Comments Add Comment

किन भयो जडेजा र संजयबीच विवाद ?

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटले माहोल तताई रहेको बेला सामाजिक सञ्जालमा भने भारतीय क्रिकेट टिमका सदस्य रवीन्द्र जडेजा र भारतीय पूर्वखेलाडी संजय मन्जरेकरबीच विवादले चर्चा पाइरहेको छ ।

विश्वकप चलिरहेको बेला भारतीय क्रिकेट टिमले एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । उपाधि दौडमा रहेको भारतीय क्रिकेट टिममा अलराउण्डर जडेजा पनि छन् । तर, उनले खेल्न भने पाएका छैनन् ।

दुई खेल अघि नै सेमिफइनल पुग्ने लक्ष्यमा भारत थियो तर सातौं खेलमा भने इंग्ल्यान्डसँग भारत ३१ रनले हार्न पुग्यो । हारसँगै ब्याटिङ प्रशिक्षक संजय बांगरले आठौं खेलका लागि जडेजालाई टिममा मौका दिन सक्ने बताएका थिए ।

ब्याटिङ प्रशिक्षकको भनाइलाई टिप्पणी गर्दै कमेन्टेटरको रुपमा इंग्ल्यान्डमा रहेका पूर्वभारतीय खेलाडी संजय मन्जरेकरले जडेजा राम्रो खेलाडी नभएको भन्दै प्लेइङ इलाभेनमा राख्न नहुने बताएका थिए ।

उनले जडेजाको आलोचना गर्दै भनेका छन्, ‘हामीलाई जडेजाको कुनै जरुरी छैन । उनी थोरै ब्याटिङ र बलिङ गर्न सक्छन् । म पूर्ण अर्थात राम्रा खेलाडीलाई मात्र प्लेइङ इलाभेनमा देख्न चाहन्छु ।’

उनको यस्तो अभिब्यक्तिबाट जडेजा निकै दुःखी बने र उनले सामाजिक सञ्जालमार्फत संजयप्रति आक्रोस पोखेका छन् ।

जडेजाले टुइटरमा लेखेका छन्, ‘तपाईले भन्दा दुई गुणा बढी खेल खेलिसकेको छु । अझै खेलिरहेको छु । यस्तो व्यक्तिहरुलाई सम्मान गर्न सिक्नु होला जसले धेरै सफलता हाशिल गरेको छ । मैले तपाईंको भर्बल डायरियाको बारेमा धेरै सुनेको छु ।’

संजयले भारतका लागि ३७ टेष्ट र ७४ एकदिवसीय क्रिकेट खेलेका छन् । यता, जडेजाले भने ४१ टेष्ट, १५१ एकदिवसीय र ४० टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment