Comments Add Comment

अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

Photo Credit : REUTERS । भूकम्पपछि रिजक्रेस्ट नगरमा लागेको आगो र नियन्त्रणको प्रयासमा जुटेका अग्निनियन्त्रक

२० असार, काठमाडौं । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का नेभादा राज्यको लास भेगासमा पनि महसुस भएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको दिन गएको भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् । जसबाट केही घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भूगर्वविद् प्राध्यापक जन रन्डलले बीबीसीलाई बताएअनुसार केन्द्रविन्दु रहेको रिजक्रेस्टमा उल्लेखनीय क्षति भएको छ । बाक्लो आवादी रहेको क्षेत्रभन्दा पर केन्द्रविन्दु हुँदा क्षति कम भएको उनको भनाइ छ ।

क्यालिफोर्नियाका गर्भनर कार्यालय मातहतको आपतकालीन कार्यालयका प्रवक्ता ब्राड एलेक्जेन्डले खोज तथा उद्धार कार्य भइरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भूकम्पलगत्तै ट्वीट गरेर स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

६.४ रेक्टर स्केलको भूकम्पपछि निरन्तर परकम्प गइरहेका छन् । अमेरिकी भूगर्भ निकाय (यूएसजी) का भूकम्पविद्ले अन्य कैयौं परकम्प जानसक्ने बताएका छन् । परकम्पमध्ये केही शक्तिशाली पनि हुनसक्ने भन्दै उनले सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment