुङ

कलाकार- दयाहाङ राई, शिद्धार्थराज तामाङ, अलोना कबो लेप्चा आदि

जनरा- ड्रामा

अवधी- १ घण्टा ४० मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment