Comments Add Comment

प्रदेश २ सरकारले १४ हजार साइकल खरिद गर्दै, मूल्य फरक-फरक

१८ असार, जनकपुरधाम । प्रदेश २ सरकारले १४ हजार साइकल खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गत कक्षा ८ मा अध्ययन गरिरहेका बालिकाहरुलाई प्रदान गर्नका लागि प्रदेश सरकारले १४ हजार साइकल खरिद गर्ने भएको हो ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत प्रदेश सरकारले कक्षा ८ मा अध्ययन गर्ने १४ हजार बालिकालाई साइकल बितरण गर्दैछ । मुख्यमन्त्री कार्यालय मार्फत् बितरण हुने साइकल चार हजार थान खरिद गरिसकिएको छ ।

खरिद गरिएको साइकल मुख्यमन्त्री कार्यालयमै राखिएको छ । साइकलका सम्पूर्ण पार्टपूर्जाहरु मुख्यमन्त्री कार्यालयभित्रै ल्याएर प्राविविधकहरुले साइकल जडान गर्ने काम गरिरहेका छन् ।

मुख्यमन्त्री कार्यालयमा राखिएको साइकल धनुषा र महोत्तरीका बालिकाहरुलाई बितरण गरिनेछ । खरिद गर्न लागिएको १० हजार साइकल राजविराज र बीरगंज र जनकपुरमा स्टोर गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बीरगंजमा स्टोर गरिने साइकल पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा बितरण गरिनेछ । राजविराजमा स्टोर गरिने साइकल सप्तरी र सिरहाका बालिकाहरुलाई बितरण गरिनेछ ।

टेन्डरमार्फत् खरिद, मूल्य भने फरक

१४ हजार साइकल खरिद गर्न मुख्यमन्त्री कार्यालयले टेन्डर प्रकृया पूरा गरेको छ । जसअनुसार दुई वटा सफ्लायर्सले साइकल खरिद गरी प्रदेश सरकारलाई दिनेछ ।

हेलेक्स इन्टरप्राइजेज काठमाडौंले ४ हजार थान र वेभ सान्यो काठमाडौंले १० हजार थान साइकल प्रदेश सरकारलाई दिने जिम्मा लिएको छ । यसमध्ये हेलेक्स इन्टरप्राइजेजले आफ्नो चार हजार साइकल मुख्यमन्त्री कार्यालयलाई बुझाइसकेको छ । यी दुबै कम्पनीकोबीच झण्डै ६ सयको फरक छ ।

वेभ सान्योले हालसम्म्म साइकल नदिएको र चाँडै दिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

हेलेक्सले ४ हजार साइकल उपलब्ध गराउन रु २ करोड ६४ लाख ३७ हजार ४ सय ८० भ्याटसहितको रकम लिएको छ । यो रकम अनुसार प्रति साइकल ६ हजार ६ सय ९ रुपैयाँ ३७ पैसा परेको छ ।

१० हजार साइकलको एकमुष्ठ रु ७ करोड १९ लाख ८१ हजार मूल्य तोकिएको छ । यो मूल्य अनुसार प्रति साइकलको मूल्य ७ हजार १ सय ९८ रुपैयाँ १ पैसा पर्दछ ।

मुख्यमन्त्री कार्यालयले छुट्टाछुट्टै टेण्डर भएकाले मूल्य फरक परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment