Comments Add Comment

कसले लुट्दैछ तपाईंको हाँसो ?

साँच्चै, तपाईं दिनभरमा कति हाँस्नुभयो ? कसरी हाँस्नुभयो ? कुन प्रसंग वा विषयले तपाईंमा हाँसो ल्यायो ? के गर्दा तपाईं हाँस्नुभयो ?

धेरै टाढा नपुग्नुहोस् । हिजोको दिन सम्झनुहोस् । हिजो बिहान उठेदेखि राति सुत्ने बेलासम्म तपाईं कति हाँस्नुभयो ?

तपाईंले मनमनै गणना गर्नुभयो सायद । बिहान उठ्नसाथ तपाईं कुनै घरायसी प्रसंगले हाँस्नुभयो । श्रीमती/श्रीमानबीच कुनै ख्यालठ्टटा भयो । वा बच्चाको प्रसंगले तपाईंमा हाँसोको फोहोरा छुट्यो । दिउँसो कार्यथलोमा पनि तपाईं बेलाबखत हाँस्नुभयो । साथीभाईंसँग ‘फोकट गफ’ गरेर हाँस्नुभयो । कामको सिलसिलामा त्यस्ता हाँसउठ्दो कुनै प्रसंग फेला परेर पनि हाँस्नुभयो ।

यसैगरी सोच्नुहोस् त दिनभरमा कति पटक रिस उठ्यो ? कति पटक झर्को लाग्यो ? कति पटक उदास हुनुभयो ? कति पटक हतोत्साही हुनुभयो ?

दिनभरमा तपाईं जति समय हाँस्नुभयो, जति समय फुरुंग हुनुभयो, जति समय उमंगित हुनुभयो सायद त्यसको तुलनामा तपाईं बढी उदास र हतास पो हुनुभयो कि ? दुःखी र चिन्तित पो हुनुभयो कि ? क्रोधित र आक्रमक पो हुनुभयो कि ?

अक्सर हामीमा जति धेरै समय खुसी, उमंग र उत्साह रहन्छ, त्यो भन्दा बढी समय दुःख, निरासा, चिन्ता, क्रोध, हिनता रहन्छ । यही कारण त हरक्षण हाम्रो अनुहारमा हाँसो पोतिएको हुँदैन । बरु निरासा लिपिएको हुन्छ ।

त्यसो त दुःख थियो, अभाव र समस्या थियो । यसबीचमा पनि हामी बेलाबखत हाँस्यौं । अँ त किन हाँस्यौ ?

किन हाँस्यौ ?

हामी के कुरामा हाँस्यौ ?

संभावित जवाफ यस्तो हुनसक्छ । कुनै घतलाग्दो कुरा सुनेर । रमाइलो जोक सुनेर । कुनै भद्दा प्रसंग सुनेर ।

सोच्नुहोस् न हाँस्दा हाम्रो के नै जान्छ ? के खर्च हुन्छ ? के नष्ट हुन्छ ? के बर्वाद हुन्छ ? हाँसिदिए पुग्दैन र ?

कतिपय प्रसंग, घटना, बोली, व्यवहार यस्ता हुन्छन्, जसले हामीमा हाँसो पैदा गर्छ । हाँस्नु मानविय स्वभाव हो । यसकारण कुनैपनि त्यस्ता प्रसंगमा हामी हाँस्छौं, जो हाँसो पैदा गर्ने किसिमको होस् । अब प्रश्न उठ्छ कि त्यस्ता प्रसंग, घटना, बोली वा व्यवहार नहुनु भने हामी हाँस्नै छाड्ने ?

हाँस्नु हाम्रो मानविय स्वभाव हो भने यसलाई आफ्नो बानीमा किन रुपान्तरण नगर्ने ? दिनभरमा निरासा, उदासी रहन छाडेर धेरै जसो समय हाँस्ने हो कि ? मुस्कुराइरहने हो कि ?

कस्तो हाँसो ?

हामी दिनभर केही न केही प्रसंगले, बोली-वचनले हाँस्यौं । तर, कस्तो हाँसो हाँस्यौं ? हाँस्नुको गुणवत्ता महत्वपूर्ण छ ।

कसैको ओंठमा मात्र हाँसो देखिन्छ । कसैको हाँसो पनि रुन्चे हुन्छ । कोही बलजफ्ती हाँस्छन् । कोही अट्टहास हाँस्छन् । कोही बनावटी हाँस्छन् । तपाईंको हाँसो कस्तो छ ?

वास्तवमा त्यही हाँसो काइदाको हो, जो उन्मुक्त एवं विन्दास हुन्छ । शालिन र भव्य पनि हुन्छ । यस्तो हाँसो स्वतस्फूर्त र प्राकृतिक हुन्छ । हो, यही हाँसो हो औषधी । यस्तो औषधी जसले तपाईंको शरीरलाई प्राकृतिक रुपमै उपचार गरिदिन्छ । रोग निर्मुल गरिदिन्छ । शरीरलाई स्वास्थ्य राख्छ । मनलाई फुरुंग बनाउँछ । मनलाई तनावमुक्त बनाउँछ ।

यस किसिमको हाँसोले तपाईं मात्र होइन, तपाईंको वातावरणलाई पनि मोहक बनाइदिन्छ । जब तपाईं यस्तो शालिन, भव्य, उन्मुक्त र स्वतस्फूर्त हाँसो हास्नुहुन्छ, तपाईंको अघिल्तिर उभिएका मान्छेहरु उदास रहनै सक्दैनन् । दुःखी हुनै सक्दैनन् । उनीहरु पनि त्यसै त्यसै फुरुंग हुन्छन् ।

मान्छे मात्र होइन, तपाईंको अघिल्तिर कुनै जनवार, जस्तो कुकुर, गाईंबस्तु छ भने उनीहरुले पनि आनन्दित महसुष गरेको हामीले अनुभूत गर्न सक्छौं ।

सोच्नुहोस् त तपाईं जब उन्मुक्त हाँस्नुहुन्छ, रिस कहाँ भाग्छ ? तनाव कहाँ लुक्छ ? भय कहाँ हराउँछ ? उदासी कहाँ बिलाउँछ ?

अब बुझ्नुभो नि हाँसोको प्रभाव । जब तपाईं गजबले उन्मुक्त हाँस्नुहुन्छ, त्यसको सोझो प्रभाव मुटुमा पर्छ । मुटुको कार्यसंचालन सहज हुन्छ । रक्तप्रवाह राम्ररी हुन्छ । यस्तो हाँसोले तपाईंको फोक्सोमा पनि ताजा अक्सिजनको प्रवाह बढाइदिन्छ ।

अब मानसिक कुरा गरौं । जब तपाईं गजबले उन्मुक्त हाँस्नुहुन्छ, तनाव, पीडा, दुःख, पीर सबै एकाएक गायब हुन्छ । तपाईं उमंगित र फुरुंग हुनुहुन्छ ।

कसले लुट्यो हाँसो ?

तर, हामी यसरी हाँसेकै छैनौं । हाँस्ने कुरामा पनि हामी हाँसो दबाइरहेका छौं । मनमनै हाँस्छौ । मुसुमुसु हाँस्छौं । धेरैजसो त हामी अरुको लागि हाँसिदिन्छौं । बनावटी हाँसो । कृतिम हाँसो । हाम्रो हाँसो देखेर बरु अरुलाई हाँस उठ्ला ।

खै किन हो, प्रकृतिले सित्तैमा दिएको हाँसो पन्छाएर हामी दिनभर गंभिर हुन्छौं, संवेदनशिल हुन्छौं, भावुक हुन्छौं । हाम्रो अनुहारमा हाँसो वा मुस्कुराहट नै हुँदैन ।

हाँसो आफैमा एक ओखती हो भन्ने नबुझेको होइन । हाँस्दा आफु मात्र होइन, आफ्नो माहौल नै राम्रो हुन्छ भन्ने कुरा पनि नजानेको होइन । तर, किन हामी हाँस्न कञ्जुस गर्छौं ? किन हामीलाई हाँस्नका लागि पनि मौका कुर्नुपर्ने ? हाम्रो हाँसो कसरी लुटियो ? हाम्रो हाँसो कता गायब भयो ?

यी सबै जवाफ तपाईंले अरुसँग होइन, आफैभित्र खोज्नुपर्छ । तपाईंको हाँसो हराउनुमा मूख्य अभियुक्त तपाईं नै हो । तपाईंको कारण तपाईंको ओंठमा मुस्कुराहट हराएको हो । आफैमाथि आरोप लाग्दा तपाईंलाई झोंक चल्नसक्छ । तर, यो सत्य हो । सत्य तीतो नै हुन्छ ।

सोच्नुहोस् न हाँस्दा हाम्रो के नै जान्छ ? के खर्च हुन्छ ? के नष्ट हुन्छ ? के बर्वाद हुन्छ ? हाँसिदिए पुग्दैन र ?

न किन्नुपर्छ, न खोज्नुपर्छ । हाँसो हामीसँगै छ त । के हामी हाँस्यौ भने हाम्रो समस्या अरु बल्झन्छ ? ऋण अरु थपिन्छ ?

हो, हामीसँग समस्या छ, अभाव छ, दुःख र पीडा छ । यी कुराहरु सम्झेर हामीलाई हाँस्न भन्दा बढी रुन मन लाग्छ । तर, रुनु, दुःखी हुनु, उदास रहनु कुनै समधान त होइन । हाम्रो मानसिक स्थितीले कुनै भौतिक समधान त गर्दैन । हामी त यसरी निरास र उदास रहन्छौ कि, मानौ त्यसले ठूलै समस्या हल गरिदिन्छ ।

संसारमा सात अर्ब मान्छे छन् । यसमध्ये कोही यस्ता छैनन्, जसको जीवनमा समस्या छैन । दुःख र पीडा छैन । अब सबैजना रोइकराई गर्ने त ? दुःखी भइरहने त ?

होइन, दुःखी हुनु समस्याको हल होइन । यसले त अरु समस्या बढाउँछ । तपाईंको मानसिक समस्या बढाउँछ । रोग बढाउँछ । त्यसो भए किन नहाँस्ने ?

हाँसौं मन खोलेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment