Comments Add Comment

साताका ४ पुस्तक- पुष्पा बस्नेतदेखि पूर्वप्रहरीको वयानसम्म

२१ असार, काठमाडौं । विगत केही समययता अनलाइनखबरले बजारमा आएका पुस्तकहरुको परिचयसहितको सूची प्रकाशन गर्दै आएको छ । बजारमा आएका पुस्तकको गुणस्तरका विषयमा विभिन्न टीकाटिप्पणी हुने गरे पनि हामी यस विषयमा प्रवेश गरेका छौं । हामीले खाली पुस्तकहरुको परिचयमात्रै दिने गरेका छौं । गुणस्तरका विषयमा पाठक आफैं विज्ञ हुन्छन् भन्ने हाम्रो ठम्याइ रहेकाले पनि यसो गरिएको हो  ।

लामो प्रक्रिया पूरा गरेर बजारसम्म आएका पुस्तकको परिचय दिनुको उद्देश्य त्यस किसिमका पुस्तक खोजिरहेका पाठकलाई सजिलो हुने र लेखकलाई पनि प्रोत्साहन हुनेछ भन्ने मात्र हाम्रो उद्देश्य हो ।

यसै सन्दर्भमा यो साता पनि बजारमा ४ पुस्तक देखा परे । तीमध्ये एउटा पुस्तक केही महिनाअघि प्रकाशन भएको हो भने बाँकी तीनवटा यसैसाता बजारमा आएका हुन् ।

परराष्ट्रका पात्र

नेपालको परराष्ट्र मामिलामा बेलाबेलामा भिन्न भिन्न कुटनीतिक प्रयास भइरहेको देखिन्छ । त्यसमध्ये पनि पञ्चशीलका आधारमा तय गरिएको कुटनीतिलाई नेपालको सर्वस्वीकृत नीति मानिएको छ । यद्यपि कहिलेकाहीँ परिस्थिति हेरेर फरक शैलीमा पनि निर्णय गर्न सक्नुपर्दछ भन्ने मान्यता पनि विकसित हुने गरेको छ । तीमध्ये एक पात्र हुन् डा. मदनकुमार भट्टराई ।

लामो समय परराष्ट्र मन्त्रालयमा काम गरेका, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग विभिन्न मुलुकको भ्रमण गरेका र पछिल्लो समय पररष्ट्र सचिवको सफल भूमिका निभाएका व्यक्ति हुन् डा. भट्टराई ।

यिनै कुटनीतिज्ञले यो साता आफूले गरेको कुटनीतिक यात्रालाई पुस्तकमा उतारेर बजारमा ल्याएका छन् । पुस्तकमा नेपालले गणतन्त्र यात्रा तय गरेयताका भारत-चीनसम्बन्धलाई पुस्तकले महत्वका साथ प्रस्तुत गरेको छ । त्यसबाहेक परराष्ट्रका पात्रहरुले निभाएको भूमिकाका विषयमा पनि पुस्तकले जानकारी दिने प्रयास गरेको छ ।

पुतलीको घर

अमेरिकी समाचार संस्थाको  सामाजिक अभियान ‘सीएनएन हिरो’ र त्यही संस्थाको ‘सुपर हिरो’ नामक पदवी एवं पुरस्कार हात पारेकी पुष्पा बस्नेतको जीवनमा आधारित पुस्तक हो- पुतलीको घर ।

पुस्तकले काठमाडौंको सम्पन्न परिवारमा जन्मिएकी एउटी टीनएजर किशोरी कसरी समाजसेवामा होमिइन् र उनको अभियानले कसरी विश्वको ध्यान तान्यो भन्ने कुरा सिलसिलेवार तरिकाले पुस्तकमा उल्लेख गरिएको छ ।

विभिन्न अपराधमा जेल परेका महिलाहरुसँगै उनीहरुका निर्दोष सन्तान पनि कसरी जेलमा बस्न बाध्य हुन्छन् र उनीहरु कसरी उज्यालो भविष्यबाट बञ्चित हुन्छन् भन्ने भिन्न पाटो पनि पुस्तकले उठाएको छ । त्यस्ता बालबालिकामध्ये कैयौं बालकहरु कसरी पुष्पा बस्नेतको पुतली घरमा पुगे भन्ने कुरा पनि पुस्तकले बताएको छ ।

प्रहरी अफिसरको वयान

पूर्वडीएसपी आनन्द पुरीको संस्मरण पुस्तक हो ९ आइजीपीसँगका अनुभूति । पुस्तकमा लेखकले आफ्ना युवाकालदेखि प्रहरी अफिसरका रुपमा रिटायर्ड हुँदासम्मका अनुभूतिलाई रोमाञ्चक शैलीमा प्रस्तुत गरेका छन् । पुस्तकले प्रहरी प्रशासनभित्रका सकारात्मक कुराको वर्णन गर्दछ ।

लामो समय ‘प्रहरी अनुरोध’ कार्यक्रमका प्रस्तोतासमेत रहेका आनन्द पुरी साहित्यकार एवं कलाकार पनि हुन् । यही परिचयलाई अघि बढाउन उनले प्रहरी संगठनमा काम गर्दा संगालेको पुस्तक लेखेको अनुभव हुन्छ ।

पुस्तकभित्रको राजनीतिक पार्टीहरुले कसरी प्रहरी संगठनलाई कठपुतली बनाउँदै लगे भन्नेबारेमा सविस्तार ब्याख्या गरिएको छ ।

मोहपथ

लेखक ललित विष्ट नेपाली साहित्यमा नयाँ अनुहार हुन् । तर, उनको कथा सङ्ग्रह ‘मोहपथ’ पढ्दा उनी लेखनमा नयाँ जस्ता लाग्दैनन् । वर्तमान नेपाली समाज र यसका विसङ्गतिलाई ‘मोहमथ’ले समेट्ने प्रयास गरेको छ ।

पुस्तकमा समेटिएका १५ वटा कथामध्ये अधिकांश कथाहरुले नेपाली समाज र यसका पात्रको मनविज्ञान उधिन्ने प्रयास गरेका छन् । पुस्तकमा राखिएका कथाहरु मध्ये ‘खुला पिँजडा’, प्रतिछाँया, नैरामे कथा राम्रा छन् । त्यसैगरी रंगहीन स्मृति, ब्याक डोर र बेखबर मृत्युले वर्तमान नेपाली समाजको परिवेशलाई समेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment