
१८ असार, काठमाडौं । विश्वकप क्रिकेटको लिग चरणका खेल अन्तिम चरणमा पुग्दा अहिलेसम्म सेमिफाइनल पुग्ने दुई टिमको मात्रै टुंगो लागेको छ । आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलले विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टिमको टुंगो लाग्दैछ ।
विश्वकप क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलिया र भारतले स्थान सुरक्षित गरिसकेका छन् । न्युजिल्यान्ड र इंग्ल्यान्डमध्ये एक टिम सेमिफाइनल पुग्ने तेस्रो टिम बन्दा यी दुई टिमबाटै एक टिम र पाकिस्तानमध्ये अर्को टिम पनि सेमिफाइनलमा पुग्नेछ ।
न्युजिल्यान्डले जिते के हुन्छ ?
अहिले न्युजिल्यान्डले आठ खेलमध्ये पाँच खेलमा जित, दुई खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि ११ अंक बनाएको छ ।
आजको खेलमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गरे न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्नेछ । यता, न्युजिल्यान्डको जितले उसलाई मात्रै फाइदा पुग्दैन सबैभन्दा बढी फाइदा पाकिस्तानलाई हुनेछ । किनभने पाकिस्तान पनि सेमिफाइनलको दौडमा छ ।
पाकिस्तानको ८ खेलबाट चार खेलमा जित, तीन खेलमा हार र एक खेलमा अंक बाँड्दै ९ अंक छ । यस्तो अवस्थामा आजको खेल इंग्ल्यान्डले हारेमा र पाकिस्तानले बंगलादेशलाई हराएमा पाकिस्तान सेमिफाइनल पुग्न सक्छ ।
आजको खेल न्युजिल्यान्डले जिते पनि इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायमै हुनेछ । यस्तो अवस्थामा इंग्ल्याण्ड सेमिफाइनलमा पुग्न पाकिस्तान बंगलादेशसँग पराजित हुनुपर्नेछ ।
इंग्ल्यान्डले जिते के हुन्छ ?
आजको खेलमा न्युजिल्यान्डलाई हराए आयोजक टोली विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्नेछ ।
इंग्ल्यान्डसँग हार्दा पनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ । यो नतिजाले पाकिस्तानलाई भने केही कठीन हुनेछ । न्युजिल्यान्डले ११ अंक जोडेको छ भने पाकिस्तानको ९ अंक छ । अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएमा दुबै टिमको समान ११–११ अंक हुनेछ ।
यस्तो परिस्थितिमा नेटरन रेटको आधारमा सेमिफाइनलमा पुग्ने टिमको छिनोफानो लगाउनुपर्नेछ । नेट रन रेटलाई हेर्दा न्युजिल्यान्डको प्लस ०.५७२ रहेको छ भने पाकिस्तानको माइनस ०.७९२ रहेको छ ।
त्यसकारण सेमिफाइनल पुग्ने चौथो टिमको छिनोफानो नेट रनरेटको आधारमा हुने भएमा न्युजिल्यान्ड पुग्न सक्छ । सेमिफाइनल पुग्न पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्नुपर्छ ।
प्रतिक्रिया 4