Comments Add Comment

शान्ति प्रक्रिया भाँड्न चलखेल भयो : प्रचण्ड

२० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए । नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्ये एक भएको भन्दै उनले भने, ‘एकथरी मान्छेहरु यही शान्ति प्रक्रिया भाँड्न युरोपदेखिसंसारभर घुमाएर हिडेका छन् ।’

कतिपयलाई शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भन्ने लागेको हुनसक्ने भन्दै उनले भने, त्यही कारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर घाउ बनाउन पाए, क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन् ।’ तर विभिन्न नेताहरुको नेकपामा प्रवेशले सबैले प्रतिक्रियावादी षडयन्त्रमाथि एउटा सशक्त प्रतिवादको प्रतिनिधित्व गनेए उनले बताए ।

बाबुरामलाई पनि एकतामा आउन आग्रह

कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । नेताहरुले सम्मान दिन तयार रहेको भन्दै उनले भने, ‘कसरी सम्झाउने होला भनेर चिन्त लागेको छ । उहाँहरुले पनि भनिदिनुप¥यो, के सम्मान ग¥यो भने आउनुहुन्छ ।’

प्रचण्डको भाषणको सम्पादित अंश

जुन दिन हामीले पार्टी एकताको संकल्पसहित निर्वाचनमा मिलेर लड्ने, एउटै घोषणापत्रमार्फत् साझा उम्मेदवारसहित भनेका थियौं, त्यही दिनदेखि हाम्राविरुद्ध दुष्प्रचारका विविध अभियान हामीले देख्यौं । निर्वाचन परिणाम आइसकेपछि सरकार बनाउन विभिन्न खालका बिघ्नवाधाहरु पनि हामीले देख्यौं ।

सरकार बनिसकेपछि पार्टी एकताको बाटोमा अवरोध खडा गर्ने विभिन्न खालका कसरतहरु पनि हामीले देख्यौं, भोग्यौं । तर हामीले नेपली जनताको भरोसालाई, नेपाली जनताको विश्वासलाई आत्मसाथ गरेर सबैखाले घेराबन्दी र प्रयासहरुलाई चिर्दै हामी अगाडि बढ्यौं ।

नेपालमा दुईटा कम्युनिष्ट पार्टीहरुको एकता आफैंमा एउटा निकै दुरगामी, रणनैतिक महत्वको असामान्य परिघटना हो यो । मानिसहरुलाई यसलाई आत्मसाथ गर्न सायद अझै केही समय लाग्न पनि सक्छ । यसले कति ठूलो प्रभाव दिएको छ, नेपाली जनतालाई कति ठूलो भरोसा दियो । निर्वाचन अगाडि हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्छौं, हामीले दुईटा पार्टी एक हुन्छौं भनेर एउटै घोषणा लिएर, एउटै भाषा बोलेर हामी देशव्यापी अभियानमा जाँदा र हाम्रा हजारौं, लाखौं कार्यकर्ता र करोडौं जनताका बीचमा पुग्दा जुन भरोसा बन्यो र जसरी झण्डै दुई तिहाइ बहुमत दिएर कम्युनिष्ट पार्टीलाई राज्यको नेतृत्व गर्ने जिम्मेवारी दियो, त्यो आफैंमा नेपालको राजनीतिक स्थीरताको दृष्टिकोणले, कम्युनिष्ट आन्दोलनको भविष्यको दृष्टिकोणले र समृद्धिको नयाँ यात्रा प्रारम्भ गर्ने दृष्टिकोणले महत्वपूर्ण त छँदैछ ।

यो हाम्रो एकताले विश्वव्यापीरुपमा पनि निकै नै बलियो सन्देश दिएको छ । आम जनतालाई राम्रो परिवर्तन, सकारात्मक परिवर्तन, न्याय समानता सम्भव छ । किनकी दोस्रो विश्वयुद्धपछि अझ त्यसमा पनि मुख्य रुपमा सोभियत संघको बिघटन र खुदी युरोपका कम्युनिष्टहरुको बिघटनपछि रक्षात्मक परिस्थितिमा कम्युनिष्ट आन्दोलन धकेलिएको थियो । नेपालमा हाम्रो एकतामार्फत् हामी आक्रामक ढंगले अगाडि जान सक्छौं, नयाँ तरिकाद्वारा, भिन्नरुपमा, परिस्थितिमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै, मार्कसवादलाई त्यसअनुरुप विकसित गर्ने उद्देश्यका साथ हामीले जे ग¥यौं, संसारभरका श्रमजिवी, न्यायप्रेमी जनतामा एउटा नयाँ खालको सन्देश, नयाँ उत्साह, नयाँ भरोसा नेपालबाट, सगरमाथाको देशबाट गएकै छ ।

तपाई हामीले अहिले भर्खरै यसको गहिराइ, यसको उचाइलाई राम्रोसँग विचार गरेका छौं कि छैनौं त्यो एउटा प्रश्न हो । तर त्यसको असर विश्वव्यापी रुपमा परेकै छ । र प्रतिक्रियावादीहरु यसलाई के गरी ढलाउने हो, सगरमाथाबाट गएको हुनाले यो संसारभर देखिएको छ । सबभन्दा अग्लो टाकुरामा कम्युनिष्टहरुको दुई तिहाइ बहुमत, लोकप्रिय मत अनि समृद्धिको नारा लिएर अगाडि जाने संकल्प, भनेपछि प्रतिक्रियावादी शक्तिहरुलाई यो सहिसक्नु भएको छैन । यसकारण उनीहरु यति धेरै षडयन्त्रमा छन्, तपाई पत्रकार साथीहरुले अलि नजिकबाट हेरिराख्नु भएकै होला, के गरी शान्ति प्रक्रिया तुहाइ दिन सकिन्छ कि, के गरी यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्न सकिन्छ कि, कम्युनिष्ट पार्टीभित्र कहाँकहाँ थोरै छलफल देखियो या केही पनि नभए पनि झगडाको आविश्कार गरेर भए पनि तिललाई ताड बनाएर हुन्छ कि, नेतैपिच्छे बिभिन्न खालका आरोपित गरिदिएर हुन्छ कि ।

तपाईंहरुले कत्तिको विचार गर्नु भएको छ, नेपालको शान्ति प्रक्रिया संसारको सबभन्दा सफल शान्ति प्रक्रिया हो, तर एकथरी मान्छे यही शान्ति प्रक्रिया भाँड्नको लागि तपाईंहरुले देख्नुभयो नि युरोपदेखि कहाँ कहाँ संसारभर घुमाएका छन्, अनौठो अनौठो भाषा बोल्दैछन् उनीहरु । कतिपयलाई लाग्न सक्छ, कम्युनिष्ट पार्टीलाई गाली ग¥यो हो, शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भनेर लागेको होला, व्यक्तिगत फाइदा पनि कतिपयले खोज्या होलान् । कतिपयले भन्छन् शान्ति प्रक्रिया त उद्योग जस्तो भयो, कमाइ खाने भाँडोजस्तो । तर यो राष्ट्रको हितको निम्ति, राष्ट्रको एकताको निम्ति, यो परिवर्तनको सुदृढीकरणको निम्ति र नेपाली जनताको चाहनाको निम्ति निकै नै घातक हो भनेर बुझ्न जरुरी छ ।

हामीले शान्तिप्रक्रियाको असाध्यै संवेदनशील पक्षलाई बडो सफलताको साथ, संसारको सबभन्दा स्टोरीको रुपमा स्थापित गरिनै सकेका छौं । र, यो सफल भएको एकथरीलाई मन परेको छैन । त्यसकारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर, अनेक गरेर घाउ बनाउन पाएर त्यहाँ क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन् । यो परिस्थितिमा आज जो कमरेडहरु हाम्रो पार्टीमा अझ समाहित हुनु भएको छ, परिवर्तनका उपलब्धी जे छन्, तिनको रक्षा गर्नुपर्दछ, अगाडि जानुपर्दछ र राष्ट्रलाई अगाडि लानुपर्दछ भन्ने संकल्पसहित आउनु भएको छ । त्यसले सबैखाले प्रतिक्रियावादी षडयन्त्रमाथि एउटा सशक्त प्रतिवादको प्रतिनिधित्व गर्छ भन्ने मलाई लाग्छ ।

आज आउनु भएका साथीहरु धेरैजसोलाई म चिन्छु । चिन्छु मात्रै होइन, आफैंले प्रशिक्षित गरेका नेता, कार्यकर्ताहरु हुनुहुन्छ । उहाँहरुमध्ये धेरैजसो सफल नेता–कार्यकर्तामध्येका हुनुहुन्छ ।

अब नयाँ केही हुन्छ भन्ठान्नुभयो केही समय, अहिले झल्याँस्स हुनु भएको छ, नयाँ हुने कुरा चाहिँ रहेनछ । मैले त सधैं भन्ने गरेको छु, उहाँहरु आउँदा चाहिँ यहाँ घरमै बसिराखेका भन्दा बिहान निक्लेर हिँडेका छोराछोरी फर्केर आउँदा तिनको बढी मायाँ लाग्छ रे के । मलाई त्यस्तै भाछ ।

सफल व्यवसायी पनि यहाँ आउनु भएको छ । नेतृत्व गर्ने बिभिन्न मोर्चामा लडाइँ राम्रोसँग लडेर सफल भएका साथीहरु पनि आउनु भएको छ । महिला आन्दोलनदेखि महिला राजनीतिका विविध क्षेत्रमा राम्रो सफलता हासिल गरेका साथीहरु आउनु भएको छ, म खुसी व्यक्त गर्न चाहान्छु । उहाँहरुप्रति गर्व गर्न चाहान्छु ।

मलाई आजभोलि के लाग्छ भने यो कम्युनिष्ट पार्टी हामी दुईटा धाराबाट अगाडि बढ्दै आएर मिसियौं एकै ठाउँमा । ती दुईटा स्कुलजस्ता थिए । ती दुईटा स्कुल मर्ज गरेर एउटै विश्वविद्यालय बन्न आइपुगेका छौं अहिले । जोजो जहाँजहाँ भए पनि त्यो वर्षौंदेखिको स्कुलिङको कारणले अन्ततः हामी एउटै निष्कर्षमा आउँदा रहेछौं भन्ने महसुस भएको छ । मलाई गर्व छ ।

अब म लामो कुरा नगरीकन बाँकी रहेका कमरेडहरु पनि छिटोभन्दा छिटो समाहित हुन आउनुस्, ढिलो हुन्छ अब । त्यसकारण पुरोनो पिँढीका केही नेताहरु, उहाँहरुलाई कसरी सम्झाउने भन्ने मलाई बडो चिन्ता लाग्ने गर्छ । हामीलाई युवा अवस्थामा प्रशिक्षित गर्ने मोहनविक्रम सिंह, चित्रबहादुर केसी, उहाँहरुलाई कसरी सम्मान गर्ने होला ।

उहाँलाई के सम्मान गरेदेखि राष्ट्रको एकताको निम्ति, कम्युनिष्ट आन्दोलनको एकताको निम्ति सँगै आउनु होला भन्ने चिन्ता मलाई लागिराख्छ । उहाँहरुप्रति अहिले पनि सम्मान छ । तर, यो राष्ट्रको स्वतन्त्रता र स्वाधिनतालाई सुदृढ गर्न, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन उहाँहरुलाई के सम्मान हामीले गरेदेखि उहाँहरु खुसी हुनुहुन्छ । उहाँहरुलाई के भन्न मन लाछ, त्यो भन्ने वातावरण हामीले यो पार्टीमा दिने उहाँहरुलाई । त्यसमा हामीले कुनै कन्जुस्याइँ गर्ने छैनौं । तर, उहाँहरु आउनुपर्यो ।

हाम्रो भक्तपुरमा रोहित जी (नारायणमान बिजुक्छे) हुनुहुन्छ । उहाँ पनि एउटा धारा हो । अनौठो, अनौठो पनि लाग्छ कहिलेकाहीँ । उहाँ पनि यहाँ हुनुपर्छ भन्ने लाग्छ मलाई । उहाँलाई हामीले के सम्मान गरिदिएदेखि कम्युनिष्ट आन्दोलनलाई एकैठाउँमा ल्याउने, राष्ट्रलाई एकै बनाउने, सबै मिलाएर विकास र समृद्धितिर लाने भन्नेमा के गर्दा ठीक हुने हो, उहाँहरुले हामीलाई भनिदिए हुन्थ्यो ।

मेरो त तपाईं पत्रकारहरु धेरैजसोले गुरु भन्ने गर्नुहुन्छ, मोहन वैद्य जी । मेरो हृदयदेखि सम्मान पनि छ उहाँलाई । तर, उहाँलाई कसरी बुझाउने होला भन्ने चिन्ता हुन्छ मलाई । उहाँहरु पनि आउनुपर्ने हुन्छ ।

प्रचण्डले बाटो बिराएर कता गयो, म चाहिँ सोझ्याउँछु भनेर विप्लवहरु नहुने र असम्भव बाटोतिर उहाँहरु बल गर्नुभाछ । नगर्नुस् बल । बरु हामी कम्युनिष्टहरुको यत्रो बहुमत भएको सरकार भएको, सामाजिक न्याय, समानता र समृद्धिको लागि प्रयास भएको बेलामा उहाँहरुको बलबुद्धि त यहाँ पो लगाउनुपर्ने हो । सबैलाई समाहित हुन अपिल गर्ने अवसर पनि म ठान्छु ।

त्यसैगरी भर्खरै जो कमरेडहरु यहाँ आउनुभयो । उहाँहरुको नेतृत्व गरेर नयाँ बनाउँछु भन्ने कुरालाई अगाडि बढ्नु भएका बाबुराम जी । बाबुराम जीको वौद्धिकताले अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन । कम्युनिष्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो । उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो ।

जतिबेला उहाँ कम्युनिष्ट पार्टीमै हुनुहुन्थ्यो, उहाँको धेरै ठूलो महत्व थियो । धेरै ठूलो भूमिका पनि थियो । तर, अहिले त्यस्तो स्थिति छैन । म उहाँलाई पनि र सबै कम्युनिष्टहरुलाई नेपालको इतिहासको यो अवसरमा एक ठाउँमा केन्द्रित हुनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्न म अपिल गर्न चाहान्छु । आजको दिनले फेरि एकचोटी सबैलाई सोच्नलाई प्रेरित गरोस् ।

पत्रकार साथीहरु र सबै कमरेडहरुलाई पनि राष्ट्रको एकताको निम्ति, देशको समृद्धिको निम्ति र जनताको खुसीको निम्ति हामीले यो अवसर गुम्न दिनु हुँदैन । त्यसको निम्ति सबैको साझा प्रयास जरुरी छ भन्ने अपिल गर्दै र फेरि एकचोटी आज पार्टीमा जोडिन आउनु भएका कमरेडहरुले सही निर्णय गर्नुभएको छ, तपाईंहरुलाई स्वागत र बधाइ भन्दै मेरो भनाइ टुंग्याउँछु, धन्यवाद । अभिवादन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment