Comments Add Comment

सरकारप्रति मेटमणिको टिप्पणी : केटाकेटीले गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश !

२२ असार, काठमाडौं । सरकारले आयातित फलफूल र तरकारीमा विषादी परीक्षण स्थगित गर्ने निर्णय गरेकोप्रति नेकपाभित्रै विरोध भइरहेको छ । यसैक्रममा सांसद् मेटमणि चौधरीले सरकारको यो निर्णयलाई केटाकेटीपन भनेर टिप्पणी गरेका छन् ।

दाङ क्षेत्र नम्बर १ का सांसद चौधरीले भनेका छन्, ‘केटाकेटी आए गुलेली खेलाए, मटेङ्ग्राको सत्यानाश !’

सांसद चौधरीले नेकपा सरकार बनेपछि यातायातको सिन्डिकेट खारेज, समयमा काम गर्न नसक्ने ठेकेदारहरूलाई कारबाही, गुठी जमिन किसानलाई हस्तान्तरण र विषादी तरकारी र फलफूलमा रोक लगाउने चार महत्वपूर्ण निर्णय गरे पनि कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘केही सिन्डिकेटधारीहरूको घेरामा परेर, ठेकेदारहरूको दबाबमा, जमिन्दार शोषकहरूको धम्कीले र भारतीय सरकारको अगाडि नतमस्तक भएर जनताको पक्षमा भएको निर्णयहरू सरकारले फिर्ता लिनु निकै लज्जास्पद र दुःखद कुरा हो ।’

सरकारसँग कम्युनिष्ट पार्टी जोडिएकाले कुनै पनि निर्णय लिनुअघि धेरैपटक सोचविचार गरेर र शीर्ष तहमा छलफल गरेर मात्र लिनुपर्ने उनको धारणा छ । उनले सरकारको निर्णयलाई मजाकको विषय नबनाउन आग्रह पनि गरेका छन् ।

सांसद चौधरीले फेसबुकमा लेखेका छन्, ‘सरकारसँग कम्युनिस्ट पार्टी जोडिएको छ । यसैले कसैले पनि सरकारलाई मजाकको बिषय नबनाऔं । यदि यही शैली र यही प्रक्रिया निरन्तर अगाडि बढिरहने हो भने केटाकेटी आए गुलेली खेलाए मटेङ्ग्राको सत्यानाश भन्ने नेपाली उखानसँग कम्युनिष्ट पार्टीको सरकारलाई दाँज्न बेर लाउँदैनन् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment