Comments Add Comment

आमा लाचार कि समझदार ?

आमा हरेक कुरा चुपचाप सहन्छिन् । जे भनेपनि मान्छिन्, जे गरेपनि सहन्छिन् । जस्तोसुकै दुःख झेल्छिन् । तर, परिवारको खुसीको लागि आफ्नो आँशु लुकाउँछिन् ।

कहिले काहीँ समयमा खाना पाक्दैन । कोही कार्यलय जाने हतारोमा हुन्छन्, कोही विद्यालयमा । ‘किन खाना ढिलो भयो’ भन्दै सबैले आमामाथि रिस पोख्न थाल्छन् ।

बेलाबखत खानेकुरा मिठो लाग्दैन । ‘कस्तो नमिठो खाना’ भन्दै आमामाथि रिस पोखिन्छ । घरमा कुनै सामान हराउँछ, गाली आमाले खन्छिन् । घरमा केही खानेकुरा सकिन्छ, गाली आमाले खन्छिन् । घरमा छोराछोरी झगडा गर्छन्, गाली आमाले खान्छिन् ।

सबै दोष आमामाथि

काखको बच्चा चिच्याएर रुन थाल्छ । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘किन बच्चालाई दुध नचुसाएको, किन बच्चाको ख्याल नगरेको, किन बच्चाको लुगा नफेरिदिएको ?’

बच्चा हुर्कन्छन् । विद्यालय जान आनाकानी गर्छन् । झगडा गर्छन् । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘किन बच्चालाई पुलपुल्याएको ? किन विद्यालय नपठाएको ?’

घरमा श्रीमान् मातेर आउँछन् । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘किन आफ्नो लोग्नेलाई मदिरा पिउन दिएको ? किन सम्झाई-बुझाई नगरेको ?’

घरमा हजुरआमा-हजुरबाको औषधी खाने समय छुट्छ । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘किन बुढाबुढीलाई औषधी खाने समय नसम्झाएको ?’

छोरा छिमेकका बच्चासँग झगडा गर्छन् । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘किन आफ्नो छोरालाई सम्हालेर नराखेको ?’

छोरीले घरधन्दाको काम जान्दैनन् । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘किन छोरीलाई घरधन्दाको काम नसिकाएको ?’

बिजुलीको बिल, पानीको बिल हराउँछ । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘कहाँ राखेका थियौं ? कसरी हरायो ?’

आमाले बोक्नुपर्ने छोराछोरीको पिर

छोराछोरी हुर्कन्छन् । उनीहरुलाई पकेट मनी चाहिन्छ । बाहिर घुमफिर गर्न जानुपर्ने हुन्छ । लुगाफाटो किन्नुपर्ने हुन्छ । उनीहरु आमामार्फत पकेट मनी माग्छन् । बाहिर घुम्नका लागि आमाले नै अनुमति मागिदिनुपर्छ । छोराछोरीको माग पुरा नगरे उनीहरु घुक्र्याउन थाल्छन् । खाना खाँदैनन् । रोइकराई गर्छन् ।

छोराछोरीले खाना नखाएसम्म आमालाई भोक लाग्दैन । छोराछोरी खुसी नभएसम्म आमालाई सन्तोष लाग्दैन । छोराछोरी घरमै नभएसम्म आमालाई ढुक्क लाग्दैन ।

छोराछोरीको माग पुरा गर्न आफ्ना श्रीमान्को गाली सहनुपर्छ ।

राती छोराछोरी अबेरसम्म घर र्फकदैनन् । सबैले आमालाई गाली गर्न थाल्छन्, ‘छोराछोरीलाई किन छाडा छाडेको ? कहाँ पठाएको ?’

छोराछोरी नयाँ-नयाँ फेसनको लुगा खोज्छन् । लुगाफाटो किन्ने पैसा आमाले जुटाइदिनुपर्छ । श्रीमान कराउँछन्, ‘पैसा रुखमा फल्छ ? कति दुःखले कमाएको पैसा जथाभावी खर्च गर्ने ?’

छोराछोरी गुनासो गर्छन्, ‘भनेजस्तो लुगा किन्न पैसा पुगेन । लुगाफाटो किन्न नसक्ने भए किन छोराछोरी जन्माउनु ?’

आमासँग यी प्रश्नहरुको जवाफ हुन्न । चुपचाप सहन्छिन् ।

किन सबै कुरा सहन्छिन् ?

जति गाली गरेपनि आमाले किन सहन्छिन् ? किन जवाफ फर्काउँदिन् ? सबै दोष आमामाथि थोपरिदा पनि किन चुपचाप बस्छिन् ? के आमालाई आफु दोषी हुँ भन्ने लाग्छ । के सबै कुरा आफ्नै कारणले बिगि्रएको भन्ने लाग्छ ?

आमा किन कुनै कुराको बिरोध गर्दिनन् । आफुमाथि जतिसुकै आरोप लगाएपनि, जतिसुकै गाली गरेपनि, जतिसुकै हप्कीदप्की गरेपनि किन आमाले सहेर बस्छिन् ?

आमा लाचार हुन् । उनलाई आफ्नो अस्तित्वको बोध छैन । उनलाई आफ्नो पीडा वोध छैन । उनलाई केहीपनि थाहा छैन । हामीलाई यस्तै लाग्न सक्छ ।

आमा लाचार हुन् ?

के आमा लाचार नै हुन् ? अनपढ नै हुन् । उनले केही कुरापनि महसुष गर्दिनन् ? उनलाई दुःख लाग्दैन ?

होइन, आमालाई सबै कुरा थाहा छ । के गर्ने, के नगर्ने, के भन्ने, के नभन्ने सबै कुराको निर्णय गर्न सक्छिन् । कसले गल्ती गरेको छ, कसले काम बिगारेको छ ? आमालाई सबै थाहा हुन्छ । आफुमाथि अनावश्यक आरोपहरु लगाएको कुरा पनि थाहा छ । आफुले सबै कुरा सहेको पनि बोध छ । तर, किन चुपचाप बस्छिन् त ? किन सबै सहन्छिन् त ?

किनभने आमामा विद्रोही हुन सक्दिनन् । उनी परिवारकी मियो हुन् । परिवारलाई एकढिक्का बनाउनुपर्छ भन्ने भावनाले उनलाई पगालेको छ । त्यसैले आमा सबै कुरा सहेर पनि परिवारको सन्तुलन बिग्रन दिदैनन् । आफ्नो आँशु लुकाएर परिवारको खुसी खोज्छन् ।

आमा लाचार होइनन्, समझदार हुन् । आमा अज्ञानी होइनन्, विवेकी हुन् । किनभने आमालाई नै थाहा छ, घरलाई कसरी घरजस्तै बनाएर राख्ने ? परिवारको मूल्य कसरी बचाएर राख्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment