+
+
सामाजिक बहस :

दलितहरू हिन्दू समाजमा मात्र होइन, संसारैभरि छन्

आत्मविश्वास नभएकाले मात्रै आरक्षणको विरोध गर्छन्

सुरज येङ्दे सुरज येङ्दे
२०७६ असार २० गते २१:३६

समाजमा अझै पनि जातीय छुवाछुत कायमै छ । विगतमा कुनै निश्चित समूहलाई अर्को समूहमाथिको सर्वोच्चता कायम राख्न यसको सुरुवात भएको थियो । आज खेत र गोठमा काम गर्ने कामदारका सन्तान पनि पुस्तौँपुस्तासम्म कामदार नै रहून् भन्नका लागि यस्तो व्यवस्था भएको थियो । दक्षिण एसियालाई नै हिन्दू विचारधाराले निर्देशित गरेको अवस्थामा यो एक धार्मिक आधिकारिकताको अङ्ग बन्न पुग्यो । तर, दलितको समस्या हिन्दू समाजमा मात्र सीमित छैन ।

म जातीय समस्या एक विश्वव्यापी समस्या हो भनेर वकालत गर्दछु । ‘जाति’को अङ्ग्रेजी शब्द ‘कास्ट’ नै पोर्चुगेली भाषाबाट उत्पत्ति भएको हो र यसको शाब्दिक अर्थ ‘विभाजन’ भन्ने हुन्छ । हरेक समाजमा ऐतिहासिक विभाजनहरू छन् । बौद्ध समाजमा पनि छ, मुस्लिममा पनि छ । सर्वोच्चताको विचारमा आस्था राख्ने जुनसुकै धर्मका अनुयायीले पनि जातीय व्यवस्था मान्दछन् । सर्वोच्चता जुन क्षेत्रमा पनि हुन सक्छ । जस्तो– युरोपमा युरोपेली सर्वोच्चता छ । मेरा लागि त संसारका हरेक ठाउँमा दलित छन्, संसारका हरेक ठाउँमा बाहुन छन् ।

तर, तिनीहरूबीच विभिन्न समानता र भिन्नता छन् ।

पहिलो समानता के हो भने थिचोमिचोको ऐतिहासिक स्वरूप अद्यापि निरन्तर कायम छ । दोस्रो–सबै व्यवस्था व्यक्तिको जन्ममा आधारित छ । तपाईं जुन परिवारमा जन्मिनुभो, त्यो कुराले तपाईंको सम्पूर्ण जीवन यात्रा निर्धारण गर्छ । तेस्रो कुरा : यो संरचनागत व्यवस्था हो, अर्थात् यसमा विभिन्न संरचना छन् । चौथो, यो व्यक्तिगत तहमा देखिन्छ, तपाईं आफ्नो व्यक्तिगत बुझाइका आधारमा जातीय विभेदको अभ्यास गर्नुहुन्छ । पाचौं, विभिन्न सांस्कृतिक स्वरूपमा यो सन्दर्भलाई कायम राखिएको छ । विभिन्न विविधताहरू पनि छन् ।

सकिएको छैन जाति व्यवस्था

यी सबै कारणले गर्दा दलितहरू आर्थिक तथा राजनीतिक संरचनाको पुछारमा रहेका छन् । तर, जातीय मुद्दा नै पुरानो भइसक्यो, आर्थिक सामाजिक विभेद मात्र बाँकी छ भन्ने भनाइ पनि तर्कहीन छ । यो तर्कले खालि आम मानिसलाई मूर्ख बनाइरहेको छ, हतोत्साहित गरिरहेको छ । आर्थिकरूपमा विभाजित हरेक समाजमा त्यो विभाजनलाई सम्भव बनाउने संरचनाहरू हुन्छन् । जाति व्यवस्था पनि एउटा त्यस्तै संरचना हो । आर्थिक विभाजन पुँजीमाथिको नियन्त्रणमा भएको असमानताको उपज मात्र होइन । जाति व्यवस्था कायम रहेकैले आर्थिक विभाजन अझ झाँगिएको हो ।

यदि जाति व्यवस्था सकिएको भए ब्राह्मणहरू कसरी संसारको आध्यात्मिक सम्पत्तिमा आफ्नो एकाधिकार कायमै राख्न सक्षम छन् ? किन मन्दिरहरूमा उनीहरूकै एकाधिकार छ ? जाति व्यवस्था पुरानो भइसक्यो भन्ने तर्क गर्नेहरूले जाति व्यवस्थाका कारण आफूले पाएको लाभलाई त्याग्ने साहस देखाउनुपर्छ ।
मेरो बुझाइमा त जाति व्यवस्था जस्तो थियो, त्यस्तै नै छ । त्यसैले यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।

जाति व्यवस्थामा आधारित समाजमा तपाईँ बाहुन भएर जन्मिनुहुन्छ भने मान्नुस् कि तपाईं अरूभन्दा १० कदम अगाडि हुनुहुन्छ । बाहुन भएर जन्मँदैमा विशेष अधिकार पाइसक्नुभयो । तपाईँको आफ्नो सञ्जाल बनिसकेको हुनेछ, ठाउँठाउँमा तपाईँका मान्छे हुनेछन् । तपाईँमाथि जन्मजात नीच भएको विचार लादिएको छैन । बरु नियम बनाउन, अवलम्बन गर्न, अरूलाई नियन्त्रणमा राख्न सिकाइएको छ । आत्मविश्वासका साथ अगाडि बढ्न सिकाइएको छ । तपाईँको यो विशेषाधिकार कसैले खोस्न पनि सक्दैन ।

अब तपाईं, तपाईंकै छिमेकको एक दलितको जीवन सम्झनुहोस् । त्यो दलित जसका आमा बा अरूका घरमा दास भएर काम गर्दछन्, वा छिमेकमा ढल सफा गरेर जीविका चलाउँछन् । ती आमाबाबुले आफ्ना सन्तानलाई के सिकाउलान् ? भविष्यको कस्तो चित्र देखाउलान् ? दलित बालबालिकालाई कसरी सोच्ने भनेर सिकाइएकै हुँदैन, उनीहरू सपना देख्न पनि सक्दैनन् । अझ उनीहरूका लागि प्रेरणाका स्रोत कोही पनि हुँदैनन् । मद्यपानको कुलतमा लागेको बाबुका अगाडि छिमेकमा हर दिन झैझगडा गरेको हेर्ने बालकले कसलाई आफ्नो आइडल मान्छ ?

जाति व्यवस्थाले दलितबाट आत्मविश्वासलाई उडाएर लैजान्छ । हजारौँहजार वर्षदेखि शिक्षा प्रणालीमा एकाधिकार कायम गरेका बाहुनहरूसँग तिनको तुलना गर्नुहोस् त ।

अझै सशक्त आरक्षण प्रणालीका पक्षमा

यसरी विभेदमा पारिएका समुदायहरूको स्तरोन्नतिका लागि आरक्षणको व्यवस्था हुनुपर्छ । वास्तवमा आरक्षण स्रोत साधनमा कहिल्यै पहुँच नभएका मानिसलाई हामीसँगै ल्याउनका लागि एक अवसर हो । हामीजस्तै अन्य मानिसलाई भेटेर मित्रताको वातावरण निर्माण गर्ने सुवर्ण अवसर आरक्षण मार्फत् प्राप्त हुन्छ ।

तर, आजभोलि केही मानिस आरक्षण लगायत सकारात्मक विभेदका विभिन्न प्रणालीको विरुद्धमा छन् । आत्मविश्वास नभएका तथा गुणस्तरका आधारमा अगाडि बढ्न नसक्नले मात्रै आरक्षणको विरोध गर्दछन् । यदि तपाईँमा गुणस्तर छ भने त, जोसुकै लड्न आओस्, तपाईँ तम्तयार भएरै बस्नुहुन्छ नि । हिजोअस्तिदेखि स्कुल जान पाएको समुदायसँग तपाईँ किन डराउनुपर्छ र ? जस्तोसुकै स्तर, प्रतिभा र पृष्ठभूमिका मान्छेसँग लड्न तयार हुनुपर्‍यो नि ।

आरक्षण व्यवस्था अझै चर्को हुनुपर्छ । केही सिट छुट्याएर मात्र पुग्दैन । अझ धेरै सकारात्मक विभेद हुनुपर्छ । तल्लो जातिका मानिसलाई पनि सर्वोच्च पदसम्म पुग्न सहयोग गर्ने प्रणाली चाहिन्छ ।

तर, आरक्षणमा मात्रै केन्द्रित हुँदा हामीले धेरै कुरा गुमाइरहेका छौँ । आरक्षणलाई अन्य प्रगतिशील उपायहरूसँगै लैजानुपर्छ ।

आरक्षणको समयसीमा तोक्ने भन्ने कुरा वस्तुगतभन्दा पनि विषयगत मुद्दा हो । हामी भनौँला कि भोलिदेखि छुवाछुत अन्त्य हुन्छ । हो, साँच्चै नै अन्त्य भयो भने आरक्षण चाहिएन । तर, यो हालका लागि काल्पनिक कुरा हो । मान्छेलाई झुक्याउने कुरा मात्र हो ।

मानौँ, जाति व्यवस्था भनेको एउटा गाउँमा गुडिरहेको रेल हो । यसको गति यति धेरै छ कि धेरै मान्छेहरू रेल चढ्न भ्याएका छैनन् । आरक्षण भनेको त्यस्तो प्रणाली हो, जसले उनीहरूलाई रेलसम्म लैजान सहयोग गर्छ । तर, अन्तिम गन्तव्यमा भने यसले पुर्‍याउँदैन ।

आरक्षणको अन्त्यले पनि समाधान दिने होइन । ठीक छ, हामी आरक्षण अन्त्य गर्नै चाहान्छौँ भने सबै जातजातिका लागि समानुपातिक सिट विभाजन गरौँ न त । बाहुनको जनसङ्ख्या १२ प्रतिशत भए, त्यति नै सिट दिऔँ । हरेक समुदायलाई आ–आफ्नो आकार अनुसार प्रतिनिधित्व गर्न दिऔँ ।

अन्यथा तपाईंले दलितलाई दोस्रो तहका मानिसका रूपमा, आफूभन्दा भिन्न वा अन्यका रूपमा व्यवहार गर्ने काम नटुङ्ग्याएसम्म आरक्षण जारी रहन्छ । यस विषयमा धेरै टाउको दुखाउनै पदैन । समानता कायम भएको दिन दलित आफैँले आरक्षणलाई छाड्नेछन् ।

उसोभए के चाहिन्छ त ?

आरक्षणसँगै स्रोत साधनको पुनर्वितरण हुनुपर्छ । अन्य १०–१५ प्रकारका सुविधा पनि हुनुपर्छ ।

हामीले दलित जनसङ्ख्यालाई मानवीयताबाट वञ्चित गरेका छौँ । समान सम्मान पाउने उनीहरूको चाहनालाई बेवास्ता गरेका छौं । तर, यो समुदाय आफैमा भने विश्वासै गर्न नसकिने सामना क्षमताका साथ बसेको छ । त्यही क्षमताका साथ कठिनाइसँग जुध्दै आएको छ । अझ समाजलाई चुनौती पनि दिँदै आएको छ ।

समता फाउन्डेसनले शुक्रबार ललितपुरमा आयोजना गरेको ‘जातीय मुद्दा किन’ विषयक छलफलका सहभागीहरु ।

मानव समाजको उपल्लो उपलब्धिका लागि जाति व्यवस्थाबाट बाहिर निस्कनु आवश्यक छ । दलित आवाजलाई प्राथमिकता दिनु आवश्यक छ । हामीले आजसम्म कहिल्यै नहेरेको ऐनाबाट आफ्नो मुहार हेर्नु आवश्यक छ । अन्यथा जाति व्यवस्था रहेसम्म हामी मध्यकालीन सोचभित्रै सीमित हुनेछौँ । त्यसको अर्थ राम्राराम्रा लुगा लगाए पनि हामी आधुनिक हुन सक्ने छैनौं । हाम्रो दिमाग मध्ययुगीन नै रहनेछ ।

मध्ययुगीन समाजको एक उदाहरण छुवाछुत भयो । यस्ता धेरै उदाहरण छन् । नेपालमा कति मन्दिरमा दलित पुजारी छन् हामी हेरौँ । संसद्मा कति दलित सांसद् छन् ? नीति निर्माण तहमा कति दलित प्रशासक छन् ? कति दलित सञ्चार माध्यम छन् ? सबभन्दा महत्वपूर्ण प्रश्न : दलितलाई उनीहरूको जात बाहेक उनीहरू जे हुन् त्यही आधारमा कत्तिको मूल्यमान्यता प्रदान गरिन्छ ? प्राय सबै प्रश्नको उत्तर नकारात्मक नै आउँछ ।

हालसम्मको परिवर्तन बाहिरी मात्र हो । संरचनागत परिवर्तन भएकै छैन । मध्ययुगीन सोच नछाडी संरचनागत परिवर्तन हुँदैन । तर, हामी यसलाई बोकेरै अगाडि बढ्यौँ भने हाम्रो प्रगति रोकिनेछ । त्यसका लागि एउटा स्वायत्त दलित पहिचान आन्दोलन सुरु हुनुपर्छ, जसले अन्य जातीय समूहलाई पनि यो आन्दोलनमा सरिक हुन प्रेरित गरोस् ।

(आफ्नो पछिल्लो पुस्तक ‘कास्ट म्याटर्स’ बारे बहस गर्न हाल काठमाडौं आएका भारतीय दलित अधिकार अभियन्ता सुरज येङ्देसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको कुराकानीको सारांश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?