Comments Add Comment

‘आईफा’को छलफलमा राष्ट्रियता सम्झँदै भक्कानिए सांसद !

१७ असार, काठमाडौं । सरकारले करोडौं खर्चिएर भारतीय फिल्म अवार्ड आईफा नेपालमा गर्न लागेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । सत्तारुढ नेकपाकै सांसदहरु समेत सरकारी निर्णयको विरोधमा बोलिरहेका छन् ।

मंगलबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा त नेकपाका सांसद अग्नि सापकोटा भावुक बने । पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका सचिव लगायतलाई बोलाइएको बैठकमा आइफा अवार्डको विषयमा छलफल चल्दै थियो ।

भीम रावल, सुदन किराती, प्रकाशमान सिंह लगायतले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड गर्न लागेको भन्दै विरोध गरे । सांसद सापकोटा पनि विरोध गरे ।

‘राष्ट्रियताका लागि म त क्रान्ति गरेर आएको मान्छे । तर, अहिले हाम्रो राष्ट्रियता कता जाँदैछ ?’ यसो भन्दै गर्दा सांसद सापकोटाको गला अवरुद्ध भयो ।

एकछिन रोकिएर उनी पुनः बोल्न सुरु गरे । सरकारले करोडौं रकम दिएर भारतीय फिल्ड अवार्ड गर्ने तर, सबै व्यवस्थापन उनीहरुले गर्ने तयारी रहेको भन्दै उनले यसले नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच पुर्‍याउने धारणा राखे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले आफू रोएको नभई स्तब्ध भएको बताए । ‘यो राष्ट्रियता र संस्कृतिमाथि अतिक्रमण हो’ उनले भने, देशभक्तिको कुराले मलाई धेरै छुन्छ । बैठकमा हृदयको बारुद्ध विस्फोट नै भयो ।’

अवार्ड समारोह आयोजना गर्न सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा पाँचवटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि राखेर उच्चस्तरीय समिति बनाएको छ । सहआयोजक बनेको काठमाडौं महानगरपालिकाले ४५ करोड दिने सहमति भएको छ भने अरु डिल टुंगिएको छैन ।

यो पनि पढ्नुहोस् : आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment